arrow

रामलखनको मृत्यु बारे बोल्यो कारागार र वीर अस्पताल

‘कैदीबन्दीको मृत्यु शङ्कास्पद भएको भन्नेमा कुनै सत्यता छैन’

logo
प्रकाशित २०७७ असोज ७ बुधबार
prisoner-jail.jpg

काठमाडौँ । केन्द्रीय कारागार कार्यालय र वीर अस्पतालले कैदीबन्दी रामलखन जैसवालको मृत्यु शङ्कास्पद भएको भन्नेमा कुनै सत्यता नभएको जनाएका छन् । कारागार र अस्पतालले संयुक्त रुपमा बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यही असोज ३ गते राति  उपचारका क्रममा ६३ वर्षीय जैसवालको मृत्यु सामान्य ढङ्गबाट भएको जिकिर गरेका छन् ।

 पार्किन्सन र उच्चरक्तचापका बिरामी जैसवालको श्वासप्रश्वासमा समस्या आएपछि असोज ३ गते राति ९ बजेर ४५ मिनेटमा बन्दीगृहबाट केन्द्रीय कारागार अस्पताल पठाइएको कारागार कार्यालय सुन्धाराका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले त्यही राति  थप उपचारका लागि वीर अस्पताल पठाइएको बताए । 

राति वीर अस्पताल ल्याइए पनि जैसवाल जीवितै रहेको कुनै सङ्केत नदेखिएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको वीर अस्पतालका निर्देशक डा केदारप्रसाद सेञ्चुरीले बताए । जैसवालको असोज ५ गते पिसिआर परीक्षण गरिएको थियो । उनका अनुसार उनको रिपोर्ट पोजेटिभ आएको थियो । 

तीन दिनदेखि  शव शवगृहमा रहेका कारण सड्ने प्रक्रिया शुरु भएकाले फोका देखिनु, सुन्निनु, मुख र नाकबाट तरल पदार्थ निस्कनु सामान्य प्रक्रिया भएको निर्देशक  सेञ्चुरीले बताए । रेफ्रिजेरेटरमा नराख्दा शवमा त्यसखालका सङ्केत देखिनु सामान्य प्रक्रिया भएको उनको भनाइ थियो । वीर अस्पतालमा रेफ्रिजेरेटरसहितको शवगृह नभएको सेञ्चुरीले स्पष्ट पारे । 

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएका सूचनामा कुनै सत्यता नभएको जेलर बाँस्कोटाले बताए । कारागारभित्रको सिसिटिभी फुटेजले पनि उक्त कुरा निराधार भएको सावित गरेको उनको भनाइ थियो । शव परीक्षणपछि घटनाबारे बाँकी कुरा प्रष्ट हुने कारागार र वीर अस्पतालले जनाएका छन् । जैसवालको शरीरमा चोटपटक देखिएको तथा उनको शरीरको अङ्ग निकालिएको जनाउँदै उनका परिवारजनले केही दिनदेखि वीर अस्पतालमा प्रदर्शन गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ