arrow

कोरोना नियन्त्रणमा सरकार सुरुदेखि नै चुक्यो 

यही तरिका हो भने नेपालमा कोरोनाको अवस्था भयावह हुन्छ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक ९ आइतबार
dr-suraj-kumar-gupta.jpg

काठमाडौं। डा सुरज कुमार गुप्ता थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालका बरिष्ठ दम तथा छाती रोग विशेषज्ञ हुन् । उनी यतिबेला कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अस्पतालले बनाएको मेडिकल टिममा कोभिड फोकल पर्सन तथा कोभिड इन्चार्ज हुन् । दैनिक २५ जनाभन्दा बढी कोरोना संक्रमितको उपचार गराइरहेको नर्भिकमा विरामी तथा चिकित्सकहरुलाई पर्याप्त मेडिकल सामग्री उपलब्ध गराइ उपचारमा कुनै कमजोरी हुन नदिएको अस्पतालको दाबी छ । डा गुप्ता नर्भिकले जति गर्नसक्ने गरिरहेको बताउँछन् । अस्पतालले पर्याप्त मेडिकल सामाग्री दिएको छ । तर सरकारले बोलेको कुनै बाचा पूरा गर्न नसक्दा सरकारी अस्पताल लगायत देशभरका कोभिड विशेष अस्पतालको अवस्था दयनीय छ । डा गुप्ताले नेपालमा कोभिडको वर्तमान अवस्था र आफ्नो अनुभव हामीलाई सुनाएका छन्ः

कोरोना भाइरस विश्वभर महामारीको रुपमा झनझन फैलिरहेको छ, नेपालमा चाहिं अवस्था कस्तो पाउनुहुन्छ ?
एकदमै जटिल छ अवस्था । भयावह बन्दै गइरहेको छ । विरामीहरु थपिनेक्रम जारी छ । अस्पतालमा बेडको अभाव छ । विरामीलाई दिने औषधि बजारमा पाइँदैन । मेडिकल टिमलाई पनि खटिन उस्तै समस्या छ, जनशक्ति छैन । मेडिकल सामाग्रीहरुको अभाव छ । समस्या झन झन बढिरहेको छ ।

के कारण यतिधेरै विरामीको चाप बढिरहेको हो, अर्थात नेपालमा रोकथाम र नियन्त्रणमा के कमजोरी भयो ?
मैंले बुझेअनुसार रोकथाम र नियन्त्रणमा जुन समयमा काम हुनुपर्ने थियो त्यतिबेला नै कमजोरी भयो । एकदुईवटा केस देखिनेवित्तिकै नियन्त्रणको प्रयास हुनुपर्ने हो त्यो हुँदै भएन । सुरुमा दुईचार विरामी थिए अहिले सरदर २५ सयको हाराहारीमा पुगेका छन् । अनि नियन्त्रणको प्रयास कस्तो भइरहेको छ भन्ने विरामीको संख्याबाट नै थाहा भइहाल्छ नि । यतिबेला भेन्टिलेटर र बेडको अभाव छ, औषधि बजारमा छैन । औषधि पाइए पनि विरामीले ब्ल्याकमा मंहगो मूल्य तिरेर किन्नु परिरहेको छ । भाइरस नियन्त्रण तथा रोकथामका लागि जुन समयमा काम हुनुपर्ने थियो हुँदै भएन । स्थिति जटिल बन्दै गइरहयो, अहिले अनियन्त्रित जस्तै भइसकेको छ ।

तपाई कोरोनाका विरामीको उपचारमा खटिरहँदा उनीहरुको मनोविज्ञान कस्तो पाइरहनुभएको छ ?
चैत्र बैशाखतिर मानिसहरुको मनमा मात्र भय थियो अहिले भय मनभन्दा माथि गइसकेको छ । सरकारले यसो गर्नुहोस र उसो गर्नुहोस भनेर भाषणमा मात्र भन्यो । मापदण्ड र भनेका कुराहरु सरकारले नै पालना गरेन । हुनत जसलाई कोरोना लागेको छैन उसलाई मतलव नहोला तर जसको घर परिवारमा कोही विरामी भएको छ वा मृत्यु नै भएकोछ उसले महसुस गरेको छ । उसले भोगेको छ । सडकमा कुचो लाउने, हामीजस्ता डाक्टर अर्थात फ्रन्ट लाइनमा जो खटिरहेको छ उसले मात्र कोरोना के हो भनेर बुझेको छ र तनाव भोगेको छ । वास्तवमा यतिबेला नेपालका अस्पतालमा बेड नै छैन । जनशक्ति छैन, प्रयोग गर्ने औषधि छैन, तनाव हामीले ब्यहोर्नु परिरहेको छ । बेडको अभावमा एम्बुलेन्समा दौडिदा दौडिदै विरामीको मृत्यु भइरहेको छ । यसको जिम्मेवार को ? हामी डाक्टरले मात्र अब के गर्ने ? हामी डाक्टर वा स्वास्थ्यकर्मीहरु भातपानी नभनी, परिवार आफन्त नभनी खटिरहेका छौं, हाम्रो पीडा कसले बुझ्ने, सरकारले बुझ्यो ?

सरकारले त कोभिड अस्पताल निर्माण गरिरहेको छ, अन्य सबै कुराको ब्यवस्थापन गरिरहेका छौं भनिरहेकै छ त ?
भनेर मात्र हुन्छ, व्यवहारमा लागु गर्नुपर्दैन ? अस्पताल निर्माण हुँदैछ भने कहाँ भइरहेको छ ? वीर अस्पतालमै बेडको अभावमा विरामी छटपटाइरहेका छन् । भनाइ र गराइको वास्तविकता फरक छ । पीसीआर पोजेटिभ वा नेगेटिभ जे आएपनि विरामीलाई अस्पतालमै समस्या भइरहेको छ । उपचार पद्धती वा ब्यवस्थापन सरकारले गर्नुपर्ने होइन र ? कोभिड लागेको वा कोभिड लागेर सन्चो भएकाहरुलाई सोध्नुहोस न । पीडा, दुःख कस्तो छ, अवस्था कस्तो छ भन्ने त्यही थाहा भइहाल्छ नी । अवस्था यति जटिल भइसक्दा पनि कोभिड र ननकोभिड अस्पताल छुट्याउन सरकारले किन सक्दैन ? विज्ञसँग बुझेर सरकारले कदम चाल्न किन सक्दैन । 

नेपालीहरु स्वयं सचेत नभएर वा हेलचेक्रयाइ गरेर महामारी फैलिरहेको हो त त्यसो भए ?
सचेत नभएको हो । तर सरकारले सचेतना जगाउनुपर्ने वा प्रचारप्रचार गरेर नागरिकलाई सचेत गराउनुपर्ने होइन र ? सरकारले एउटा मापदण्ड वा निर्देशिका बनाएर एक्सनमा काम गर्नुपर्ने होइन र ? यस्तो तरिकाले कहिले नियन्त्रण होला र ?

प्रधानमन्त्री ओलीले भने झै बेसार पानी र गुर्जो पानी पिउँदा कोरोना संक्रमण हुँदैन भन्नेबारे तपाईको बुझाइ के छ ?
बेसार पानी र गुर्जो पानी पिउनु नराम्रो होइन । यसले रोग प्रतिरोधात्मक क्षमताको विकास गराउला तर संक्रमितको संख्या त बढिरहेकै छ । कोरोनाको उपचारको विधि यो हो भन्ने ठ्याक्कै कसैलाई पनि थाहा छैन । बेसार पानी, गुर्जुपानी पर्याप्त होइन । संक्रमितको संख्या रोकिएको छैन । मैंले दुईसय कोरोना विरामी हेरें होला, त्यसमध्ये एकसय लाई घर पठाउन सकियो । तर सरकारले धेरै कुरामा कमजोरी गर्यो । डाक्टर वा स्वास्थ्यकर्मी, प्रहरी अर्थात फ्रन्टलाइनमा खटिनेहरु जसरी सरकारमा बसेकाहरु किन खटन सक्दैनन ? विरामीले दुःख त पाइरहेका छन । हामी चिकित्सा क्षेत्रका स्टाफहरुले कति खट्यौं होला, कति दुःख भोग्यौं होला हाम्रो कसले मूल्यांकन गर्छ । परिवार आफन्त सबै छाडेर हामी खटिएका छौं । चाडपर्व भनेका छैनौं । हामी खुशी हुने अवस्था छैन । जस कसैले दिंदैन । हामीजसरी नै माथि बस्नेहरुले पनि खटनुभयो राम्रो हुन्थ्यो । माथि बसेर बोल्दैमा समस्या समाधान हुँदैन । कार्यान्वयन हुनुपयो ।

कार्यक्षेत्रमा खटिंदाको अनुभवका आधारमा कोरोनाले कस्ता ब्यक्तिलाई धेरै आक्रमण गर्दोरहेछ ?
जसको दम, फोक्सो, मुटुलगायतका समस्या छ त्यस्ता ब्यक्तिहरु धेरै संक्रमित देखिन्छन । बृद्ध ब्यक्तिहरुमा प्रतिरक्षा क्षमता कम छ उसमा संक्रमण सरिहाल्छ । यतिबेला एकठाउँमा पिसीआर हेर्दा पोजेटिभ देखिन्छ । अर्कोठाउँमा चेकगर्दा नेगेटिभ देखिन्छ यसले हामीलाई नै अन्योल बनाइरहेको छ । यसबारे गम्भीर अध्ययन आवश्यक भइसकेको छ । 

यो भाइरसको संक्रमण दर कहिलेबाट कमी आउँला ? तपाइको बुझाइ वा अध्ययनले के भन्छ ? 
यो घट्ने संभावना छैन । नेपालमा जुन मोडालिटी अपनाइयो यसले संक्रमण रोक्न सकिन्न । जुनबेला लकडाउन हुनुपर्ने त्यसबेला भएन । नहुनु पर्ने बेलामा भयो । नेपालको अवस्था दर्दानाक बन्दै गइरहेको छ । भित्रभित्रै अवस्था भयावह भइरहेको छ । यसको रोकथामका लागि नागरिकहरु बेलैमा सचेत हुनैपर्छ । सरकार गम्भीर बन्नैपर्छ ।

अन्य रोगका कारण अस्पताल भर्ना भएका अधिकांश विरामीको पीसीआर रिपोर्ट पोजेटिभ देखिन्छ, खास के कारण हो ?
त्यो विरामीको प्रतिरोधात्मक क्षमता कम भएर हो । सामान्य मानिसलाई भन्दा दिर्घरोगीहरुलाई छिटो संक्रमण हुन्छ । कतिपयले त आसोलेसन बसेरपनि निको भएका छन् । समग्रमा दिर्घरोगीहरु अस्पताल भर्ना भएभने कोरोना पोजेटिभ देखिनु नौलो रहेन । 

आम नागरिकहरुलाई कोरोना भाइरसबाट बच्ने उपाय बताइदिनुहोस न ?
हामी चिकित्सकहरु भएरै पनि यसरी नै यो भाइरस रोकथाम हुन्छ र बच्न सकिन्छ भनेर भन्न सक्दैनौं । तर सामाजिक वा भौतिक दुरी कायम गर्नुपर्छ । स्यानेटाइजर प्रयोग गर्ने र पटक पटक हात धुने गर्नुपर्छ । मास्क लगाउन पर्छ । आफूले लगाएको मास्क धेरै पटक छुनु हुँदैन । अनावश्यक भीडमा जानु हुँदैन । मेन्टेन गर्नसक्नुपर्छ । कोभिड लागेको मान्छे सार्वजनिक रुपमा हिड्नु हुँदैन । त्यसरी हिड्नु अपराध हो ।  यी भए नागरिकले गर्ने सावधानीका कुरा । तर अब सरकार गम्भीर बनेन भने धेरै नेपाली अकालमा मर्ने निश्चित छ । भाइरसका बारेमा सरकारले सन्देश प्रभाव गर्नसक्नुपर्छ । के गर्दा संक्रमण दर घटाउन सकिन्छ त्यसका लागि मोडालिटी राज्यले बनाउनुपर्छ । यतिबेला चाडपर्वले काठमाडौंमा भीड कम भएपनि धेरै मानिस गाउँमा गएकाले गाउँमा संक्रमण फैलिन सक्छ । सरकारले त्यो बुझ्नुपर्छ । निर्देशन जारी गर्नुपर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ