arrow

डा शेखर कोइराला भन्छन, ' स्थानीय निर्वाचनका लागि काँग्रेस तयार छ '

logo
प्रकाशित २०७३ जेठ १० सोमबार
shekhar-koirala.jpg.jpeg
काठमाडौँ। नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय निकायको निर्वाचनका लागि आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ। नेपाल प्रेस युनियन राष्ट्रिय समाचार समिति (रासस) शाखाले आयोजना गरेको ‘जिपी कोइराला क्रियाशील रासस पत्रकारिता पुरस्कार’ वितरण एवम् छलफल कार्यक्रममा नेता कोइरालाले काँग्रेस प्रजातान्त्रिक पार्टी भएकाले हरेक निर्वाचनका लागि सदैव तयार रहेको बताउनुभयो। उहाँले संविधान कार्यान्वयन मुलुकको अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गर्दै भन्नुभयो, “सीमाङ्कन, मधेसी र आदिवासी/जनजातिका समस्या सबै मिलेर समाधान गर्नुपर्छ।” 
 
‘राज्य संरक्षित कालोबजारी भएकाले’ हालसम्म पनि अत्यावश्यक वस्तुको अभाव कायमै रहेको आरोप लगाउँदै डा कोइरालाले भन्नुभयो, “सरकार हरेक क्षेत्रमा असफल भएको छ, खोक्रो राष्ट्रियतामा देश चल्दैन।”  
 
काँग्रेस नेता कोईरालाले ईतिहासकै असफल यो सरकारलाई एक सेकेण्ड पनि पदमा बस्ने अधिकार नभएको बताउनुभयो। कोईरालाले नेपाली काँग्रेसले नेकपा एमालेसँग कूनै पनि हालतमा सत्ता साझेदार बन्न नहूने बताउनुभयो। व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने पहिलो र दोस्रो ठूलो दल सँगै सरकारमा जाँदा लोकतान्त्रिक मर्म बिपरित हूँने भन्दै उहाँले काँग्रेस र एमाले मध्ये एउटा प्रतिपक्षमा बस्नुपर्ने धारणा ब्यक्त गर्नुभयो। उहाँले अहिले राज्य संरक्षित कालाबजारी र महंगी फस्टाएको भन्दै सरकारकै अकर्मन्यताका कारण सर्बसाधारणको चूलो नबल्ने अवस्था पुगेको बताउनुभयो। 
 
प्रजातान्त्रिक शासन व्यवस्थामा राससको औचित्य झन् बढ्दै गएको उल्लेख गर्र्दै उहाँले निष्पक्ष समाचारका लागि सञ्चारकर्मीले आफ्नो विचारलाई बाहिर राखेर पेसागत मर्यादामा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो। सञ्चारकर्मीलाई सरकारले दुर्घटना बिमा र गम्भीर प्रकृतिका रोगको उपचारका लागि छुट्टै कोष स्थापना गरी सहयोग गर्नुपर्ने युनियनको मागमा उहाँले ऐक्यवद्धता जनाउनुभयो।  
 
कार्यक्रममा राससका अध्यक्ष एवम् युनियनका पूर्वकेन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले विज्ञका सुझावका आधारमा राससलाई थप उचाइमा पुर्‍याउन आफू सदैव लागिरहेको विश्वास दिलाउनुभयो । नेपाल पत्रकार महासङ्घ र राससका पूर्वअध्यक्ष तारानाथ दाहालले मुलुकको सञ्चार क्षेत्रका बारेमा अध्ययन अनुसन्धान धेरै भए पनि राजनीतिक अस्पष्टता र सरकारी इच्छाशक्तिको कमीले सञ्चार क्षेत्र समस्याग्रस्त रहेको बताउनुभयो । 
 
राससका पूर्वअध्यक्ष एवम् महाप्रबन्धक पुरुषोत्तम दाहालले रासससम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सार्वजनिक संस्थाको सुधारका लागि दलीयकरणबाट मुक्त गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । राससका पूर्वप्रमुख समाचारदाता प्रा रामकृष्ण रेग्मीले कार्यपत्रमाथि टिप्पणी गर्दै सरकारले स्वायत्तता कायम राखी राससलाई पूर्ण सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । 
 
कार्यक्रममा युनियनका उपाध्यक्ष ईश्वरी ओझा, महासचिव अजयबाबु शिवाकोटी, राससका कार्यकारी सम्पादक एकराज पाठक, युनियनका केन्द्रीय सदस्यद्वय राजाराम कार्की र ठाकुर बेल्वासे, पत्रकार महासङ्घ राससका अध्यक्ष विष्णुप्रसाद नेपाल, युनियन राससका अध्यक्ष नारायण घिमिरे र सदस्य साहिँला तामाङले सञ्चार क्षेत्रका विद्यमान चुनौतीका बारेमा धारणा राख्नुभएको थियो । 
 
केन्द्रीय सदस्य कार्कीले प्रेस युनियन राससले स्थापना गरेको जिपी कोइराला क्रियाशील रासस पत्रकारिता पुरस्कारको अक्षयकोषमा जम्मा हुने गरी रु पाँच हजार रकमको चेक प्रमुख अतिथिमार्फत हस्तान्तरण गर्नुभएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ