arrow

रेम्डेसिभिरको प्रभावकारितामा प्रश्नचिन्ह

logo
प्रकाशित २०७७ असोज ३० शुक्रबार
remdesivir-vial-rt-jt.jpg

काठमाडौं । कोरोना भाइरसका बिरामीका लागि उपचार गर्न प्रयोगमा आइरहेको रेम्डेसिभिर नामक औषधिको प्रभावकारितामा प्रश्नचिन्ह खडा भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाका बिरामीको उपचारमा रेम्डेसिभिरको प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको पाइएको जनाएको छ ।

बीबीसीले फाइनान्सियल टाइम्समा प्रकाशित विवरणलाई उल्लेख गरेर डब्ल्यूएचओले यो नतिजाले उक्त रोगको उपचारमा विद्यमान उपलब्ध औषधिहरुको प्रयोगको आशामा धक्का लागेको बताएको लेखेको छ । उक्त परीक्षणमा रेम्डेसिभिर तथा अन्य तीन औषधिको अस्पतालमा भर्ना भएका ११ हजार बिरामीमा प्रयोग गरिएकोसमेत जनाएको छ । 

ती कुनै पनि औषधिले बिरामीको जीवित रहने सम्भावना वा उनीहरुलाई भेन्टिलेटर आवश्यक पर्ने नपर्ने अनि कति लामो समय अस्पतालमा बस्नुपर्ने भन्नेबारे खासै प्रभाव पारेको नदेखिएको जनाइएको छ । रेम्डेसिभिर औषधि निर्माता कम्पनी गिलियड साइन्सेसले भने उक्त परीक्षणको आँकडा मिल्दो नदेखिने दाबी गरेको छ।

सो अध्ययनबाट कुनै निष्कर्ष निकाल्न सकिनेमा पनि उसले संशय व्यक्त गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना उपचारका लागि लिएका औषधिमध्ये रेम्डेसिभिर पनि एक थियो ।

गत एप्रिलमा अमेरिकामा गरिएका परीक्षणमा रेम्डेसिभिरमा कोरोना भाइरस सङ्क्रमणबाट निको पार्ने क्षमता भएको स्पष्ट आधार पाइएको अमेरिकी अधिकारीहरुले बताएका थिए ।

विश्वभरि अस्पतालमा रेम्डेसिभिर प्रयोग गर्दा बिरामीमा कोरोना भाइरस सङ्क्रमण भएपछि विकसित लक्षणहरु हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको दाबी गरिएको थियो।

रेम्डेसिभिरको विकास इबोलाको उपचारको लागि गरिएको हो । यो एन्टीभाइरल औषधि हो र यसले शरीरमा भाइरसलाई बढ्न चाहिने एन्जाइमलाई निष्क्रिय बनाउँछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ