arrow

तमादी पहिरोको पिडा, दागबत्ती दिन नपाएका भोजराजले विद्यालयमा बसे किरिया

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ असोज १४ बुधबार
vojraj-nepali-kiriya.jpg

स्याङ्जा । गत असोज ८ गते पहिरोले परिवारका नौ सदस्यसहित घरबास उठेपछि भोजराज नेपालीले आफन्तको काजकिरिया विद्यालयमा बसेर गरेका छन् । स्याङ्जाको वालिङ १४ तमादीमा माया नेपालीको घरमाथिबाट आएको पहिरोमा पुरिँदा नौ जनाको ज्यान जानुकासाथै घरबासै उठको थियो । पहिरोले परिवारका नौ सदस्यसहित बासै उठाएपछि विचल्लीमा परेको उक्त परिवारका बाँचेका बाँकी सदस्यले अहिले नजिकैको विद्यालयमा बसेर काजकिरिया गरिरहेका छन् ।

पहिरोमा परी ज्यान गुमाएकी माया नेपालीका माईला छोरा भोजराज नेपाली रोजगारीको सिलसिलामा भारतमा रहेको र घरमा घटना भएपछि आएर नजिकैको फूलबारी आधारभूत विद्यालय जिमिरेमा बसेर काजक्रिया गरिरहेका स्थानीय राजु कुँवरले जानकारी दिए । उनका अनुसार माईला छोरा भोजराज पूरै किरियामा सहभागी छन् भने जेठी छोरी शोभा नेपाली र कान्छी छोरी मनिषा नेपाली ठाडो किरियामा बस्दै आएका छन् ।

'पहिरोले हामी बस्दै आएको बास त उठायो सँगै परिवारका अन्य सदस्यहरुलाई पनि लग्यो,' मनिषाले भनिन्, “दिदीको बिहे भएकाले आफ्नो घरमा हुनुहुन्थ्यो, दाई विदेशमा हुनुहुन्थ्यो, घरमै बसेकामध्ये म मात्रै बाँचेकी हुँ” । बस्दै आएको घरको नाम निशान केही नभएकाले तत्कालका लागि नजिकैको विद्यालयमा आश्रय लिएर बसेको र त्यहीँ नै काजक्रिया गरिएको छोरी मनिषाले भनिन् । 

घरमाथिपट्टिको डाँडो चर्किएकोले जतिबेला पनि खस्न सक्ने भएकाले हामी पानी परेका रातको समयमा छिमेकीको घरमा बस्न जाने गरेको भन्दै मनिषाले भनिन् त्यो राति पनि मैंले छिमेकीको जान अनुरोध गरेँ तर दाजुहरुले मान्नुभएन बिहान पख सबैलाई पुर्‍यो, म उठेर बाहिर निस्कन लाग्दा मलाई नि ढोकैमा शरीरको केही भागसम्म पुर्‍यो । पछि गुहार मागेपछि छिमेकीहरुले उद्धार गरे मनिषाले त्यो दिनको घट्ना सम्झदै भन्छिन् । 

घटना हुँदाका बेला उक्त घरमा दश जना थिए । स्थानीय टिकाराम लुईटेलले भने, “पहिरोमा पुरिएर नौ जनाको घटनास्थलमै ज्यान गयो, मनिषालाई भने हामीले जीवितै उद्धार गर्न सक्यौं” । 

घाईते अवस्थामा उद्दार गरिएकी मनिषाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारपश्चात घर फर्किएर ठाडो क्रियामा बसेकी छन् । मनिषाको सम्पूर्ण खर्चको ब्यवस्था वालिङ नगरपालिकाले गर्ने बैठकले निर्णय गरेको नगर प्रमुख दिलिपप्रताप खाँणले बताए ।

नगरपालिकाले विपदको घटनामा परी कुनै ब्यक्तिको मृत्यु भएमा प्रति मृतक रु १० हजार परिवारलाई उपलब्ध गराउने, घर पूर्णरुपमा क्षति भएमा रु १० हजार, खाद्यान्न बाली जग्गा जमिन नष्ट भएमा रु ५ हजार, घर आंशिकरुपमा क्षति भएमा रु ७ हजार, गोठ नष्ट भएमा रु ५ हजार, घटनामा परी घाईते हुनेहरुलाई उपचारका लागि अस्पताल जान आउन यातायात खर्चवापत रु. ३ हजार र विपदका कारण दुहुनो गाईभैंसी मरेमा प्रति पशु रु ८ हजार र दुध दिन योग्य गाई भैंसी भएमा रु ५ हजार, खसी बोका र माउ बाख्रा भएमा रु ३ हजार राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ