arrow

इलामको नेपाल भारत सीमा क्षेत्रका दुई स्थानमा सशस्त्र प्रहरीको बीओपी 

logo
प्रेम अधिकारी,
प्रकाशित २०७७ भदौ १८ बिहिबार
bop-sakalpur-ilam.jpg

इलाम। इलामको नेपाल भारत सीमा क्षेत्रका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना गरिएको छ । जिल्लाको सूर्योदय नगरपालिका ५ समालबुङ र रोङ गाउँपालिका ६ को दुर्गम सलकपुरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको हो । नेपाल भारत सीमा क्षेत्रका बिभिन्न गतिबिधि हुने यी क्षेत्रमा सीमा सुरक्षासंगै अवैध गतिबिधि नियन्त्रण गर्ने उद्देश्यले बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बलले बताएको छ।

दुबै स्थानका बीओपीको सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहाल र इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाँईले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

बीओपी उद्घाटन गर्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालले स्थानीय समुदायको मन जित्ने गरी काम गर्न प्रहरीलाई निर्देशन दिए । उनले भने, ‘ स्थानीयस्तरमा हुने सानानतिना समस्या स्थानीय नागरिक र प्रहरीको समन्वयमा हल गर्नुपर्छ ।’ सीमा क्षेत्रमा स्थापना भएका बीओपीले नेपाल भारतको सीमा क्षेत्रमा रहेर सीमानाको रक्षा गर्नुका साथै स्थानीयलाई सुरक्षाको अनुभुती हुने गरी काम गर्न जिल्लामा कार्यरत सशस्त्र प्रहरीलाई निर्देशन समेत दिए । प्रहरी नायव महानिरीक्षक दाहालले पाँचथर, ताप्लेजुङ र झापाका सीमावर्ती क्षेत्रमा समेत चाडै बीओपी स्थापना गरिने जानकारी दिए। 

सोही अवसरमा इलामका प्रमुख जिल्ला अधिकारी सेढाँईले सीमा क्षेत्रमा हुने अवैधानीक गतिविधि रोक्न सशस्त्रका बीओपीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। प्रजिअ सेढाँईले नेपाल भारत बिच सीमा क्षेत्रमा बिगतदेखि नै सामिप्यता कायम रहे पनि अवैधानिक गतिबिधि भने पूर्णरुपमा बन्द गर्नुपर्ने बताए।

रोङ गाउँपालिकाको दुर्गम सलकपुरमा बीओपी स्थापना गर्नका लागि स्थानीय लाखमान गम्देनले निःशुल्क पाँच रोपनी जग्गा उपलब्ध गराएका छन् । इलाम जिल्ला भए पनि सलकपुर पुग्न झापा काकडभिट्टा भएर जानुपर्दछ । हिउँदका समयमा इलामको हर्कटे बजारबाट सलकपुर पुगिए पनि बर्खा याममा उक्त सडक संचालनमा आउन नसक्दा घण्टौ लगाएर झापा हुँदै सलकपुर पुग्नुपर्ने बाध्यता छ। 

भारततर्फ सीमा क्षेत्रमा प्रत्येक तीन तीन किलोमिटरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को क्याम्प स्थापना गरिएको भए पनि नेपालतर्फको सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति नहुँदा नेपाली भूमी अतिक्रमण बढनुका साथै ढुंगा, गिट्टी बालुवा जस्ता नदीजन्य बस्तुको समेत चोरी निकासी हुँदै आएको थियो । सलकपुर नजिकै रहेको मेची नदीको किनारबाट भारतीय नागरिकले अवैध रुपमा नदीजन्य बस्तुको उत्खनन र चोरी निकासी गर्दै आएकोमा उक्त क्षेत्रमा बीओपी स्थापना भए पछि ती प्रकारका गतिबिधि रोकीने अपेक्षा गरिएको रोङ गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष मनिकुमार स्याङबोले बताए।

सूर्योदय नगरपालिका ५ को समालबुङमोको बीओपी स्थापनाका लागि स्थानीय तारादेबी खत्री, मनोजकुमार खत्री, बिष्णु कुमार खत्री, टेकबहादुर खत्री, गंगा खत्री, धनकुमार खत्री र कुलबहादुर खत्रीले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । उक्त अवसरमा दुबै क्षेत्रका जग्गा दातालाई सम्मान समेत गरिएको थियो। 

दुबै स्थानका जग्गा सशस्त्र प्रहरीको नाममा गर्ने प्रक्रिया समेत अगाडी बढाईएको सशस्त्र प्रहरी बल नेपाल नंम्बर १ गण हेडक्वाटर श्रीअन्तु गुल्म इलामका सशस्त्र प्रहरी उपरीक्षक सुधीरजंग थापाले बताए । यी क्षेत्रमा तत्काल टेण्डर आव्हान गरी भवन निर्माणको प्रक्रिया थालिने जनाईएको छ । भारतसंग सीमाना जोडीएका यी क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी स्थापना भए पछि उक्त क्षेत्र भएर हुने अवैध गतिबिधि रोक्न सकिने थापाले बताए। ‘बिगतमै हुनुपर्ने काम थिए केहि ढिला भयो, हामीसीमा रक्षाका लागि आधार तयार गर्न रातदिन  खटेका छौ’ थापाले भने।

प्रहरी उपरीक्षक थापाका अनुसार आगामी असोज महिना भित्रमा नेपाल भारत सीमा क्षेत्रको छब्बीसे, जौबारी, कालपोखरी र सन्दकपुरमा थप चारवटा बीओपी स्थापना गरिसकिने छ । सन्दकपुर लगायतका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी स्थापना गर्नका लागि  ती क्षेत्रमा समेत जमिन र अस्थाई बसोबासका लागि संरचना खोजी गर्ने काम भैरहेको सशस्त्र प्रहरी बल (बीओपी) पशुपतिनगरका प्रहरी निरीक्षक नविन खतिवडाले जानकारी दिए। खतिवडाका अनुसार जौबारीमा बीओपी राख्नका लागि अस्थाई संरचना तय भैसकेको छ ।

इलाम जिल्लाको रोङ गाउँपालिकाको तिरीङदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ दशमलब ५ किलोमिटर क्षेत्रका बिभिन्न स्थानमा सीमा बिवाद रहेको छ । छब्बीसे, हिले पुलखोला, सन्दकपुर लगायतका क्षेत्रमा भारतीय पक्षले नेपाली भूमी अतिक्रमण गरेको छ। इलामको नेपाल भारत सीमा क्षेत्रको पशुपतिनगरमा रहेको बीओपीले मात्र यी सम्पूर्ण क्षेत्र हेर्दै आउँदा समस्या भएकोमा थप दुईवटा बीओपी स्थापना गरिएपछि शान्ति सुरक्षा कायम गर्न सहज भएको इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाँईले बताए। 

सशस्त्र प्रहरीको उक्त टोलीले सो अवसरमा सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई र रोङ गाउँपालिकाका अध्यक्ष शम्सेर राईसँग समेत भेटघाट गरी सीमावर्ती क्षेत्रको समस्याका बिषयमा छलफल समेत गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ