arrow

समर्थकविरुद्ध सरकारी दमन हुन थालेपछि निकाले कुलमानले यस्तो विज्ञप्ति

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ३ शनिबार
kulman_office.jpg

काठमाडौं। आफ्नो समर्थनमा आएका समर्थकहरुलाई सरकारले ताकी ताकी टाउको फोड्ने र अत्यधिक बल प्रयोग गर्न थालेपछि नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशकले विज्ञप्ती निकाली आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। 

कुलमानले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९का महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई अनुरोध समेत गरेका छन्। सरकारले समय छँदै कुलमानलाई पुन नियुक्ती नगरि आम नागरिकको भावना बिरुद्ध गएपछि यतिखेर आम नागरिक सडकमा उत्रिएका छन्। राजनीतिक दल र नागरिक समाजले पनि सरकारको निर्देशनमा भएको प्रहरी दमनको निन्दा गरेका छन् । शुक्रवारको प्रदर्शनमा सरकारले व्यापक बल प्रयोग गरि कैयौं प्रदर्शनकारीहरुलाई घाइते बनाएको थियो। 

कुलमानले जारी गरेको विज्ञप्ती जस्ताको तस्तैः

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु । प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९का कारण नेपाल पनि आक्रान्त भएको वेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।

कुलमान घिसिङ

निवर्तमान कार्यकारी निर्देशक

नेपाल विद्युत प्राधिकरण

२०७७/०६/०३ शनिबार

काठमाडौं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ