arrow

नेकपाको गुटको लडाईमा यसरी कुटीकुटी मारिएका थिए चौरसिया, एमआरआई रिपोर्टमा यस्तो देखिएको थियो टाउको

प्रहरीले हत्यामा संलग्न बिरुद्धको किटानी जाहेरी नलिएकोमा प्रचण्ड आश्चर्यचकित

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ कार्तिक ९ आइतबार
mukesh-chaurasiya-killed-pa.jpg

पर्सा। नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्सा विन्दवासनी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको हत्या बाँसको लौरोले टाउकोमा गरिएको प्रहारबाट भएको देखिएको छ। चौरसियालाई टाउकोमा आक्रमण गर्दैगर्दाको तस्विर र अस्पतालमा गरिएको उनको एमआरआइबाट उनको टाउकोमा गम्भिर चोट लागेको देखिएको छ। यहि चोट नै उनको मृत्युको कारक बनेको अस्पताल निकट स्रोतले जनाएको छ। टाउकोका हड्डी छिया छिया भएर फुटेको अवस्थामा अस्पतालमा एमआरआई गरिएको थियो। उनको मस्तिष्कमा अत्यधिक रक्तस्राव भएका कारण उनलाई बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ। स्थानियहरुले चौरसियालाई अत्यन्त निर्मम तरिकाले घेरेर आक्रमण गरिएको बताएका छन्। 

नेकपा विन्दवासिनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा झडपको स्थिति भएपछि चौरसियालाई केहि ब्यक्तिले घेरेर बाँसको लौरोले हानेर गम्भिर घाइते बनाएका थिए । गम्भिर घाइते अवस्थामै न्यूरो अस्पतालमा भर्ना गरिएका चौरसियाको उपचारका क्रममा निधन भएको थियो। उनको निधन पछि परिवारका सदस्यहरुले हत्याराहरुलाई कार्वाहीको माग गर्दै किटानी जाहेरी दिन खोजेपनि जिल्ला प्रहरी प्रमुख एसपी गंगा पन्तले उजुरी दर्ता गरेकी छैनन। जिल्ला सुरक्षा समितिको वैठकमा समेत उनले फरक मत राख्दै उजुरी दर्ता गर्न नमानेको जिल्ला प्रसासन कार्यालय स्रोतले जनाएको छ। 

घटना भएको दिन प्रहरीले नेकपाका नेता तथा पूर्व सांसद राजकुमार गुप्तालाई नियन्त्रणमा लिएपनि ४ घण्टापछि छोडेको थियो। चौरसियाका आफन्त र स्थानिय नेता तथा कार्यकर्ताहरुले गुप्ता घटनाको मुख्य योजनाकार बताइरहेका छन्। किटानी जाहेरीमा पनि उनको नाम उल्लेख छ। तर प्रधानमन्त्रीको सचिवालयबाट दिइएको दवावपछि उनको नाम लिइएको किटानी जाहेरी प्रहरीले लिएको छैन्। प्रहरीले किटानी जाहेरी नलिएका कारण दिनदिनै जिल्ला प्रसासन कार्यालय अगाडी प्रदर्शन भइरहेको छ। नेकपा प्रदेश नम्बर २ का सहसंयोजक नगेन्द्र चौधरी र नेकपा पर्साका इन्चार्ज रामचन्द्र साहले प्रदर्शनको नेतृत्व गर्दै दिनहुँ प्रहरी कार्यालय अगाडी नारावाजी भइरहेको छ। उनीहरुले हत्या भएका आफ्ना कार्यकर्तालाई न्याय दिलाउन पनि गुटको शिकार हुनुपरेको बताएका छन् । प्रहरीले किटानी जाहेरी नलिएका कारण आफन्तले मृतक चौरसियाको शब बुझेका छैनन्। चौरसियाको हत्या गुप्ताको योजनामा भएको भन्दै किटानी जाहेरी दिन शुक्रवारदेखिनै जिल्ला प्रहरी कार्यालय धाइरहेपनि प्रहरीले उजुरी लिइरहेको छैन। आइतवार पनि जाहेरी प्रहरीले लिएन । मृतकको शब अहिले पनि नारायणी अस्पतालको शबगृहमा रहेको छ। 

नेकपाका स्थानिय नेता चौरसियाको मृत्यु प्रकरणमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ती निकाली शोक जनाएका छन्। उनले पर्सा जिल्ला कमिटीले माग राख्दै निकालेको विज्ञप्तीमा ऐक्यबद्धता जनाउँदै चौरसियाका हत्यारालाई कार्वाही गर्न माग गरेका छन्। जिल्ला प्रहरी कार्यालयले किटानी जाहेरी नलिएको सन्दर्भमा असन्तुष्ट रहेका प्रचण्डले अनुसन्धानसँग सम्वन्धित स्थानिय निकायले हत्या जस्तो गम्भीर मुद्धामा समेत मुद्धा दर्ता नगरेकोमा आश्र्चर्य प्रकट गरेका छन् । प्रचण्डले दोषीमाथि तत्काल कार्वाहीको प्रक्रिया अघी बढाउन आग्रह गरेका छन्। केन्द्रको दवावमा परि नेकपाकै एक कार्यकर्ता मारिदा उजुरी समेत नलिएकोमा कांग्रेसले शनिवार नै एक विज्ञप्ती जारी गरि बिरोध जनाउँदै न्यायको पक्षमा उभिन सरकारलाई खबरदारी गरेको थियो। प्रचण्डको यो वक्तव्यले प्रधानमन्त्री केपी ओलीलाई थप रक्षात्मक बनाउने देखिएको छ। ओली समुहका गुप्तालाई बचाउन बालुवाटार सक्रिय भएपछि जाहेरी नलिइएको बिरगंजमा व्याप्त छ।  

अखिल नेपाल पिछडावर्ग महासंघले पनि एक विज्ञप्ती निकाली हत्यारालाई कार्वाहीको माग गरेको छ। नेकपाका स्थानिय नेता बसरुद्धिन अन्सारीले पनि हत्यारालाई कार्वाहीको माग गरेका छन्। नेकपा पर्साले विन्दवासनी गाउँपालिकामा बिहीबार आयोजना गरेको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा निकट तथा इतर पक्षबीच पक्षबीच झडप हुँदा दर्जनौं व्यक्ति घाइते भएका थिए । कार्यक्रमस्थलमा गाउँपालिका अध्यक्ष र सचिवबीच विवाद हुँदा उग्ररुप लिएको थियो । 

यसअघी, नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कार्यलय पर्साले जिल्ला कमिटी सदस्य तथा विन्दावासिनी गाउँपालिका कमिटीका सचिव चौरासियामाथि हमला गरी हत्या गर्नेहरुलाई कडा कारवाही गर्न माग गरेको थियो । शुक्रबार जिल्ला कमिटी पर्साले विज्ञप्ती जारी गर्दै हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने, मुकेस चौरासियालाई शहिद घोषणा गर्नुपर्ने, घाइतेहरुलाई क्षतिपूर्ति र निःशुल्क उपचार गर्नुपर्ने माग गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ