arrow

मक्किएर झर्न लाग्यो छाना, भण्डारीको जन्मघरमा कमेरो माटाले लिपपोत

logo
सन्तोष पुर्कुटी,
प्रकाशित २०७७ कार्तिक ५ बुधबार
mandan-bhandari-home-taplagung.jpg

ताप्लेजुङ । बडादशैं २०७७ का सँघारमा जननेता मदन भण्डारी जन्मिको ताप्लेजुङको ढुङ्गेसाँघुस्थित घरलाई अनेरास्ववियुका नेता कार्यकर्ता पुगेर लिपपोत गरेका छन् । अनेरास्ववियु ताप्लेजुङ काठमाडौँ सम्पर्क समितिका सदस्य हेमराज निरौलाका अनुसार खरले छाएको सो दुईतले घरभित्र अहिले अलैँची थुपारिएको छ, चाँडै मर्मतसम्भार नगरे छाना मक्किएर झर्ने खतरा छ ।  

निरौला कुनै बेला पार्टीका सभा, गोष्ठी हुँदा सो घर नेताकार्यकर्ता भरिएर खचाखच हुने गरेको स्मरण गराउछन् ।  अहिले त्यस घरलाई नियमित रूपले हेरचाह गर्ने कोही नदेखिए पनि नेकपा निकटका विद्यार्थी तथा युवा पुगेर यसरी नै मर्मतसम्भार गर्ने गर्छन् । 

बडादशैँ नजिकिएसँगै गाउँका घर चिटिक्क सिँगारिदा आइतबार भण्डारीका घरमा समेत लिपपोत भएको छ । अनेरास्ववियुका केही युवाले आइतबार कमेरो माटाले लिपपोत र सरसफाइ गरेका हुन् । निरौलाले बेलायतमा रहेका अर्जुन खिम्दिङको आर्थिक सहयोगमा लिपपोत गरिएको जानकारी दिए । लिपपोत र सरसफाइका लागि अनेरास्ववियु ताप्लेजुङ काठमाडौँ सम्पर्क समितिका अध्यक्ष रुपेन्द्र वनेमसहित आठ विद्यार्थी नेता कार्यकर्ता ढुङ्गेसाँघु पुगेका थिए।
     
अनेरास्ववियु सम्बद्ध नेताहरूले नेपालको परिवर्तनकारी आन्दोलन र जननेता भण्डारीको जन्म र बाल्यकालसँग जोडिएको ऐतिहासिक महत्वको सो घरलाई विशेष रुपले संरक्षण गर्नुपर्ने आवश्यक रहेको बताए । 
    
घरकै अगाडि ढिकी रहेका ठाउँमा भण्डारीको जन्म भएको बताइन्छ । उक्त ढिकी अझै पनि देख्न पाइन्छ  । भण्डारीको जन्म २००९ साल असार १४ गते भएको हो । विसं २०१५ मा गाउँमै एउटा हिउँदे पाठशालाबाट नै भण्डारी औपचारिक शिक्षातर्फ प्रवेश गर्नुभएको थियो । पन्ध्र वर्षका उमेरसम्म गाउँघरमा नै भण्डारीको जीवन बितेको थियो । 

विसं २०२४ मा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा बसाइँ सरेपछि घरसहितको जग्गा स्थानीयवासीले किनेर भोगचलन गरेको र किनबेच हुँदै पछिल्लो समय घरसहित सम्पूर्ण जग्गाको केही भाग मदन भण्डारी स्मृति प्रतिष्ठानका नाममा छ । 
    
सो क्षेत्रलाई नमूना क्षेत्रका रुपमा विकास गर्न राज्यस्तरबाटै केही कार्यक्रम गर्ने गरी प्रतिष्ठानले घरजग्गा लिएको थियो । पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा  भण्डारी जन्मघर संरक्षण तथा स्मृति उद्यान निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट चालु आर्थिक वर्षमा रु ३० लाख विनियोजन भएको छ । 

विनियोजित सो बजेटबाट घरको वरिपरि पर्खालसहितको घेराबार गर्ने र नजीकैको ढुङ्गेधारालाई संरक्षण गर्ने तयारी भएको वडाध्यक्ष सुरेन्द्र लिम्बूले जानकारी दिए । उनका अनुसार यसका लागि उपभोक्ता समितिसमेत बनिसकेको छ र दशैँलगत्तै काम शुरु हुने छ । पालिकाको सहयोगमा गत वर्ष नै स्मृति उद्यानसहितका संरचना बनाउन विस्तृत परियोजना प्रतिवेदन भने तयार भइसकेको छ । 

प्रदेश सरकारबाट प्राविधिक शिक्षालयका लागि संरचना तयार गर्न चालु आर्थिक वर्षमा रु एक  करोड विनियोजन भएको अध्यक्ष लिम्बूले जानकारी दिए । त्यसका लागि आवश्यक पर्ने जग्गा खोजी भइरहेको र  अरु थप तयारी समेत भइरहेको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ