arrow

नेकपाको गुटको लडाईः हत्या भएका चौरसियालाई न्याय दिलाउन पनि भेदभाव, किटानी जाहेरी लिइएन  

हत्यारालाई कार्वाहीको माग गर्दै ओली इतर समुहका नेता कार्यकर्ता प्रहरी कार्यालय अगाडी प्रदर्शनमा

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ कार्तिक ८ शनिबार
demostration-ncp-cader-pars.jpg

पर्सा। नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा निकट र इतर पक्षबीच झडप हुँदा मृत्यु भएका गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा प्रदर्शन भएको छ । नेकपा प्रदेश नम्बर २ का सहसंयोजक नगेन्द्र चौधरी र नेकपा पर्साका इन्चार्ज रामचन्द्र साहले प्रदर्शनको नेतृत्व गर्दै प्रहरी कार्यालय अगाडी नारावाजीमा उत्रेका छन् । उनीहरुले हत्या भएका आफ्ना कार्यकर्तालाई न्याय दिलाउन पनि गुटको शिकार हुनुपरेको बताएका छन् ।  

प्रदर्शनकारीहरुले पार्टी सचिव चौरसियाको हत्याको योजनाकार नेकपाकै पूर्व सांसद राजकुमार गुप्तालाई कार्वाहीको माग गर्दै किटानी जाहेरी दिन जाँदा प्रहरीले नलिएपछि प्रहरी कार्यालय अगाडी नारावाजी गरिरहेका छन् । झडपमा गम्भिर घाइते भएका चौरसियाको उपचारको क्रममा न्यूरो अस्पताल बिरगञ्जमा मृत्यु भएको थियो। चौरसियाको हत्या गुप्ताको योजनामा भएको भन्दै किटानी जाहेरी दिन शुक्रवार गएका आफन्तहरुको जाहेरी जिल्ला प्रहरीले लिएको थिएन । शनिवार पनि जाहेरी प्रहरीले लिएको छैन । प्रहरीले प्रधानमन्त्रीको सचिवालयबाट आएको फोनका कारण जाहेरी नलिएको प्रहरी स्रोतलाई उदृत गर्दै नेकपा पर्साका नेताहरुले बताएका छन् । किटानी जाहेरी नलिएपछि आफन्तले चौरसियाको शब बुझेका छैनन् । मृतकको शब अहिले पनि नारायणी अस्पतालको शबगृहमा रहेको छ। 

नेकपा पर्साले विन्दवासनी गाउँपालिकामा बिहीबार आयोजना गरेको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा निकट तथा इतर पक्षबीच पक्षबीच झडप हुँदा दर्जनौं व्यक्ति घाइते भएका थिए । कार्यक्रमस्थलमा गाउँपालिका अध्यक्ष र सचिवबीच विवाद हुँदा उग्ररुप लिएको थियो । पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले परसौनीभाठा बस्ने मुकेश चौरिसयाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिएका थिए। 

आक्रमणपछि ओली निकट नेता कार्यकर्ताहरु पूर्व सांसद तथा नेकपा जिल्ला सदस्य राजकुमार गुप्ताको निवासमा बसेका थिए । गुप्ता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली निकट मानिन्छन् । उनको निवासमा आक्रमणपछि ओली निकटहरु रणनीतिक छलफलमा जुटेका थिए । यसअघी राजपाबाट मेयरका प्रत्यासी रहेका लक्ष्मण चौरसिया हालै नेकपा प्रवेश गरेका थिए । उनलाई गुप्ताले नै नेकपामा प्रवेश गराउन भूमिका खेलेका थिए । नेकपामा नवप्रवेशी चौरसियाकै नेतृत्वको टोलीले आक्रमणमा गरि मुकेस चौरसियासहित केहि गम्भिर घाइते भएका थिए ।

घटनाको जानकारी गृहमन्त्री राम बहादुर थापालाई पनि बिरगञ्जबाट ओली इतरका नेताहरुले गराएका थिए । थापाले सो जानकारी पाए लगत्तै उनले स्थानिय प्रहरीलाई आदेश दिएका थिए । त्यसलगत्तै डीएसपी मनोजित कुँवरको नेतृत्वमा गएको टोलीले गुप्ताकै घरबाट गुप्ता सहित ९ जनालाई पक्राउ गरेको थियो। तर पछि प्रधानमन्त्रीको सचिवालयबाट फोन गएपछि पक्राउ परेका ९ जनामध्ये ३ जनालाई मात्र राखि अरुलाई छोडिएको थियो। अहिले उनीहरु पनि फरार भएका छन्। 

न्युरो अस्पताल बीरगञ्जमा गम्भिर अवस्थामा चौरसियाको बिहिवार उपचार भएपनि उनको व्रेन डेथ भएको बताइएको थियो। पक्राउ परेकाहरुलाई प्रहरीले नछोडेसम्म उनको मृत्यु घोषणा नगरिएको पिडित पक्षले बताएको छ । तर छोडिएकाहरु फरार समेत भइसकेपछि चौरसियाको मृत्युको घोषणा गरिएको भन्दै उनी निकटहरु आक्रोशित भएका छन् । मृतक चौरसिया ओली ईतर गुटका हुन्। 

चौरसियाको निधनपछि शुक्रवार नेकपाका नेताहरु सुरेन्द्र पाण्डे र मातृका यादव मृतकको घरमा पुगेका थिए । त्यहाँबाट उनीहरुले पिडित पक्षका केहि व्यक्तिहरु सहित जाहेरी दर्ता गर्न गएपनि प्रहरीले जाहेरी दर्ता नलिएको नेकपाकै स्थानिय नेताहरुले बताएका थिए। प्रहरीले केपी ओली निकटका गुप्ता सहित केहि व्यक्तिको नाम हटाएर ल्याए मात्र जाहेरी दर्ता गर्ने बताएर जाहेरी दर्ता गर्न अस्विकार गरेको थियो।  

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कार्यलय पर्साले जिल्ला कमिटी सदस्य तथा विन्दावासिनी गाउँपालिका कमिटिका सचिव चौरासियामाथि हमला गरी हत्या गर्नेहरुलाई कडा कारवाही गर्न माग गरेको छ । शुक्रबार जिल्ला कमिटी पर्साले विज्ञप्ति जारी गर्दै हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने, मुकेस चौरासियालाई शहिद घोषणा गर्नुपर्ने, घाइतेहरुलाई क्षतिपूर्ति र निःशुल्क उपचार गर्नुपर्ने माग गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ