arrow

ललितपुर महानगरमा हालसम्म उन्नाइस सयबढी संक्रमित

logo
रासस,
प्रकाशित २०७७ असोज २० मंगलबार
lalitpur_mahanagarpalika_hamrakura11.jpg

ललितपुर । ललितपुर महानगरपालिकामा कोरोना संक्रमितको सङ्ख्या एक हजार ९८८ पुगेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ८८, सक्रिय संक्रमित ८७९ र मृतक २१ रहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । उनले भने, “सक्रिय संक्रमितमध्ये ८१२ होम आइसोलेसनमा र ६७ जना अस्पताल रहेका छन् ।”

 साथै ललितपुरमा कोरोना संक्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमितको सङ्ख्या तीन हजार २६२ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ८०३ रहेको छ । 

यसैगरी जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या एक हजार ४३० र मृतकको सङ्ख्या २९ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए । उनले भने, “स्वास्थ्य मन्त्रालय र जिल्लाको तथ्याङ्कमा केही फरक देखिएको छ । ललितपुरको ठेगाना राखेर अन्य जिल्लामा बसोबास गर्ने मानिसको तथ्याङ्क पाइएको हुँदा कूल संक्रमितको सङ्ख्यामा केही फरक देखिएको हो ।” त्यसलाई खोजेर मिलाउने काम गरिने गेलालले जानकारी दिए । 

गोदावरी नगरपालिकामा संक्रमित सङ्ख्या २०३ रहेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या १३२, होम आइसोलेसनमा ५७, बडिखेल आइसोलेसनमा छ र मृतकको सङ्ख्या तीन रहेको नगरपालिकाले जनाएको छ । 

महालक्ष्मी नगरपालिकामा संक्रमित सङ्ख्या ४०८ पुगेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या २३५ र मृतक दुई रहेका सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताए । उनले भने, “सक्रिय संक्रमित १७१ मध्ये २२ अस्पताल र १४९ होम आइसोलेसनमा रहेका छन् ।” त्यस्तै महाङ्काल गाउँपालिकामा संक्रमित सङ्ख्या १२ रहेको छ । तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या सात रहेका छन् भने एक जना अस्पताल र चार जना होम आइसोलेसनमा रहेको स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताए । 

कोञ्ज्योसोम गाउँपालिकामा पनि कूल संक्रमित सङ्ख्या १२ पुगेको छ । तीमध्ये चार सक्रिय र बाँकी आठ जना कोरोना निको भई डिस्चार्ज भइसकेको संयोजक नवलकिशोर महतोले बताए । वाग्मती गाउँपालिकामा कूल १२ संक्रमितमध्ये होम क्वारेन्टिनमा पाँच र कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या सात रहेको संयोजक नवराज तिमिल्सिनाले बताए । 

ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्टार, प्रयोगशाला, बीएण्डबी र आनन्द वन अस्पतालले कोरोना परीक्षण गर्ने गरेका छन् । ललितपुरमा २२१ आइसोलेसन र ४०८ क्वारेन्टिन तयार भएको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रयोगशाला प्राविधिक उपेन्द्र लामिछानेले जानकारी गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ