arrow

बलात्कार आरोपित बालसुधार गृहमा, उजूरी गर्न रोक्ने पञ्च धरौटीमा रिहा

logo
प्रकाशित २०७७ असोज २७ मंगलबार
courts.jpeg

सप्तरी । सत्र वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई बालकलाई अदालतले मंगलबार बालसुधारगृह पठाउने आदेश गरेको छ । सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीको आदेशमा दुई आरोपितलाई पुर्पक्षका लागि बालसुधारगृह वीरगञ्ज पठाउने आदेश भएको अदालतले जनाएको छ ।

अभियुक्तसहित डाक्नेश्वरी नगरपालिका–७ ललितपुरका २७ वर्षीय धर्मदेव मण्डल र  २५ वर्षीय बिसु भनिने विष्णु मण्डल तथा अठार वर्षमुनिका दुई जना र चार जनाले भदौ २९ गते बिहान बलात्कार गरेको उजूरी गर्न गाउँका पञ्चले रोक लगाएपछि भदौ ३० गते पीडितले आत्महत्या गरेको भनी इलाका प्रहरी कार्यालय, कल्याणपुरमा उजूरी दर्ता छ ।

बलात्कारको उजूरी गर्न रोक लगाउने तीन पञ्चलाई आत्महत्या दुरुत्साहन मुद्दामा जनही रु एक लाख १० हजार धरौटी माग गर्ने आदेश भएको छ । पक्राउ परेका पञ्च जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डल धरौटी राखी मंगलबार रिहा भएका छन् ।
    
धानखेतमा पानीको अवस्था हेर्न गएकी छोरीमाथि सामूहिक बलात्कार भएको जानकारी दिँदै पीडितकी आमाले प्रहरी कार्यालय जान खोज्दा पञ्चले धम्क्याउँदै उजूरी गर्न रोकेको र आरोपितबाट रु ५५ हजार क्षतिपूर्ति भराउने निर्णय सुनाएको बताए ।

 प्रहरीका अनुसार स्थानीयवासी शत्रुघ्न मण्डलका घरमा बसेको पञ्चायतमा निज शत्रुघ्नसहित उनका दाजु जयकान्त, भाइ देबु, सत्यनारायण मण्डल, वासुदेव मण्डल, झमेली मण्डल, रामजी भनिने बेचन मण्डल, उचितलाल मण्डल, बिन्देश्वर मण्डल र वंशराज मण्डलले धम्क्याउँदै उजूरी गर्न रोकेका थिए । 

घटनास्थलमा पीडितले जोगिनका लागि धानबाली र आली समातेर गरेको सङ्घर्षका चिह्न, मडारिएको धानका बाला, फुटेका हातका चुरा र भिडिओ रेकर्डसमेत प्रमाण छ । प्रहरीले आत्महत्या दुरुत्साहनमा जयकान्त, वासुदेव र सत्यनारायणलाई भदौ ३० गते पक्राउ गरेको थियो । बलात्कारको आरोपमा दुई जना बालकलाई प्रहरीले यही असोज १ गते राति पक्राउ गरेको थियो भने दुई जना अझै फरार छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ