arrow

किन भनिन्छ आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना ?  

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ कार्तिक १ शनिबार
ghatasthapana.jpg

आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पन्न गरिन्छ । एक कृत्य यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी देवताको आवाहन गरिन्छ । 

यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । 

माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश) को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । 

अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजाआजा गरिन्छ । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ छ ।
 
यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको छ । नवरात्र शुरू हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त हुन्छ । 

घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी ९ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दूर्गा सप्तशती चण्डी, देवीभागवत्, देवी स्तोत्रलगायत देवीको महिमागान गाइएका श्लोक वाचन एवं पाठ गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ