arrow

नेपालमा चीनसँग जोडिएका दर्जन बढी संस्था, गर्छन के?

नेता, पत्रकार, अध्ययेता र व्यवसायीको समेत संस्था

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक ७ शुक्रबार
xi-jinping-visit-book.jpg

काठमाडौं । नेपालको राजनीतिमा छिमेकी तथा मित्रराष्ट्रहरुको प्रभाव आम जस्तै भइसक्यो । अझ छिमेकीहरुको प्रभाव त माइक्रो मेनेज्मेन्ट तहमै हुन थालेको धेरै भइसकेको छ । विगतमा देखिने गरेको भारतको प्रभाव अहिले बदलिएर चीनको प्रभाव बढ्न थालेको छ । यद्यपी चीनको बढ्दो प्रभावको बारेमा खासै चर्चा गरेको पाइदैन । 

वैशाखको दोस्रो र तेस्रो साता सत्तारुढ दल नेकपामा संकट गहिरिँदै गएको समयमा चीनका राजदूत होउ यान्छीले नेकपाका नेताहरुलाई छुट्टा छुट्टै भेट गरिन् । त्यतिबेला चिनियाँ राजदूतले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल तथा झलनाथ खनाललाई मात्र होइन राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटघाट गरेर नेकपाभित्रको मतमतान्तरलाई मत्थर पारेकी थिइन । तत्कालीन एमाले र माओवादीलाई मिलाउन चिनियाँको भूमिका र सद्भाव रहेको चर्चा भइरहेका बेला नेकपा विवादमा मिलाउन पनि पनि चीनले सक्रियता देखाएको थियो ।

प्रधानमन्त्री ओलीलाई भेटेको भोलिपल्ट राजदूत यान्छीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरेकी थिइन । दाहाल र नेपाल गठजोडले प्रधानमन्त्री ओलीलाई असहज पारिरहेको अवस्थामा  तीनै नेतालाई भेटेपछि उनले राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता गराएको चर्चा थियो । त्यतिबेला राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेट गोप्य राखिए पनि अन्य दुई भेटघाट सार्वजनिक भएलगत्तै चिनियाँ दूतावासका अधिकारीले प्रधानमन्त्रीसँगको भेटको पनि पुष्टि गरेका थिए । 

त्यसअघिका केही श्रृंखलालाई पनि हामी जोड्न सक्छौ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण अघि विशेषदूतका रूपमा उपप्रधानमन्त्री वाङ याङले गत बर्षको साउनमा चार दिने नेपाल भ्रमण गरेका थिए । नेपाललाई आत्मनिर्भर बनाउने र चीन–नेपाल कनेक्टिभिटी बढाउने ती सम्झौताहरूको कार्यान्वयनबाट एकातिर नेपाल पेट्रोलियम पदार्थमा आत्मनिर्भर बन्ने बताइएको थियो । नेपाल भ्रमणमा आउने र नेपालप्रति विशेष रुची राख्ने चीनका चारजना उप–प्रधानमन्त्रीमध्ये तेस्रो वरियताका  वाङ पनि हुन् । कृषि, जलस्रोत, वाणिज्य र पर्यटन क्षेत्रको जिम्मेवारी सम्हालेका हुनाले उप–प्रधानमन्त्री वाङ नेपालको लागि महत्वपूर्ण छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो पटक प्रधानमन्त्रीको रूपमा चीन जाँदा पनि नेपालको विकासबारे वाङले छलफल गरेका थिए । २०७२ सालमा भारतले नाकावन्दी गरेपछि नेपाल र चीनबीचको ‘कनेक्टिभिटी’ बढाएर दक्षिणमाथिको निर्भरता घटाउनुपर्छ उत्तरतर्फका नाकाहरू खुल्नुपर्छ, खानीहरू उत्खनन् गर्नुपर्छ भन्ने दह्रो जनमत तयार भएको नेपालमा भारत विरोधि भावानाहरु बढ्दै गएको थियो । जसका कारण नेपाल भारतका सम्बन्धका सेतुको रुपमा रहेका विभिन्न संघ संस्थाहरु पनि ओझेलमा पर्दै गए । यहि बीचमा नेपालमा चिनियाँ राजनीतिको प्रभाव बढ्दै जाँदा चीनसँग नाम जोडेर विभिन्न संस्थाहरु अहिले नेपालमा क्रियाशील रहेका छन् । 

पत्रकारिताको क्षेत्रमा होस वा अन्य क्षेत्रमा यस्ता संस्थाहरु क्रियाशील रहेका छन् । त्यसमध्येमा सत्तारुढ दलकै मन्त्री अध्यक्ष रहेको संस्था बढी क्रियाशील रहेको छ । चीनसँग सीमा जोडिएका जिल्लाका सत्तारुढ दलका नेताहरुले ‘नेपाल चीन हिमालय मैत्री समाज’को नाममा संस्था चलाइरहेका छन् । वर्तमान आवास तथा भौतिक योजना तथा यातायातमन्त्री बसन्त नेम्वाङ अध्यक्ष रहेको सो संस्थामा १८ सदस्यीय कार्यसमिति रहेको छ । दार्चूलाका सांसद गणेश ठगुन्ना, शेरबहादुर तामाङ, संघर्ष विष्ट लगायत कार्यसमितिमा छन् । सो संस्थाको सल्लाहकारमा सभामुख अग्नी सापकोटा, पूर्वमन्त्री आनन्द पोखरेल, जनार्दन ढकाल लगायतका नेताहरु रहेका छन् । 

त्यस्तै नेकपाका विदेश विभागको उपप्रमुख विष्णु रिजाल उपाध्यक्ष रहेको र वामपन्थी धारका पत्रकार किशोर श्रेष्ठ अध्यक्ष रहेको नेपाल चाइना मिडिया फोरम निकै सक्रिय रहेको छ । त्यसले हरेक वर्ष विभिन्न कार्यक्रमको अयोजना गर्दै आएको छ । केही दिन अघि मात्रै पनि चिनिया राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको तस्वीरको सँगालो प्रकाशन गरेको थियो । चर्चाभन्दा बाहिर रहने तर काम गरिरहने संस्थामा नेपाल चीन अध्ययन केन्द्र पर्छ । त्यसका अध्यक्ष मदन रेग्मी हुन् । नेपाल चीन अध्ययन केन्द्र नेपालमा पुरानो संस्था हो । यसले चिनियाँ पाठ्यसामाग्रीहरु प्रकाशन गर्ने गरेको छ । सीनो नेपाल मिडिया सोसाइटी भन्ने अर्को संस्था रहेको छ । त्यसका अध्यक्ष पत्रकार ध्रुव पौडेल हुन । चीनमा बसेर आएका पौडेलले नेपालमा छुट्टै संस्था खोलेर दुई वटा कार्यक्रम गरिसकेका छन् । उनको संस्थाले बीआरआइसँग सम्बन्धीत रहेर कार्यक्रम आयोजना गर्दा चिनियाँ राजदूत र पूर्व मन्त्रीहरु पूर्व राजदूतहरुलाई समेत बोलाएको थियो । त्यस्तै चिनियाँ दूतावासकै संलग्नतामा खुलेको चिनियाँ सांस्कृतिक केन्द्र अर्को महत्वपूर्ण संस्था हो । वालुवाटारमा कार्यालय रहेको यस केन्द्र चीनसँग विभिन्न सांस्कृतिक पक्षको प्रचार प्रसार गर्दै आएको छ । 

त्यस्तै अर्को संस्थाको रुपमा नेपाल चाइना मिचुअल कोपअरेशन सोसाइटी रहेको छ । यसका सञ्चालक प्रेम प्रसाद पौडेल रहेका छन् । उनले खासै कार्यक्रम नगरेपनि चिनियाँ दूतावासको नियमित सम्पर्कमा रहेको बुझिन्छ । नेपाल चाइना जनमैत्री प्रतिष्ठान भन्ने भेष भूषालले नेतृत्व गरेको अर्को संस्था रहेको छ । जसले कुनै कार्यक्रम नगरेपनि कुनै परियोजना हात पर्छ कि भनेर संस्था खोलेको देखिन्छ । यस्तै नेपाल चाइना मैत्री समाज, नेपाल चाइना मैत्री समाज, नेपाल कन्फ्यूसियस इन्स्ट्च्यिूट लगायतका दर्जनौ संघ संस्थाहरु खुलेका छन् । त्यसका अतिरिक्त नेकपा नेताहरुले विभिन्न प्रतिष्ठान मार्फत पुस्तकहरु ल्याउने र परियोजनाहरु ल्याएर चीनको प्रचार प्रसार गर्ने काम गरिरहेका छन् । यसरी चिनसँग सम्बन्धित रहेका संघ संस्थाहरुले विस्तारै नेपालको राजनीतिमा चिनियाँ प्रभावलाई साथ दिइरहेको देखिन्छ । 

नेकपाका नेता र पत्रकारहरुको मात्र होइन व्यापारीहरुको पनि छुट्टै संगठन रहेको छ । करिब १५ बर्ष अघि नै तातोपानी काठमाडौ व्यापार गर्दे आएका सिन्धुपाल्चोकका व्यापारीहरु मिलेर दुर्गाबहादुर श्रेष्ठको अध्यक्षतामा हिमालयन सीमापार व्यापार संघ स्थापना गरेका थिए । सोही संघ अहिले नेपाल हिमालय सीमापार वाणिज्य संघमा रुपान्तरण भएको छ । हाल त्यसको अध्यक्षमा विष्णु क्षेत्री रहेका छन् । वच्चु पौडेल, विष्णुबहादुर श्रेष्ठ, अशोक श्रेष्ठ, ओमप्रसाद उप्रेती, कुमारबहादुर कार्की र पदम अधिकारी, अर्जुनप्रसाद गौतम, रामहरी कार्की लगायतका व्यापारीहरु सक्रिय रहेका छन् । उनीहरुले चिनियाँ व्यापारीहरुसँगको सहकार्यमा नेपाल चीन व्यापार गर्दै आएका छन् । काठमाडौको सुन्धारामा चाइना टाउन नामको व्यापारीक भवन र महाबौद्धमा चाइना सपिङ सेण्टर नै खुलेका छन् । 

चिनियाँ मामिलासम्बन्धी जानकार हिरण्यलाल श्रेष्ठ भने यस्ता संघ संस्था खुल्नुलाई  खासै अनोठौ नभएको बताउँछन् । केही मैत्रीपूर्ण संघसंस्थाहरु हुनु राम्रो हो तर यस्ता संस्थाले चीनको वकालत गर्नुचाहि राम्रो पक्ष नभएको उनी बताउँछन् । ‘दुई देशवीचको सम्बन्ध र सहयोग आदानप्रदानको लागि यस्ता संस्थाहरु खुल्नुपर्छ तर चीनकै पक्षमा लविङ गर्ने वा उनीहरुको गुनगानमा केन्द्रीत हुनुचाहि राम्रो भएन,’ चीनका लागि पूर्व राजदूत समेत रहेका श्रेष्ठले भने, ‘ त्यहाँको भाषिक सांस्कृतिक ज्ञान लिन र नेपालमा सही सदुपयोग गर्नुचाहि राम्रो पक्ष हो।’ उनका अनुसार विभिन्न देशसँग सम्बन्ध सेतुका रुपमा पनि विभन्न संघ संस्थाहरु क्रियाशील रहेको अवस्थामा यसलाई अन्यथा मान्नु हुँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ