arrow

"अख्तियार" अख्तियार नरहेपछि भ्रष्टलाई चढाउने सुली आएन !

logo
वशिष्ठ अधिकारी,
प्रकाशित २०७७ भदौ २४ बुधबार
basistha-adhikari.jpg

प्रगतिको कथा कहानी आएन ! 
अँध्यारो सधैँ बिहानी आएन !
दुई दशक भयो कुरी बसेको 
धारामा मेलम्चीको पानी आएन !

ओलीबाले भनेझैँ रेल आएन !
पाइपलाईनबाट तेल आएन !
कुर्सीका लागि कुकुर र बिरालो
नेतामा कहिल्यै मेल आएन !

देशमा पानीजहाज आएन !
पदको बोलीमा लाज आएन !
राजनीति आफैँ लाजनीति भो
राजनीतिमा कतै राज आएन !

चुल्हो चुल्होमा ग्याँस आएन !
जनताको खल्तीमा क्याँस आएन !
क्याँस र ग्याँस नभएपछि 
गरिबको मुखमा गाँस आएन !

नाना आएन छाना आएन !
उखान टुक्काले खाना आएन ! 
इदम् भ्रष्टम् उदम् भ्रष्टम् 
राम्रोको त नाम निशाना आएन !

हावाहुरीबाट बिजुली आएन !
बिकासमा नयाँ काँचुली आएन !
"अख्तियार" अख्तियार नरहेपछि
भ्रष्टलाई चढाउने सुली आएन !

न्यायाधीशको फैसलामा न्याय आएन !
श्रमिकको श्रममा आय आएन !
मानवताको बृक्ष जरैदेखि मरेछ
जताततै समस्या उपाय आएन !

जनमतको कदरको शुद्धी आएन !
नेतृत्वमा सेवाभावको बुद्धि आएन !
यस्तै यस्तै कथा व्यथाले गर्दा
देशमा शान्ति र समृद्धि आएन !


(अधिकारी गोदावरी साहित्य परिषदका अध्यक्ष हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ