arrow

कोरोनाको उद्गम स्थल उहानबाट उड्न थाले विमान

logo
एपी,
प्रकाशित २०७७ भदौ २८ आइतबार
beijing1.jpg

बेइजिङ । कोरोनाभाइरस महामारीको उद्गम स्थलका रुपमा चिनिएको चीनको उहान शहरबाट पूर्ववत रुपमा आन्तरिक उडानहरु शुरु भएको छ ।  उहानमा गत वर्षको अन्त्यतिर कोरोनाभाइरस संक्रमित पहिलो व्यक्ति भेटिएका थिए । त्यसपछि उक्त शहरलाई झण्डै ७६ दिन पूर्ण लकडाउनमा राखिएको थियो । शहरमा कोरोनाभाइरसको संक्रमण तिब्र रुपमा फैलिइसकेको भन्दै सरकारले रातारात अस्पतालहरु पनि निर्माण गर्नु परेको थियो । 

गत अप्रिल महिनाको शुरुमा आंशिक खुला भएको उहानमा जनजीवन विस्तारै खुकुलो हुँदै गएको छ भने आन्तरिक उडान नियमित हुन थालेका छन् । उहान तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले शुक्रबार एकै दिन ५०० वटा आन्तरिक उडानबाट ६४ हजार ७०० यात्रुले सेवा लिएको जानकारी दिए । 

यस विमानस्थलबाट चाँडै नै सियोल, सिंगापुर, क्वालालम्पुर र जकार्ताको उडान शुरु गर्न लागिएको सिन्ह्वा समाचार समितिले विमानस्थलका एक अधिकारी झु झियानीको भनाई उद्धृत गर्दै जनाएको छ । 

अन्तर्राष्ट्रिय कार्गो सेवा भने देशका प्रमुख औद्योगिक शहर तथा आम्स्र्टडम र नयाँदिल्ली जस्ता गन्तव्यमा शुरु भइसकेका छन् । 

चीनमा झण्डै एक महिनाभित्र स्थानीय रुपमा संक्रमणका कुनै पनि बिरामी भेटिएका छैनन् । आइतबार भेटिएका १० जना संक्रमितहरु अन्यत्रबाट आएका व्यक्ति रहेको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । 

चिनियाँ अस्पतालमा हाल १५१ जनाको उपचार भइरहेको र ३५७ जनालाई आइसोलेसनमा राखिएको छ । चीनमा कोरोना संक्रमितको कूल संख्या ८५ हजार १८४ जना रहेका र त्यसमध्ये चार हजार ६३४ जनाको मृत्यु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ