arrow

प्याजको कालोबजारी गर्ने ४ जना पक्राउ, ४८ रुपैयाँमा किनेर १३० रुपैयाँमा बिक्री

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ३१ बुधबार
onion.jpg

काठमाडौं । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको कालोबजारी सुरु भएको छ ।

नेपालमा खपत हुने अधिकांश प्याजको हिस्सा भारतबाटै आउने भएकाले भारतले निर्यात रोकेपनि नेपालमा प्याजको कालो बजारी हुने गरेको हो ।

बुधबार काठमाडौं महानगरपालिकाको कृषि विभागको अनुगमन समितिले अनुगमन गर्दा कालोबजारी गर्ने २ जनालाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको हो ।

बल्खु तरकारी बजारमा कारोबार गर्दै आएका चुली सगरमथा इन्टरप्राइजेज र एसके सप्लायर्सले प्याज लुकाएको र अत्यधिक महंगोमा विक्री गरेको पाएपछि समितिले दुवैका सञ्चालकलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको हो ।

उनीहरुले कालीमाटीबाट प्याज प्रतिकिलो ४८ रुपैयाँका दरले खरिद गरे १ सय ३० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्ने गरेको पनि भेटिएको अनुगमनमा सहभागी उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए । ‘२ सय २० बोरा प्याज लुकाएको अवस्थामा भेटियो’ तिमिल्सिनाले भने, ‘४८ रुपैयाँमा किनर १ सय ३० रुपैयाँमा समेत विक्री गरेको भेटिएपछि समितिले उनीहरुलाई पक्राउ गरेर कालीमाटी प्रहरीको जिम्मा लगाएको छ ।’

लुकाएर राखेको २ सय २० बोरा प्याज विक्रीमा समेत प्रतिबन्ध लगाउँदै सिल गरिएको तिमिल्सिनाले बताए ।

त्यस्तै कालीमाटी फलफुल तथा तरकारी बजार व्यवस्थापन समितिले समेत कालो बजारी गर्ने २ जनालाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको छ ।

कालीमाटीमा तरकारी व्यवसाय गर्दै आएका दुई जना कालोबजारीमा संलग्न रहेको भेटिएपछि पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको हो ।

यता बजार अनुगमनको मूख्य जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि प्याजमा कालोबजारी भएको गुनासाहरु आइरहेकाले बजार अनुगमन कडाईका साथ गरिने बताएको छ ।


गत सोमबारबाट भारत सरकारले आन्तरिक रुपमा आपूर्ति व्यवस्था सहज पार्न निर्यात रोकेपछि नेपाली व्यवसायीले प्याजमा कालोबजारी सुरु गरेका छन् ।

खुद्रा व्यापारीले १ सय ३० रुपैयाँ प्रतिकिलोका दरले विक्री गर्न थालेका छन् । सोमबार मात्रै प्याजको खुद्रा मूल्य औषतमा ८० रुपैयाँ प्रतिकिलोका दरले रहेको प्याजको मूल्य मंगलबार ९० देखि १ सय २० रुपैयाँसम्म विक्री गरिरहेका थिए ।

बुधबार बिहान १ सय ३० रुपैयाँ प्रतिकिलोसम्म प्याजको विक्री गरिरहेका छन् ।

गत वर्ष समेत भारतले प्याज निर्यातमा प्रतिबन्ध गरेपछि नेपालमा प्याजको मूल्य २ सय ५० रुपैयाँ प्रतिकिलोसम्म पुगेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ