arrow

एकै पटक २३ जना कर्मचारीलाई कोरोना देखिए पछि संघीय मन्त्रालय शिल

कोरोना संक्रमितलाई लोकसेवा परिक्षा दिन रोक लगाउने कार्यविधी बनाउनेहरुलाई पनि कोरोना

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक १ शनिबार
general-administration-federal-affairs.jpg

काठमाडौं । एकैपटक २३ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शिल गरिएको छ । मन्त्रालयका १ सय २६ जना कर्मचारीको स्वाव परिक्षण गरिएको मध्ये २३ जना कर्मचारीमा पोजेटिभ रिपोर्ट आएको छ । मन्त्रालयका अनुसार पोजेटिभ रिपोर्ट आउनेहरुमध्ये १३ जना तल्लो तहका कर्मचारी छन भने १२ जना माथिल्लो तहका कर्मचारी छन् । 

मन्त्रालयका सहसचिव लक्ष्मी निरौलाले मन्त्रालयका २३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि बिहीबार र शुक्रबार मन्त्रालय शिल गरिएको बताए । शनिबार विदा भयो, आइतबार मन्त्रालय खुले पनि निकै सजगता अपनाइने उनले जनाए । बिहीबार र शुक्रबार मन्त्रालयभित्र कसैलाई पनि प्रवेश गर्न दिइएको थिएन । मन्त्रालयका कर्मचारी दुई दिन कार्यालय बाहिरै बसेका थिए ।

मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी नै कोरना संक्रमित भएर केहि दिनदेखि होम आइसोलेसनमा बसेका छन् । मन्त्रालयका एक कर्मचारीका अनुसार अधिकारीको पछिल्लो स्वाव रिपोर्टमा नेगेटिभ नतिजा आएको छ । तर पनि उनी डेढ महिनादेखि मन्त्रालयमा आएका छैनन । 

यस्तै अवस्था लोकसेवा आयोगको मुख्य कार्यलयमा पनि देखिएको छ । एकै पटक ४ जना कर्मचारीलाई कोरोना सक्रमण देखिए पछि आयोगको सुचना प्रकाशन शाखा, संस्थान नतिजा शाखा, प्राविधिक तथा अप्राविधिक नतिजा शाखा शिल गरिएका छन् । रोचक कुरा के छ भने लोकसेवा आयोगको परिक्षामा कोरोना संक्रमण भएका व्यक्तिहरुलाई प्रवेश गर्न नदिने भनी आयोगले बनाएको कार्यविधिको मस्यौदा तयार गर्ने शाखाका कर्मचारी नै कोरोना संक्रमति भएका छन् । यद्यपि उक्त व्यबस्था लागु नगर्न सर्वोच्चले आदेश जारी गरीसकेको छ । आयोग स्रोतका अनुसार कर्मचारीलाई कोरना संक्रमण देखिए पछि आयोगले मंसिर पुसबाट लिने भनिएका परिक्षा प्रभावित हुने भएका छन् । यद्यपि यसबारेमा आयोगले औपचारिक रुपमा केही बोलेको छैन । 

स्रोतका अनुसार धमाधमा सरकारी कार्यालयमा कोरोना संक्रमण देखिए पछि अघिल्लो साता केही सचिवहरुले प्रधानमन्त्री केपी ओलीलाई संयुक्त रुपमा भेटी दशैंको घटस्थापनादेखि नै सबै सरकारी कार्यालयमा बिदा दिन आग्रह गरेका थिए । तर प्रधानमन्त्रीले घटस्थापनादेखि नै विदा दिने प्रस्तावमा सहमति नजनाएको स्रोतको भनाइ छ । 

गत भदौदेखि संघीय मामिला मन्त्रालयले सरकारी कार्यालयमा लगाइएको आलोपालो प्रणाली पूर्ण रुपमा बन्द गरिएको छ । साथै दुई सिफ्ट प्रणाली पनि खारेज गरिएको छ । आलोपालो प्रणाली र दुई सिफ्ट प्रणाली खारेज हुँदा सरकारी कार्यालयहरुमा कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ। निषेधाज्ञ र लकडाउनको बेला सरकारी कार्यालयमा आलोपालो प्रणाली र दुई सिफ्ट प्रणाली लागु गरिएको थियो । सरकारले सिफ्ट हटाएर कामकाज सुचारु गरेसँगै प्रमुख प्रशासकीय केन्द्र सिंहदबारमा कार्यरत कर्मचारीहरुमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएको हो। ‘अहिले सिंहदरबार भित्र  छयाप छयाप्ती कोरना देखिएको छ’ संघीय मन्त्रालयका एक कर्मचारी  गुनासो पोख्छन् ।  

यसैबीच भिडभाड हुने कार्यालयमा कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्ला प्रशासन कार्यालय भक्तपुर अत्यावश्यकीय सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ