arrow

प्रशासनले अहिलेसम्म पत्रकार कुट्नेलाई पक्रेन, महासङ्घद्वारा अल्टिमेटम

logo
प्रकाशित २०७७ भदौ २८ आइतबार
kailali-district.png

धनगढी । कैलालीको धनगढीमा रहेको दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई २४ घण्टाभित्र पक्राउ गर्न नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले प्रशासनलाई ‘अल्टिमेटम’ दिएको छ । 

पत्रकार महासङ्घ कैलाली शाखाको अगुवाइमा शनिबार भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षणपत्र बुझाइएको पत्रकार महासङ्घ कैलाली शाखाका अध्यक्ष जगत साउदले बताए । 
 
ध्यानाकर्षणपत्र बुझ्दै प्रजिअ बोहराले दोषीलाई आइतबारसम्म पक्राउ गर्ने आश्वासन दिएका छन् । “हामीले सम्पूर्ण तरिकाले अनुसन्धान गरेका छौँ”, उनले भने “आइतबारसम्म घटनामा संलग्नलाई समात्न सक्छौँ ।”
 
जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका युवक शुक्रबार शौचालयमा मृतावस्थामा भेटिएका थिए । प्रहरीले दिएको जानकारीअनुसार थुनुवाकक्षभित्रै १९ वर्षीय युवकले आत्महत्या गरेको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको थियो । 

आत्महत्या भन्ने समाचार झुटो भएको र समाचार हटाउनुपर्ने भन्दै २०–२५ जना युवाको समूहले दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि कुटपिट गरेको थियो । 

समूहले सञ्चारगृहका सहसम्पादक जनक विष्टलगायतका पत्रकारमाथि कुटपिट गरेको थियो भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ