arrow

हरिवन–क्यानेश्वर पक्की सडक निर्माण अभियान तत्काल संचालन गर्न कांग्रेसको माग 

logo
प्रकाशित २०७७ कार्तिक १७ सोमबार
123118547_1554689908049778_.jpg

सर्लाही । नेपाली कांग्रेस हरिवन नगरका युवाहरुको नेतृत्वमा सर्लाहीको हरिवनबाट सिन्धुलीको क्यानेश्वर जोड्ने सडकलाई नाला सहितको पक्की सडक निर्माण अभियान सुरु गरेका छन् । कांग्रेस हरिवन नगरका  युवाहरुको नेतृत्वमा उक्त सडकखण्डलाई पक्की बनाउने अभियान सूरु गरिएको नेपाली कांग्रेसका नेता एवं पूर्व जिल्ला उपसभापति विनोद खनालले जानकारी दिए ।

शनिबार सिन्धुलीको क्यानेश्वरसम्म यात्रा गरेर साँझ फर्किएका कांग्रेसी नेताहरुले आईतबार हरिवनमा पत्रकार सम्मेलन गर्दै अभियानबारे जानकारी गराएका छन् । पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेता खनालले हरिवन–क्यानेश्वर पक्की सडक निर्माण गरी हरिहरपुरगढी गाउँपालिका अन्तर्गत मदन भण्डारी मार्ग (धरान–चतरा–हेटौंडा वैकल्पिक मार्ग) सँग जोड्ने कांग्रेसको अभियान सुरु गरिएको जानकारी दिए ।

‘समाजको विकासको लागि सडक संजालको महत्वपूर्ण भूमिका हुन्छ’, नेता खनालले भने, ‘लिंक रोडहरु नभई विकास सम्भव छैन, त्यसैले दक्षिणमा भारतीय सीमास्थित विष्णु गाउँपालिकाको सिमरा फेनरा नाका तथा उत्तर मदन भण्डारी मार्ग जोड्ने सेतुको रुपमा हरिवन–क्यानेश्वर सडकखण्डलाई पक्की बनाउनु अत्यन्त जरुरी छ ।’ 

मरिन डाईभर्सनको चर्चा अनि फास्ट्रयाकसँग जोडिने मदन मण्डारी मार्गसँग सिधै भारतसम्म जोडिने सडक सञ्जालको रुपमा हरिवन–क्यानेश्वर–मदनभण्डारी मार्ग सडकखण्ड पक्की गर्नु दुरगामी महत्व रहेको समेत खनालको जोड थियो । उनले कांग्रेसले सुरु गरेको अभियान अन्तर्गत सबै राजनैतिक दलका नेताहरु, उद्योगी व्यापारी लगायत सरोकारवाला सबै पक्षलाई समेट्दै हरिवन नगरपालिकाका मेयर, प्रदेश सरकार सहित संघीय सरकारमा पक्की सडक निर्माणका लागि ज्ञापन पत्र दिने तयारी भईरहेको खनालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठले क्यानेश्वर लगायत त्यस क्षेत्रका थुप्रै गाउँका जनताको सुविधाका लागि मात्र नभई समग्र हरिवनको आर्थिक विकासका लागि पनि हरिवन–क्यानेश्वर सडकखण्ड स्तरोन्नति अनिवार्य रहेको धारणा व्यक्त गरे । 

उक्त सडकखण्ड स्तरोन्नतीका लागि आफूपनि महिनौंसम्म सिंहदरबार धाएको स्मरण गराउँदै सबै पक्ष, तह र तप्का एकजुट भई नलागेसम्म सम्भव नरहेको श्रेष्ठको भनाई थियो ।त्यस्तै चेम्बर अफ कमर्स हरिवनका अध्यक्ष कृष्णओम पोतेले पनि हरिवन–क्यानेश्वर सडकखण्ड स्तरोन्नतीको विकल्प नरहेको उल्लेख गर्दै सबै एकजुट हुन र आफूहरुको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए । 

हरिवन र क्यानेश्वर लगायत मरिन सम्मका बासिन्दाबीच सदियौंदेखि सम्बन्ध रहेको र सडक स्तरोन्नती भए सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा बोल्दै हरिहरपुर गढी गाउँपालिका–७ का वडाध्यक्ष बालकृष्ण नेपालले २०५१ सालदेखि हरिवन–क्यानेश्वर सडकखण्ड पक्की निर्माणका लागि लागि परेको र विगत १० वर्षदेखि त अहोरात लागि परेको बताए । ‘हरिवन–क्यानेश्वर १३ किलोमिटर सडकखण्डको डीपीआर गराईसकेका छौं, अब क्यानेश्वर देखि मदन भण्डारी मार्ग जोडने १८ किलोमिटर सडकखण्डको पनि डीपीआर तयार पार्न पनि हाँमी तयार छौं’, नेपाली कांग्रेसका नेता समेत रहेका क्यानेश्वर निवासी वडाध्यक्ष नेपालले भने, ‘अब संघ, प्रदेश र स्थानीय लगायत सबै तहका सरकारबाट डीपीआर अनुसारको बजेट पार्नका लागि सबै दलका नेता, उद्योगी व्यापारी लगायतसँग अनुरोध गर्दछु ।’ 

हरिवन र क्यानेश्वरबीच सामाजिक, आर्थिक लगायत हिसाबले सदियौंदेखिको सम्बन्ध भएकाले दुवै ठाउँको विकास र समृद्धिका लागि हरिवन–क्यानेश्वर सडकखण्ड व्यवस्थित हुनुको विकल्प नरहेको वडाध्यक्ष नेपालको धारणा थियो ।
त्यसैगरी हरिवन नगरपालिकामा कांग्रेसबाट मेयरका प्रत्यासी दिलिप राज भण्डारीले राजनीति गर्ने भनेको विकास र समृद्धिका लागि भएको उल्लेख गर्दै सबै राजनैतिक दलका नेताले निस्वार्थ भावका साथ हरिवन–क्यानेश्वर सडकखण्ड स्तरोन्नतीका लागि एकजुट भएर पहल गर्नुपर्ने धारणा व्यक्त गरे । पदमा नपुगुञ्जेल यो गछु र त्यो गर्छु भन्ने नेताहरुले जनताबाट निर्वाचित हुने वितिकै विकासका कुरा चटक्क विर्सने प्रवृत्तिका कारण मुलुकले समृद्धि प्राप्त गर्न नसकेको राज भण्डारीको तर्क थियो ।

त्यस्तै कांग्रेसका युवा नेता विनोद कार्कीले सडक स्तरोन्नती नहुँदा हरिवन–क्यानेश्वर सडकखण्डमा मात्र हालसम्म २५ जना बढीले ज्यान गुमाउनु परेको जानकारी दिए । ‘अत्यन्त खराब सडकका कारण क्यानेश्वर लगायत त्यस क्षेत्रका बासिन्दाले महंगो भाडा तिरेर अत्यन्त जोखिमपूर्ण यात्रा गर्नु परिरहेको छ’, कार्कीले भने, ‘दुर्घटनाका कारण २५ जना बढीले ज्यान गुमाईसकेका छन्, त्यसैले अब सबै मिलेर यो सडकखण्ड स्तरोन्नती गर्नुको विकल्प छैन ।’
पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस निकट नेविसंघका नेता रघु कार्कीले हरिवन–क्यानेश्वर सडकखण्ड स्तरोन्नतीका लागि प्रतिपक्षमा भएपनि कांग्रेसले नेतृत्व गर्नुपर्ने धारणा राखे । ‘विगतमा पनि प्रतिपक्षमै रहेको अवस्थामा कांग्रेसकै नेतृत्वमा हरिवन–पटौना (सासापुर) जोड्ने करोडौंको पुल बनेकै हो’, कार्कीले भने, ‘त्यसैले अहिलेपनि प्रतिपक्षमै रहेको अवस्थामा सबै दलका नेता, उद्योगी व्यापारी लगायतसँग समन्वय गर्दै हरिवन–क्यानेश्वर सडकखण्ड स्तरोन्नतीका लागि अगुवाई गर्न पछि पर्न हुदैन ।’

कार्यक्रममा सहभागीलाई धन्यवाद प्रकट गर्दै प्रजातान्त्रिक समाज सर्लाहीका अध्यक्ष एवं कांग्रेस वित्तीय विभागका केन्द्रीय सदस्य रामहरि न्यौपानेले समानुपातिक विकासका लागि आफूहरु लागि परेको जानकारी दिए । 

‘हरिवन र क्यानेश्वर, वरुण, क्यान वरुण, मरिन लगायतका बासिन्दा बीच सदियौंदेखिको सम्बन्ध छ, त्यसैले हरिवनमा मात्र ठूलो बजार अनि भौतिक निर्माणको काम भएर हुँदैन’, उनले भने, ‘क्यानेश्वर, वरुण लगायतमा पनि आर्थिक, सामाजिक र भौतिक विकास हुनु जरुरी छ । त्यसका लागि हरिवन–क्यानेश्वर–मदन भण्डारी मार्ग जोड्ने सडक पक्की नभई हुँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ