arrow

एकैपटक पाँच सयबढी कैदीमा संक्रमण, अन्यमा पनि सर्ने त्रास

logo
प्रकाशित २०७७ असोज ७ बुधबार
prison-jail.jpg

लहान । एकैपटक ५०७ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । ४१औँ  सामाजिक सेवा दिवसको अवसरमा मुक्ति नेपाल संस्थाले कारागारका संक्रमित कैदीबन्दीका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो ।

मुक्ति नेपालका अध्यक्ष श्याम साहले कैदीबन्दीका लागि एक हजार थान मास्क, एक लिटर स्यानिटाइजर र महिला कैदीबन्दीका लागि २० थान झुल कारागार प्रमुख बबिता महतोलाई हस्तान्तण गरे । 

एकैपटक अधिकांश कैदीबन्दीमा कोरोना संक्रमण देखिएपछि केही सहयोग होस् भन्ने उद्देश्यका साथ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको अध्यक्ष साहले जानकारी दिए ।

कूल १२५ कैदीबन्दीको क्षमता रहेको सो कारागारमा हाल ५९९ कैदीबन्दी छन् । कारागारमा रहेका ५९९ कैदीबन्दीमध्ये हालसम्म ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको कारागार प्रशासनले जनाएको छ । 

एकैपटक ५०० भन्दा बढी कैदीबन्दीमा कोरोना संक्रमण भएपछि व्यवस्थापनमा कठिनाइ भइरहेको कारागार प्रमुख महतोको भनाइ छ । संक्रमित सबैलाई कारागारभित्रै राख्नुपर्ने बाध्यताका कारण जोखिम बढेको छ ।

“कारागारमा रहेका बाँकी ९२ कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छैन”, कारागार प्रमुख महतोले भने, “संक्रमित कैदीबन्दीलाई कारागारमै राखिएका कारण बाँकी कैदीबन्दीमा पनि संक्रमित हुने जोखिम बढेको छ ।” संक्रमित कैदीबन्दीलाई सुरक्षित आइसोलेसनमा राख्नुपर्नेमा सरकारबाट निर्देशन नआउँदा कारागारभित्रै राख्नुपर्ने बाध्यता रहेको उनको कथन छ ।

 एकैपटक ठूलो सङ्ख्यामा कैदीबन्दी संक्रमण देखिएपछि संक्रमितलाई दिनुपर्ने रोग प्रतिरोधात्मक तथा पोषणयुक्त खानाको व्यवस्था मिलाउन समस्या भइरहेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ