arrow

काम देखाउन हतारोले बाँके प्रहरीले गलत मुचुल्का बनाई फसाएको सर्वसाधारणको आरोप

घुस नदिएपछि तस्कर बनाइदिएको गुनासो

logo
सौरभ गिरी,
प्रकाशित २०७७ कार्तिक १५ शनिबार
banke-police-alligation.jpg

नेपालगञ्ज । बुधबार राति नेपालगञ्ज बसपार्क क्षेत्रबाट बाँके प्रहरीले १० जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गर्न सफल भयो । विश्वासिलो सूचनाका आधारमा जुवा खालमा छापा मारेको प्रहरीले झण्डै ३० लाख नगद पनि बरामद गर्न सफल भयो । जुवा रोक्न असफल भइरहेको आरोप खेपेको बाँके प्रहरीलाई यो एउटा घटनाले जुवा विरुद्ध बाँके प्रहरी आक्रामक छ भन्ने सन्देश दियो । सबैतिर बाँके प्रहरीको वाहवाही भयो ।

लाखौको जुवा खेलिरहेको अवस्थामा पक्राउ परेकालाई जुवा ऐन अनुसार कानुनी कारवाहीको पाटो त अघि बढेकै भएपनि जुवाको खालबाट पक्राउ परेकालाई बाँके प्रहरीले आतंककारी झैं व्यवहार गरिरहेको हिरासतमा रहेकाहरुको परिवारजन तथा आफन्तहरुले गुनासो गरेका छन् । “बाँके प्रहरीको यो कस्तो दादागिरी हो, नियमित खाने औषधि दिनलाई भेट्न खोज्दा पनि शुक्रवार साँझ प्रहरीले घन्टौ भेट्न दिएन, जुवाखालबाट पक्राउ परेकालाई आतंककारी जस्तो व्यवहार गरेर हामीलाई भेट्न दिइएन,” एक जना आफन्त झनक बस्नेतले भने–“कानुन अनुसार कारवाही गर्ने पाटो त छँदैछ, परिवारका सदस्यले भेट्न खोज्दा, खाना दिन खोज्दा अनिबार्य क्यान्टिनको खाना खानुपर्छ भन्ने, नियमितरुपमा नखाई नहुने औषधि दिनुछ भन्दा पनि प्रहरीले भेट्न नदिनु यो कस्तो दादागिरी हो, मानव अधिकारको संरक्षण गर्ने भूमिकामा रहेको प्रहरी स्वयम् यसको हनन् गर्दैछ।”

बाँके प्रहरीले पछिल्लो समय कानुन विपरितका काम गर्नेहरु वा अपराध कर्ममा रहेकाहरुलाई धमाधम पक्राउ गरिरहेको देखिएपनि सामान्य मानिसहरुलाई अनावश्यक दुःख दिँदै आफनो काम देखाउने प्रबृत्तिमा लागेको आरोप लाग्न थालेको छ ।गत असोज २१ गते नेपालगञ्जको बसपार्कबाट राप्तीसोनारी ७ स्थित आफ्नो पसलका लागि ३ बोरा केराउ लैजाँदै गरेका एक स्थानीय व्यापारीलाई बाँके प्रहरीले जबर्जस्त तस्कर बनाएको खुलेको छ । पसलमा विक्रि गर्नका लागि केराउ लैजाँदै गरेका स्थानीय ती व्यापारीसँग ड्युटीमा रहेका प्रहरीले डुडुवाको वडा नम्बर ४ कम्दी मिलनचोकमा रोकेर एक हजार रुपैयाँ मागेका थिए । ती व्यापारीले पैसा नदिएपछि बाँके प्रहरीले नाटकीयरुपमा उनलाई फसायो । भारतबाट भन्सार छली गरेर उक्त केराउ ल्याएको मुचुल्का उठाई उनलाई जबर्जस्त ल्याप्चे लाउन लगाइयो । “मलाई प्रहरीले तस्कर बनायो, एक हजार रुपैयाँ नदिनु मेरो अपराध भयो,” उनले भने, “म जस्ता सर्वसाधारणलाई प्रहरीले धेरै दुःख दिने गरेको छ, हामीलाई अपराधी जस्तो व्यवहार गरिन्छ ।” जवकि नेपालगञ्जबाट विभिन्न नाका हुँदै भारततर्फ केराउ तस्करी हुने गर्दछ, एउटा निर्दोष व्यक्तिलाई फसाउन गलत मुचुल्का उठाई प्रहरीले आफ्नो चरित्र उदांगो पारेको छ ।

बाँकेको कमाण्ड सम्हालेका प्रहरी प्रमुख ओमबहादुर रानाले तथ्यांक र प्रचारबाजीले आफूलाई अब्बल प्रहरी अधिकृतका रुपमा प्रमाणित गर्न भगिरथ प्रयत्न गरिरहे पनि कुरा आम नागरिकका पीडाको कथाले बाँके प्रहरीको छविमा भने असर पर्ने बाँके प्रहरीको गतिविधिलाई नजिकबाट नियालिरहेकाहरु बताउँछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ