arrow

भारतीय प्रधानमन्त्री मोदी ७० वर्षमा, प्रधानमन्त्री ओलीले दिए शुभकामना

logo
प्रकाशित २०७७ असोज १ बिहिबार
oli-modi1.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ७० वर्षमा लागेका छन् । सेप्टेम्बर १७ तारिख सन् १९५० मा जन्मिएका मोदीको ७० औं जन्मोत्सवका अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन् । 

सामाजिक संजाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले मोदीलाई शुभकामना दिएका हुन् । उनले शुभकामना सन्देशमा स्वास्थ्य र खुशीको कामनासमेत गरेका छन् । 

त्यसैगरी ओलीले दुई देशबीचको सम्बन्ध थप मजबुद बनाउन सँगसँगै अगाडि बढ्ने कदमलाई निरन्तरता दिने पनि बताएका छन् । 

यसअघि प्रधानमन्त्री ओलीले गत अगष्ट १५ तारिखमा भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री मोदीलाई टेलिफोन सम्पर्क गरी बधाई तथा शुभकामना दिएका थिए । 

पछिल्लो समय नेपालको नयाँ नक्सा सार्वजनिक गरी भारतसँग कुटनीतिक पहल गर्न भने असफल देखिएका ओलीको भारतसँगको सम्बन्ध भने प्रगाढ बन्न सकेको छैन।यद्यपी भारतीय स्वतन्त्रता दिवसमा दुई प्रमबीच संवाद भएपछि कुटनीतिक च्यानल केहि सक्रिय देखा परेको छ।

नक्सा जारी गर्ने समयताका मोदीसँगको सम्बन्ध केही चिसिएपछि ओलीले आफूलाई हटाउन भारत र आफ्नै पार्टीका शीर्ष नेताहरु लागेको आरोपसमेत लगाएका थिए ।

मोदीको राजनीतिक छलाङ्ग
एक गरिब गुजराती परिवारमा जन्मिएका उनी सन् १९७१ मा आरएसएसमा जोडिएका थिए भने सन् १९८५ मा भारतीय जनता पार्टीमा जोडिएर त्यसको १६ वर्षपछि गुजरातको मुख्यमन्त्री बनेका थिए । 

‘चायवाला’ का नामबाट परिचित विलक्षण प्रतिभाका धनी नरेन्द्र दामोदरदास मोदी सन् २००१ मा पहिलो पटक गुजरातको मुख्यमन्त्री बनेका थिए । उनी तीन पटक मुख्यमन्त्री बने । 

उनी सन् २०१४ मा पहिलो पटक भारतीय प्रधानमन्त्री भएका थिए । गत वर्षदेखि उनले दोस्रो कार्यकाल सम्हालिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ