arrow

कुटाइ खाने सईसहितका प्रहरी, कुरा मिलाउने सिडिओ र एसपी  

सिडिओ रामकुमार महतो र एसपी गोबिन्द मरासिनी प्रहरी कुट्ने मेयरका छोराहरुसँग नतमस्तक

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २ शुक्रबार
police-logo.gif.gif

काठमाडौं। कञ्चनपुरको पुनर्वास नगरपालिकामा ड्युटीमा खटिएका प्रहरी कुटिएका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती नजिकै गत शनिबार जुवाडे छुटाउन गएका प्रहरी कुटिएका हुन् ।

पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाका छोरा, भतिजा मिलेर ड्युटीमा खटिएका प्रहरी नायव निरीक्षक गोपाल बोहरा, महिला प्रहरी सीमा श्रेष्ठ लगायतका प्रहरीमाथि कुटपिट गरेका थिए।

शनिबार पुनर्वास ५ स्थित चौतारोमा तास खेल्दै गरेका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालयमा राखेपछि मेयरका स्वकीय सचिव समेत रहेका मेयरकै भतिजा टेक बहादुर थापा, छोरा देबेन्द्र थापा, भतिजा हिमेश थापा र जितु थापाको नेतृत्वको जत्थाले प्रहरी कार्यलयमै पुगेर प्रहरी नायव निरीक्षक (सई) बोहरा, महिला प्रहरी श्रेष्ठ लगायतका प्रहरीमाथी कुटपिट गरेका थिए ।

प्रहरीमाथि कुटपीट गर्नेहरुलाई कारवाही गर्न मुद्दा चलाउनु पर्ने भएपनि मेयर थापाको प्रभावमा परेर मुद्दा नचलाई सिडियो र एसपीले आपसमै मिलाएका छन्।

कार्यालयमै पुगेर ड्युटीमा खटिएका प्रहरीलाई कुटेपनी मुद्दा नचलाई सिडियो र एसपीले आपसमा मिलाएर प्रहरीको मनोबल गिराउने काम गरेको भन्दै अन्य प्रहरी रुष्ट भएका छन् ।

सई बोहोरा र डयुटीमा रहेकी महिला प्रहरी माथि हातपात गर्दै कुटपिट र प्रहरी कार्यालयमा तोडफोड गरेपछि थापा नेतृत्वको जत्थालाई नियन्त्रणमा लिइएको थियो । तर, मेयरको प्रभावमा परेर सोही दिन राती साढे १० बजे घटनास्थल पुगेका डिएसपी अमर थापाले छाडेका थिए । 

प्रहरी कार्यालयमै छिरेर सत्ता र शक्तिको ध्वाँस देखाउदै प्रहरीलाई कुटपिट गर्नेहरुलाई कञ्चनपुरका सिडिओ रामकुमार महतो र एसपी गोबिन्द मरासिनीले कानुनी कारवाही नगरी गुपचुपमै मिलाएका हुन् । 

मंगलबार ईलाका प्रहरी कार्यालय पुनर्वास पुगेका सिडियो महतो र एसपी मरासिनीले मेयर जीवनराज थापा , सुदुरपश्चिम प्रदेश सभा सदस्य तारालामा तामाङ लगायतका नेकपा नेता कार्यकर्ताहरुसंग गोप्य छलफल गरि सो कुटपिटको केशलाई सामसुम पारेका थिए ।

प्रहरीको मनोबल गिराउने गरि घटना ढाकछोप गरिएपछि अन्य प्रहरी रुष्ट देखिएका छन् । कन्चनपुरका सिडिओ रामकुमार महतोले घटनाको विषयमा थाहा पाउने वित्तिकै पुनर्वास पुगेको र त्यस विषयमा बुझ्दा खासै ठूलो घटना नभएको प्रतिक्रिया दिए । ‘म गएको थिए । अनुगमन गर्ने मेरो काम पनि हो । खासै क्षति भएको देखिएन’ उनले भने, ‘त्यतिबेला सबै सामान्य देखेको थिए । अन्यायमा परेकाहरुले, पीडीत पक्षले उजुरी दियो भने कारवाही हुन्छ ।’

त्यस्तै एसपी मुकुन्द मरासिनीले प्रहरीलाई ढुङ्गामुढा गरिएको र प्रहरीले पनि लाठि चार्ज गरेको बताए । खासै कानुनी कारवाहीमा जान मिल्ने किसिमको घटना नदेखिएकाले नियन्त्रणमा लिइएकाहरुलाई छाडिएको एसपी मरासिनीले बताए । ‘ढुङ्गामुढा भएपछि प्रहरीले लाठी चार्ज गरेको देखियो’ उनले भने, ‘नियन्त्रणमा लिइएकालाई छाडेको सत्य हो । थप अनुसन्धान गर्ने गरी तारेखमा छोड्या छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ