arrow

मधेसमा चीन कनेक्सन

logo
आकाश शर्मा,
प्रकाशित २०७७ कार्तिक ८ शनिबार
Madheshi-morcha.jpeg

काठमाडौं । तत्कालिन समाजवादी पार्टीका सांसद प्रदिप यादवलाई लात्भियाको राजधानी रिगामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बत’ को कार्यक्रममा सहभागी भएको भन्दै २०७६ असार १० गते समाजवादीले  ६ महिनाकोलागि निलम्बन गर्‍यो । यादव २०७६ वैशाख २४ देखि २७ गतेसम्म लात्भियाको रिगामा भएको कार्यक्रममा सहभागी भएका थिए । त्यहाँबाट फर्केपछि उनले थाहा नपाएर कार्यक्रममा गएको भन्दै सार्वजनिक रुपमा क्षमायाचना मागेका थिए ।यादव लाटभियामा गए पछि यस विषयमा चिनियाँ दुतावासको प्रतिनिधिहरुले गम्भिर चासो राखेका थिए । दुतावासले दुख जनाएपछि तत्कालिन समाजवादीका अध्यक्ष उपेन्द्र यादवले प्रदीपलाई ६ महिनाकोलागि निलम्बन गरे । त्यस घटनापछि प्रदीप उपेन्द्रको गुटबाट अलग्गिएनन् मात्र उनले कहिले पनि सत्ताको लाभ लिने मौका पाएनन । जब कि, यस विचमा करिब १८ महिना तत्कालिन समाजवादी सरकारमा सहभागी भयो ।

२०७४ चैत ११ गते तत्कालिन समाजवादी पार्टीका २० जना नेता एकैपटक १० दिन लामो चीन भ्रमण गरेका थिए । त्यसको नेतृत्व उपाध्यक्ष रेणु यादवले गरेकी थिइन । त्यसमा १-२ जना प्रदेश २ का स्थानीय नेताहरुलाई पनि सहभागी गराइएको थियो । स्रोत भन्छ, हालसम्म तत्कालिन समाजवादी पार्टीका धेरैजसो सांसद चीन भ्रमण गरिसकेका छन् । त्यसो त, तत्कालिन राष्ट्रिय जनता पार्टीका शिर्ष नेताहरु पनि बेला बेलामा चीन भ्रमणमा गएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव धेरै पटक चीन भ्रमण गर्नेमा पर्छन् ।

पछिल्लो समय मधेसमा चीनको चासो र सक्रियता ह्वात्तै बढ्न थालेको छ । अहिले चीनसँग विभिन्न किसिमबाट नाम जोडिएका एनजिओहरुले मधेसलाई प्राथमिकता दिन थालेका छन् । यहाँ सम्म कि कहिलेकाँही मधेसका स्कूले विद्यार्थीहरुले बोकेका झोलामा ‘चाइना सहयोग’ भनी स्टिकर टाँसेको देख्न पाइन्छ । यो भनेको चीनसँग सम्बन्धित एनजिओको काम हो’ एक मधेसी बुद्धिजिवीको विश्लेषण छ । 

तत्कालिन मधेस केन्द्रीत दलसँग चीनको सम्बन्ध २०७०को चुनावबाट सुरु भएको हो । २०७०को चुनाव हुनुभन्दा करिब १ महिना अघि चिनियाँ दुतावासका प्रतिनिधिहरु विजुलीवजारस्थित तत्कालिन तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टी कार्यालयमै गइ १ सय ५० थान सेट मोबाइल र केही थान ल्यापटप बाँडेका थिए । पार्टी अध्यक्ष महन्थ आफैले मोबाइल सेट र ल्यापटप बुझेका थिए । चिनियाँ दुतावासाले दिएको मोबाइल सेट चुनावको बेला मधेसका नेताहरुले आफ्नो गृह जिल्लामा बाँडेका थिए । ल्यापटप भने आफैले राखे । 

२०७४ को वर्षायाममा आएको बाढी पहिरोले मधेसलाई सास्ती दियो । त्यतीखेर पनि तत्कालिन मधेस केन्द्रीत दलका नेताहरुले चिनियाँ दुतावासले दिएको सहयोग लिएका थिए । चिनियाँ दुतावासका प्रतिनिधिहरुले मधेस केन्द्रीत दलमार्फत् मधेसमा आफैले राहत बाड्न चाहेका थिए तर तत्कालिन मधेस केन्द्रीत दलका नेताहरुले एउटा चलाखी गरे । उनीहरुले राहत सामाग्री आफै बाँडे तर त्यसको बिल दुतावासमा पठाए । राहत बाड्न मधेसी नेताहरुले खरिद गरेको सबै सामग्रीहरुको बिल दुतावासले भुक्तानी गरेको थियो । ‘पहिले राहत सामग्री दुतावासले आफै दिने सहमति भएको थियो । पछि सामग्री हामीले खरिद गर्ने तर, यसको बिल पछि दुतावासमा पुर्‍याउने सहमति भयो’ राहत बाड्न मधेस पुगेका एक मधेसी नेताले स्मरण गरे । 

करिब ९ महिना अघि २०७६मा चिनियाँ दुतावासका ४ जना प्रतिनिधिहरु तत्कालिन राजपाको पार्टी कार्यालय बबरमहल पुगेका थिए । त्यहाँ करिब २ घण्टा तत्कालिन राजपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले चिनियाँ प्रतिनिधिहरुसँग भेटवार्ता गरेका थिए । चिनियाँ प्रतिनिधिहरुसँग ठाकुर र महतोले संयुक्त रुपमा फोटो पनि खिचाए । तत्कालिन राजपाले गर्ने वार्षिक उत्सव कार्यक्रममा चिनियाँ दुतावासका प्रतिनिधिहरुलाई नछुटाइ बोलाउने गर्‍थ्यो । तत्कालिन राजपा र तत्कालिन समाजवादीवीच एकीकरण हुनु अघि हरेक वर्ष वैशाख ७ गते तत्कालिन राजपाले स्थापना दिवस मनाउन गर्‍थ्यो । हरेक स्थापना दिवसमा चिनियाँ राजदुत नछुटाइ आउने गर्थे । २ वर्ष अघि गरिएको स्थापना दिवसमा तत्कालिन चिनियाँ राजदुत अमृतभोगमा गरिएको कार्यक्रममा ४-५ घण्टासम्म बसेका थिए । जब कि, उक्त कार्यक्रममा तत्कालिन भारतीय राजदुत तथा अन्य देशका राजदुत आधा घण्टा पनि बसेनन्।

मधेससँग चीनसँग कनेक्सन गराउने सुत्रधार डा.राजिव झा हुन् । जनकपुरमा २ जना राजिव झा चर्चित छन् । एक जना राजिव झा नेपाल भारत खुला सीमा संवाद समुहमा आबद्ध छन् । खुला सीमा सम्बन्धी उनले बेला बेला कार्यक्रममा गर्ने गरेका छन् । उनी जसपाका केन्द्रीय सदस्य तथा तत्कालिन राजपाका महासचिव पनि हुन् । यस समुहमा राजेन्द्र महतोको ज्वाइ अनिल महासेठ पनि सम्बद्ध छन् । जनकपुरका अर्का राजिव झा हुन चाइना नेपाल फ्रेण्डसिप मेडिकल रिसर्च सेण्टरका निर्देशक ।

राजिव झा आधा समय चीन र आधा समय नेपालमा विताउने गर्छन । नेपाल आएको बेला उनी धेरैजसो जनकपुरमा बस्ने गर्छन । कोभिड १९को महामारी सुरु हुनु अघि उनले तत्कालिन राजपाका अध्यक्ष महन्थ ठाकुरसँग करिब डेढ घण्टा कुराकानी गरेका थिए । मधेस केन्द्रीत दलका नेताहरुलाई चीन भ्रमण गराउन झाको ठूलो भूमिका हुने गरेको मधेसी नेताहरु बताउछन् । यसैगरी मधेसमा चीनसँग सम्बन्धित एनजिओहरुको सक्रियता बढ्नुमा झाको प्रमुख हात रहेको बताइन्छ । अर्का एक मधेसी नेता भन्छन, ‘सुरु सुरुमा मधेस केन्द्रित दलका नेताहरु चीनसँग सम्बन्ध राख्दा भारत रिसाउला कि भनी गराउथे तर त्यो स्थिति विस्तारै हराउँदै गएको छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ