arrow

बारका आधारमा प्रशासन सेवा दिँदै दार्चुला, यस्तो छ तालिका

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७७ कार्तिक १७ सोमबार
darchula-cdo-office.jpg

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले बारका आधारमा सेवा प्रवाह गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रशासनले कार्यालयबाट बारका आधारमा सेवा प्रवाह गर्ने भएको हो । 

प्रशासनले आइतबार एक सूचना जारी गर्दै जिल्लाका नौ वटै स्थानीय तहका सेवाग्राहीलाई अलग अलग बार तोकेर सेवा दिने जनाएको छ । कार्यालयमा सेवाग्राहीको भिडभाड बढ्दा कोरोना संक्रमणको जोखिम हुने भन्दै सेवाग्राहीको भिडभाड कम गरी संक्रमण फैलिन नदिन प्रशासनले यस्तो योजना बनाएको हो । 

कोरोना महामारीको जोखिमबाट बच्न सोमबारदेखि लागू हुने गरी बार अनुसार सेवा प्रवाह गरिने सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीको भनाइ छ । 

जिल्ला प्रशासन कार्यालयले आइतबार र सोमबारमा महाकाली नगरपालिका, दुहुँ र ब्याँस गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिने सुचना मार्फत जनाएको छ । 

यस्तै मंगलबार र बुधबारमा शैल्यशिखर नगरपालिका, मालिकार्जुन र लेकम गाउँपालिकाका सेवाग्राहीलाई र बिहीबार र शुक्रबार अपिहिमाल, मार्मा र नौगाड गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गर्ने जनाइएको छ । 

यसअघि पनि जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन २५ गते देखि केही समय बारका आधारमा सम्बन्धित स्थानीय तहका सेवाग्राहीलाई सेवा दिएको थियो । 

सेवाग्राहीले सेवा लिन आउँदा मास्क, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गरेर मात्रै कार्यालय भित्र प्रवेश गर्न भनेको छ । 

सेवाग्राही कार्यालय भित्र पसेपछि कार्यालयले तोकेको ठाउँमा बस्नु पर्ने तथा कम्तीमा पनि दुई मिटरको भौतिक दूरी कायम गर्नु पर्ने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ