arrow

पेट्रोलमा मिसावट देखिएपछि अमलेखगन्ज डिपोको उजुरीमा प्रहरीले कारवाही बढायो

logo
प्रकाशित २०७७ भदौ ३१ बुधबार
nepal-oil-corp.jpeg

काठमाडौं। भारतको बरौनीबाट नेपालका लागि आएका ३ वटा ट्याङ्करमा रहेको २८ हजार लिटर पेट्रोलमा मिसावट (गुणस्तरहीन) रहेको पाइएको छ। नेपाल आयल निगमको अमलेखगन्ज डिपोले गरेको गुणस्तर परिक्षणको क्रममा ३ वटा ट्याङ्करमा आएको २८ हजार लिटर पेट्रोल गुणस्तरहीन रहेको पाइएको हो।

शुक्रबार अमलेखगञ्ज डिपोमा पुगेको ना ७ ख ४०९३ नम्बरको ट्याङ्करमा ४ हजार लिटर, आइतबार आएको ना ७ ख २९२३ नम्बरको ट्याङ्करमा १२ हजार लिटर पेट्रोल र मंगलबार आएको ना ७ ख १७५७ नम्बरको ट्याङ्करमा १२ हजार लिटर पेट्रोल गुणस्तरहीन रहेको निगमको अमलेखगन्ज डिपो प्रमुख भरत रेग्मीले जानकारी दिए।

नेपाल आयल निगमका अनुसार एउटा ट्याङ्कर २० हजार लिटर पेट्रोल ढुवानी क्षमताको हुन्छ । ५ वटा च्याम्बरमा ४ हजार लिटरका दरले पेट्रोल अटाउँछ । शुक्रबार आएको ट्याङकरको एउटा च्याम्बरमा रहेको पुरै ४ हजार लिटरमा मिसावट रहेको पाइएको हो । स्रोतले बताए अनुसार पेट्रोल भरेर लगाएको लकलाई नचलाइकन मिसावट गरिएको पाइएको छ ।  यसरी मिसावट गरिएको भारतबाट ढुवानी भएर आएका ट्याङ्कर खाली गर्दा निगमले तताउने गरेको छ । तताउँदा पेट्रोलको अन्तिम बोइलिङ पोइन्ट २ सय डिग्री सेल्सियस तापक्रम हुनुपर्ने निगमको गुणस्तर मापदण्ड अनुसार नरहेको छ । तर, शुक्रबार आएको ट्याङ्करमा २ सय ३० डिग्री सेल्सियस तापक्रम अन्तिम बोइलिङ पोइन्ट पाइएको डिपो प्रमुख रेग्मीले बताए ।

त्यस्तै आइतबार आएको ट्याङ्करमा ५ वटा च्याम्बरमध्ये ३ वटा च्याम्बरमा रहेको १२ हजार लिटर पेट्रोलमा मिसावट रहेको पाइएको हो । उक्त ट्याङ्करमा तापक्रम मापदण्ड अनुसार नै पाइए पनि घनत्वमा फरक पाइएको डिपो प्रमुख रेग्मीले बताए । मापदण्ड अनुसार सिल गरिएको ट्याङ्कर खाली गर्दा अधिकतम घनत्व ७ सय ५२ केभी परमिटर क्युव हुनुपर्छ । तर, आइतबार आएको ट्याङ्करमा ८ सय ३३ केभी परमिटर क्यूव पाइएको थियो ।

त्यस्तै मंगलबार आएको ट्याङ्करमा पनि घनत्वमा फरक पाइएको थियो । ३ वटा च्याम्बरमा रहेको १२  हजार लिटर पेट्रोलको घनत्व ७ सय ६२ केभी परमिटर क्यूव रहेको पाइएको हो । मापदण्ड अनुसार अधिकतम घनत्व ७ सय ५२ केभी परमिटर क्यूव हुनपर्छ । ‘घनत्व बढी हुनुको अर्थ पेट्रोल धेरै बाक्लो हुनु हो’ डिपो प्रमुख रेग्मीले भने ।

इन्जिन बिग्रिने सम्भावना
निगमले बाक्लो तेल र बोइलिङ पोइन्ट बढी पाइएको तेल बजारमा पठाउने गरेको छैन । यस किसिमको तेलले गाडीको इन्जिन बिग्रिने सम्भावना भएका कारण बजारमा पठाउने नगरेको रेग्मीले बताए । ‘गाडीको इन्जिन बिगार्छ’ उनले भने ।

डिपोको एक्सनपछि चालक थुनामा
यसरी सिल गरिएको तेलमा मिसावट पाइएपछि निगमको अमलेगञ्ज डिपोले एक्सन लिएको छ । एक्सन स्वरुप आवश्यक कारवाहीका लागि प्रहरीलाई पत्र पठाएपछि प्रहरीले चालकलाई पक्राउ गरिरहेको छ । बरौनीबाट तेल आयात गर्ने ट्याङ्करका २ जना चालकलाई बारा प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ । मिसावटको जालो खोतल्ने प्रयासमा प्रहरी लागेको बताइएको छ । १ जना चालक फरार रहेकाले उनको खोजी कार्य जारी रहेको बारा प्रहरीले जानकारी दिएको छ । निगमले ढुवानी गर्ने सम्झौता चालकसँग नगर्ने भएकाले निगमको नियमावली अनुसार चालकलाई कारवाही गर्न नमिल्ने भएकोले प्रसाशनमा उजुरी दिइको हो । निगमले कारवाही गर्न नपाइने भएपछि बारा प्रहरीलाई कारवाहीका लागि पत्र पठाएको थियो । सोही अनुसार प्रहरीले २ जनालाई पक्राउ गरेर आवश्यक कारवाही प्रक्रिया अघि बढाएको जनाइएको छ ।

निगमबाट हुने तेल चोरीलाई निरुत्साहित गर्न प्रबिधिको प्रयोग बढाउन सुरु गरेको छ । निकट भबिश्यमा अटोमेशनमा जाने तयारी गरेको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ