arrow

लोक पर्व जितियाको व्रत शुरू

logo
प्रकाशित २०७७ भदौ २५ बिहिबार
jitiya-parba.jpg

जनकपुरधाम। मैथिल समुदायका महिलाको महान् लोक पर्व जितियाको व्रत गए रातिदेखि शुरू भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रूपमा पनि लिइन्छ । विश्वविद्यालय पञ्चाङ्ग र मिथिला कलेण्डरअनुसार गए राति अष्टमीको प्रवेशदेखि शुरू भएको यो व्रत शुक्रबार  ६ बजेपछि सम्पन्न हुनेछ ।

जितिया पर्व मैथिल संस्कृतिको पर्वमध्ये एउटा प्रमुख पर्व हो । यसलाई जिमुतवाहन व्रत पनि भनिन्छ । सन्तानको खुखशान्ति र चिरायुका लागि यो पर्व मनाउने चलन रहेको छ । जितिया पर्व यसकारणले पनि प्रसिद्ध छ कि यसको नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास रहेको छ । विशेषरूपले आइतबार र मङ्गलवार पर्ने जितियालाई अधिक महत्व दिइन्छ । यसलाई खर जितिया पनि भनिन्छ । कुनै व्यक्ति ठूलो दुर्घटनाबाट बाँच्न सफल भयो भने उसको आमाले खर जितिया गरेकी रहेछिन् भन्ने मान्यता पनि रहेको छ ।

भविष्य पुराणमा वर्णन गरेअनुसार जिमुतवाहन शालिवाहन राजाका पुत्र  थिए, उनीमाथि महादेवको असीम कृपा रहेकाले उनको नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान भगवानबाट प्राप्त गरेका थिए । आज अष्टमीका तिथिमा व्रतार्थीले पूर्णतया निराहार वसी साँझपख जिमुतवाहन , चिल र स्याल विषयक कथा स्न्ने गर्दछिन् । कथा सुन्ने बेलामा व्रतार्थीले आफ्नो पाइताला मुनि एउटा खर राख्नु पर्ने हुन्छ । कथा समाप्त भएपछि पाइताला मुनिको खरलाई ६ टुक्रा पारी तीन—तीन पटक गरी शरीरको अगाडि र पछाडि फ्याँकिने गरिन्छ ।  यो भावले पारिवारिक जीवन सुखमय होस् भन्ने कामना बोकेको पाइन्छ ।

नवमी तिथिमा स्नानादि गरी पवित्र भई जिमुतवाहन, चिल र स्याल र दिवंगता महिलालाई नैवेद्य अर्पण गरी प्रसाद ग्रहण गर्ने गरिन्छ । यसरी यो व्रतको पारण गरिन्छ । पारणका दिन अंकुरी (भिजाइएको केराउ) सहित पकाइएको साग खाने प्रचलन रहेको छ । यसप्रकार यो व्रतले करिब तीन दिनको अवधि समेटको हुन्छ ।

जितिया व्रत कुनै शास्त्रीय देवताको नभई लोकदेवता जितवाहनको आराधना गर्ने भएकाले यसलाई जीवितपुत्रिका व्रत पनि भनिन्छ । यस व्रतको पहिलो दिन सप्तमी तिथिमा नहायखाय, तेलखरि , पितराइन र  ओठङ्नको विधि गर्ने चलन रहेको छ । जितिया पर्वमा प्रयुक्त हुने तोरी वा सस्र्यूको तेल, पिना, घिरौलाको पात, नैवेद्यका वस्तुहरू स्वास्थ्य र संस्कृतिका दृष्टिले महत्वपूर्ण रहेका छन् । व्रतको एक दिन पहिले कोदोको रोटी र माछा तथा एक दिन पछि केराउ मिसाइएको साग खानुपर्ने व्यवहारले मिथिलाको खानपान र विविधताको पहिचान पनि गराउँछ । यस्तै ओठङ्नको समयमा पानी खाने बेलामा भन्ने मन्त्रले दाजुभाइ तथा दिदीबहिनी बीच आत्मीयताको बोध गराएको हुन्छ । चिल र स्याललाई नैवेद्य चढाइनुले पशुपक्षीप्रति समेत आत्मीयता र श्रद्धा प्रदर्शित भएको देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ