arrow

अपराधमा संलग्नलाई धमाधम पक्राउ गर्दै बाँके प्रहरी

logo
प्रकाशित २०७७ असोज २१ बुधबार
banke.PNG

नेपालगञ्ज । बाँके प्रहरीले जंगली जनावर मार्ने, हातहतियार ओसारपसार गर्ने तथा शरीर बन्धक बनाउने कार्यमा संलग्न रहेका व्यक्तिहरुलाई पक्राउ गरेर बुधबार सार्वजनिक गरेको छ ।

प्रहरीले मारेको चित्तलसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का २३ वर्षीय सामेल रोका र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ का २८ वर्षीय अञ्जन हमाललाई पक्राउ गरेको हो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरबाट नेपालगञ्जतर्फ बोरामा राखेर ल्याउँदै गरेको अवस्थामा डुडुवा गाउँपालिका वडा नम्बर ४ राप्ती नदी पुलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ कुण्डाचोकमा जंगली जनावर चित्तल मारेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बनकट्टी र अस्थायी प्रहरी पोष्ट फत्तेपुरबाट खटिएको प्रहरी टोलीले भे ८ प ५४६५ नम्बरको मोटरसाइकलमा बोकेर ल्याएको चित्तल फेला पारिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले जानकारी दिए।

बरामद चितल जिल्ला बाँके राप्तीसोनारी ६ ढलैया वस्ने रामु ओलीबाट ११ हजारमा खरिद गरी ल्याएको उनीहरुले बयान दिएका प्रहरीले जनाएको छ । ओली भने फरार छन् । उनीहरुमाथि थप छानविन सुरु गरिएको प्रहरीले जनाएको छ । अभियुक्तलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिमको सजाय हुने प्रहरीले जनाएको छ। उक्त ऐन अनुसार १० लाखसम्म जरिवाना र ५ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने ब्यवस्था रहेको छ ।

त्यस्तै प्रहरीले नेपालगञ्ज उपमहानरपालिका वडा नम्बर २० मनिकापुरका ६२ बर्षीय सलिम नाउँ र वडा नम्बर १९ बसुदेबपुरका ३३ वर्षीय इब्राहिम बेहनालाई बाँकेको नरैनापुर गाउँपालिका ५ सर्वराजपुरुवाबाट पक्राउ गरिएको जनाएको छ ।

अबैध हातहतियारको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटेको प्रहरी निरीक्षक बसन्त गौतम नेतृत्वको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नाउँ र बेहनालाई नालकटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोली ५ थान बरामद गरेको प्रहरी उपरिक्षक रानाले जानकारी दिनुभयो ।

उनीहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ दफा १३२ बमोजिम मुद्दा चलाउने तयारी भएको छ । ५ बर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।

यसैगरी दुई महिनादेखि अपहरित बालिकाको प्रहरीले उद्दार गरेको छ । ती बालिका अपहरणमा संलग्न बर्दिया बढैयाताल गाउँपालिका–७ का २१ बर्षीय मुकेश यादव, ५५ बर्षीय हरिराम अहिर र बढैयाताल–७ का ३५ बर्षीय अगलेश यादवलाई पक्राउ गरिएको हो । अगलेश यादव समेतका ब्यक्तिहरु घरमा आई पीडित नाबालिकालाई डर त्रास देखाई अपहरण गरी भारतको उत्तर प्रदेशस्थित गौतम बुद्धनगर, थाना बादलपुर, दुजानामा बन्धक बनाई राखेको खुलेको छ ।

बाँके प्रहरीबाट प्रहरी निरक्षिक हृदेश कुमार सापकोटाको टोलीले भारतीय प्रहरीसंग समन्वय गरी पीडित नाबालिकाको उद्दार गरी संलग्नलाई पक्राउ गरेर अनुसन्धान भइरहेको रानाले जानकारी दिनुभयो । मुलुकी अपराध संहिता ऐन २०७४ को अपहरण लिन नहुने महलको परिच्छेद १७ दफा २१४ बमोजिमको १० बर्षदेखि १५ बर्षसम्म कैद र १ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा दुबै हुने कानुनी व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ