arrow

कोरोना कहरकाबीच पनि नाग्म–गमगढी सडक धमाधम स्तरबृद्धी गरिदै

अब नाग्म–गमगढी सडकमा सहज यात्रा गरि रारा पुग्न सकिने

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ भदौ ३१ बुधबार
nagma-gamgadhi-road.jpg

मुगु । विश्व व्यापीरुपमा फैलिएको कोरोनाले सबै क्षेत्रमा प्रभाव पारिरहेका बेला यहाँ भने धमाधम सडक सुधारको कामले गती पाएको छ ।

कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी सडक खण्डको स्तरोन्नती गर्न सडक डिभिजन कार्यालय जुम्लाले सुरक्षा मापदण्ड अपनाउदै यो खण्डमा धमाधम काम गरिरहेको हो ।

सडक संचालनमा आएको एक दशक भन्दा बढी समय भइसक्दा पनि सडकको मापदण्ड अनुसारका संरचना नबन्दा यो सडकमा यात्री तथा सवारीसाधनहरुले सधै सास्ती भोग्दै आएका थिए ।

सडक सुधार गरि नाग्मदेखि गमगढीसम्म यातायातका साधन नियमित सुचारु गर्न आर्थिक बर्ष ०७६/०७७ बाट काम शुरु भएको हो । १५ देखि २० किमी दुरीमा काम गर्ने गरि ६ खण्डमा ठेक्का खोलेर सोहि अनुसार ठेकदारहरुले काम शुरु गरेका छन् । सडकलाई दुईलेन बनाउने, साईडवाल लगाउने, ग्राभेल गर्ने, नाला बनाउने जस्ता काम अहिले भइरहेको छ ।

गत आर्थिक बर्षमा नाग्म गमगढी सडकको ग्रावेल, स्तरबृद्धीका लागी १४ करोड विनियोजन भएकोमा ९ करोड ४८ लाख खर्च भएको थियो । 

विगतमा ९३ किमीको यो सडक स्तरोन्नती नहुँदा बर्षामा पानी, हिउदमा हिउँ र घाम लागे धुलाम्य भएर सडक अवरुद्ध भैरहन्थ्यो । सडक अवरुद्ध हुदा बर्षभरीमा ४ महिना मात्र सडक संचालनमा आउने गरेको थियो ।

सधै सडक अवरुद्ध हुदा जिल्लामा दैनिक उपभोग्य तथा निमार्ण सामानहरुको अभाव भैरहने अवस्था रहदै आएको छ । जिल्लामा समयमै निमार्ण सामग्रीहरु उपलब्ध नहुँदा विभिन्न निकायबाट सम्पन्न गर्नुपर्ने विकास निमार्णका कामहरु प्रभावित भै लक्ष्य प्राप्त हुन सकेको थिएन ।

ठेकेदारहरुले आफनो जिम्मामा पाएका कामहरु गर्न सुरक्षा विधि अपनाएर समयावधिमा नै सम्पन्न गर्न कार्यालयले दवाव दिईरहेको र सोहि अनुसार यो खण्डमा धामाधम काम भैरहेको सडक डिभिजन कार्यालय जुम्लामा प्रमुख लिला बहादुर भण्डारीले बताए । चालु आर्थिक बर्ष भित्रमा नाग्मदेखि रारासम्म सवारी साधन सहज संचालन गर्ने र कम्तिमा बर्षभरी सडक संचालनमा ल्याउने उद्धेश्य अनुसार काम भैरहेको भण्डारीले बताए।

बर्षेनी हजारौंको संख्यामा नेपालकै ठुलो ताल रारा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरु स्थलमार्ग भएर रारा आउँदा कर्णाली राजमार्गमा भोग्नु पर्ने कठिनाईले गर्दा फर्केर घर पुगेपछि मुत्युलाई जितेर आएको जस्तो महशुस भएको बताउने गरेका थिए ।

भारत र चीन समेत जोडेन त्रिदेशिय सडक मार्ग जमुनाह–सुर्खेत–गमगढी–नाग्चेलाग्ना सडक पनि यहि राजमार्ग भएर जाने भएकाले सडक स्तरउन्नती भई यात्रा गर्न नियमित र सहज भएमा कर्णाली प्रदेशको आर्थिक आम्दानीको प्रमुख स्रोत नै यो राजमार्ग हुने देखिन्छ । 

सडक स्तरोन्नतीको काम धमाधम भएपछि लकडाउनले बेरोजगार भएका स्थानिय युवा तथा अन्यको आम्दानीको स्रोत बनेको छ सडक । सडकमा काम गर्न मुगु, जुम्ला, कालिकोट, अछाम, दैलेख, सुर्खेतसम्मबाट कामदारहरु आएका छन् । उनीहरुलाई कोहि कसैबाट कुनै रोगको संक्रमण नहोस भनेर एक समुहबाट अर्को समुहसँग सम्पर्क हुन दिइएको छैन ।

सडकको ठाँउ ठाँउमा ग्रावेलका लागी गिटटी माटो थुपाईएको छ, सडकको चौडाई बढेपछि रोलर लगाएर एकैचोटी ग्रावेल सक्ने गरि काम शुरु गरिनेछ । अहिले सडक चौडा गर्न नमिल्ने भिर र चट्टानमा डिलपटटी पर्खाल लगाएर सडक चौडा बनाउने,गमगढी जिरो पोईन्टसम्म सडक कम्तिमा १० मिटरको  चौडा बनाउने, बर्षाको पानीले विगारेको बाटो बनाउने, पहिरो पन्छाउने र नाला बनाउने जस्ता कार्य भइरहेको छ। 

हालसम्म ९३ किमी मध्ये ६० किमी सडक दुईलेन बनाउने र १५ किमी ग्रावेल बनाउने कार्य सम्पन्न भएको पनि सडक डिभिजन कार्यालयले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ