arrow

प्रचण्डले फोन गरेर बोलाउँदा पनि गएनन बादल

प्रचण्डलाई नै किन अटेर गरिरहेछन् बादलले ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २३ आइतबार
oli-prachanda-badal.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सदस्यले दुईदिनभित्र सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरे । शुक्रबार र शनिवार बहुमत सदस्यहरु पार्टी कार्यालयमा भेला भइ शनिवार बालुवाटारमा पुगी ओलीलाई सो आग्रह गरेका हुन् । धुम्बाराहीमा भएको अनौपचारिक छलफलपछि लिखित पत्रसहित बालुवाटार पुगेका पाँचजना सचिवालय सदस्यहरुले दुईदिनभित्र सचिवालय बैठक राख्न माग गर्दा पनि प्रचण्ड पक्षको तर्फबाट सरकारमा सहभागी भएका रामबहादुर थापा वादल भने मौन बसे । उनी प्रचण्डले बोलाएको अनौपचारिक सचिवालय बैठकमा समेत गएनन । 

हप्तामा दुईदेखि तीन दिन खुलमटार जाने वादल केही दिन यता खुमलटार पनि गएका छैनन । खुमलटार पुगेर प्रचण्डलाई आफू साथमै रहेको वचन दिइरहेपनि प्रचण्डले बोलाएको अनौपचारिक सचिवालयमा नगएपछि प्रचण्ड झस्किएका छन् । पार्टीभित्र ओली, प्रचण्ड र माधव नेपालपछि वादलकै होल्ड रहेको छ । ४ सय ४५ केन्द्रीय सदस्य मध्ये ३७ जना वादल समूह निकट छन् । प्रदेश र अन्य विभागमा पनि वादलले पछिल्ला दिनमा राम्रै पकड राखेका छन् । ‘शुक्रबार र शनिवार विहानको अनौपचारिक बैठकमा वादल जानु भएन उहाँले यसरी गुटबन्दीको भेला नगरौ भन्दै आउनु भएको छ’, उनी निकट एक सदस्यले भने । ती सदस्यका अनुसार सरकार हुँदासम्म केपीको पक्षमा लाग्ने र सरकारबाट बाहिरिदा पूर्व माओवादीमै रहने वादलको नीति रहेकाले अहिले उनी मौन बसेका हुन् । सरकार गठन भएको ६ महिनादेखिनै प्रचण्डले वादललाई सरकारबाट हटाउनु भन्दै ओलीसँग प्रस्ताव राखेका थिए तर ओलीले हटाउन नचाहेपछि अहिले ओलीलाई सरकारबाट हटाउनु हुदैन भन्ने नीतिमा वादल स्पष्ट रहेका छन् ।  

शुक्रबार र शनिवार दुवै दिनको अनौपचारिक छलफलमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए । सो छलफलमा नगएका बादल खुमलटारमा हुने सामूहिक भेलामा पनि अचेल खासै सहभागी हुँदैनन । बरु उनी एक्लै खुमलटार पुग्ने गरेका छन् । प्रचण्डले शुक्रबार बोलाएको अनौपचारिक भेलामा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री वादल अनुपस्थित भए ।

प्रचण्ड आफैले फोन गरेर वादललाई बोलाएका थिए । तैपनि उनले त्यो भेलालाई बहिष्कार गरिदिए । असन्तुष्ट समूहका नेताहरुले प्रधानमन्त्री ओली पक्षबाट प्रचण्डलाई लगाउँदै आएको आरोपको जवाफ दिन र विवादका विषयलाई संस्थागत ढंगबाट सम्बोधन गर्ने प्रयासस्वरुप सचिवालय बैठक बोलाएर विवादलाई संस्थागत निकास दिन प्रचण्डले सचिवालय सदस्यहरुको अनौपचारिक भेला बोलाएका थिए । तर शुक्रबार शनिवार दुवै दिन वादलले प्रचण्डलाई धोका दिए । तर वादलले पूर्व माओवादी समूहका नेताहरु देव गुरुङ, पम्फा भूषाल, कुलबहादुर केसी, सूर्य सूवेदीहरुलाई छाड्न नसक्ने भएकाले अन्तिम निर्णय भने उनीहरुले भनेकै आधारमा गर्ने वादल निकट स्रोतले जनाएको छ । 

विवाद बढ्दै जाँदा वादलले एक हप्ता अघि चार बूँदे प्रस्ताव राखेर विवाद निरुपण गर्ने बताएका थिए । उनले दुवै अध्यक्षलाई भेटेर दुई वटा समूह बनाएर पार्टी अलग गराउने विषयमा छलफल नगर्न आग्रह गरेका थिए । गत हप्ता दुवै अध्यक्षलाई भेटेर उनले चार वटा प्रस्ताव राख्दै वालुवाटार र खुमलटारमा गुटको भेला नगर्न र पार्टी फुटाउने हल्ला नगर्न आग्रह गरेका थिए । वालुवाटार र खुमलटार पुगेर उनले दुवै अध्यक्षलाई चार वटा प्रस्ताव राखी आफू कतैकोपनि गुट भेलामा सहभागी नहुने संकेत गरेका थिए । उनले स्थायी कमिटी बैठकको निर्णय अक्षरस पालाना गर्नुपर्ने, दुवै अध्यक्षले गुटगत भेला रोक्नुपर्ने, स्थायी कमिटीको निर्णय पालाना गर्ने भन्दा उल्लंघन गर्ने परिपाटी रोक्नुपर्ने, निर्णय कार्यान्वयनमा दुवै अध्यक्षको दायित्व पूरा गर्नुपर्ने तथा सचिवालय बैठक, स्थायी कमिटी र केन्द्रीय कमिटी जस्ता बैठकबाट विवाद निरुपण गर्नु प्रस्ताव राखेपछि प्रचण्डले बोलाएको अनौपचारिक सचिवालय बैठक बहिष्कार गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ