arrow

राजनीतिमा विनोद चौधरी: अर्थनीति र समृद्धिको बन्नसक्छन ‘मियो'

कांग्रेस महाधिवेशन हुनसक्छ सक्रिय राजनीतिको प्रवेशविन्दु

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २४ सोमबार
binod_chaudari.jpg

गतबर्ष बैशाखको दोस्रो साता हुनुपर्छ नेपाली कांग्रेसका नेता एवं सांसद विनोदकुमार चौधरी त्रिभुवन विश्वविद्यालयको एउटा सभाहलमा करिब १५ सय विद्यार्थीमाझ बोलिरहेका थिए । उच्च शिक्षाको अध्ययन गरेर देशमै केही गर्ने सपना बोकेका ती विद्यार्थीहरु विनोदको प्रवचन सुनेर लठ्ठ थिए । खचाखच हल मौन प्राय थियो । वहुराष्ट्रिय कम्पनी सीजीलाई विश्वस्तरीय बनाउँदाको कथा त छँदै थियो त्यो भन्दापनि राजनीतिमा होमिएर नेपाललाई कसरी समृद्धिको बाटोमा डोहोर्याउन सकिन्छ भन्ने योजना सुनाइरहँदा विद्यार्थीहरु तालीको पर्रा छुटाउँथे ।

हुनपनि विनोद चौधरी जब राजनीतिमा होमिए तबदेखि उनी समृद्ध र समुन्नत नेपालको परिकल्पनामा तल्लिन छन् । सीजी ग्रुपलाई जसरी सफलताको सिंढीमा उकाले त्यसैगरी नेपाललाई समृद्धीको आकार दिन उनी महत्वकांक्षी योजनाहरुका साथ तयार रहेको उनको प्रस्तुतीबाट बुझ्न सकिन्छ । तीनै योजनाहरुको सार विद्यार्थीहरुमाझ सुनाइरहँदा सुन्नेहरु मन चंगा भएको अनुभुत गर्थे । विश्वब्यापी धनाढ्यहरुको सूचीमा सूचिकृत भएको एउटा व्यवसायी किन राजनीतिको समुन्द्रमा हामफाल्यो भन्ने जिज्ञासा उनले सुनाएका सपनाहरुबाट काफी हुन्छ ।

अझै विकासोन्मूख नै रहेको नेपालमा थुप्रै सरकारहरु फेरिए । दर्जनौं मन्त्रीहरु झन्डावाला गाडीमा हुइँकिए । सिंहदरबारमा धेरै जना प्रधानमन्त्रीका तस्वीरहरु टांगिए । धेरैवटा घोषणापत्रमा मुलुक समृद्धीको सपनाहरु बाँडियो । स्थीर सरकारको म्यान्डेट लिएर आएका बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सपना बाँडदा बाँड्दै थाकिसके । तर विनोद सपना पूरा गराउने आँट देखाउँदै सीजीलाई झैं मुलुकलाई समृद्धीको दिशामा अघि बढाउने स्पष्ट म्यान्डेट आफूसँग तयार रहेको दावा गरिरहेका छन् । 

विनोद भन्ने गर्छन, ‘कुनै पनि देशको विकासका लागि राजनीति सही दिशामा चल्नुपर्छ। सबै कुरा ठीकठाक भएपनि राजनीति बिग्रियो भने देश बन्दैन । त्यसैले राजनीतिलाई जनता र समृद्धीसँग जोड्ने संकल्प लिएको छु ।’ शुरु शुरुमा विनोदलाई नेपाली राजनीति भित्रको वेथिति उतिसारो ज्ञान थिएन तर अहिले त्यसलाई पनि राम्ररी चिन्न थालिसके । त्यसैले ति वेथितिलाई चिर्न सक्ने सामर्थ्य आफूसँग रहेको उनले बताउन थालेका छन् । कांग्रेस पार्टी आफ्नो एउटा लक्ष्य र बाटो तय गरी आफूले नेतृत्व गरेको सीजी ग्रुपझैं चल्नुपर्छ भन्ने उनी ठान्छन् । र मुलुकु पनि सोही अनुसार सिस्टममा चलाउनुपर्ने उनको मत छ । विश्वव्यापी रुपमा विस्तार भइरहेको सीजीझैं पार्टी चल्यो भने देश पनि चल्छ भन्ने उनको बुझाइ छ ।  विनोदको काम गर्ने शैलीलाई नजिकबाट बुझेकाहरु भन्छन्, ‘ राजनीतिमा बइसकेका विनोदलाई त्यहि राजनीतिको मुलधारमा उभ्याउन नसक्नु पार्टीहरुको दुर्भाग्य हो, उनको भिजन र मिसनलाई आत्मसात गर्न सके वास्तवमै त्यो पार्टीलाई गती अवश्य मिल्नेछ ।’ यद्यपी, विनोद यतिबेला कांग्रेसको फ्रन्टलाइनमा देखिन्छन् । उनको सक्रियताप्रति कतिपय बेखुस रहेपनि बहुसंख्यक खुशी छन् भनिन्छ ।

कांग्रेसमा विनोदको भूमिका के ?

मुलुक संघीयतामा गइसकेपछि ‘गाउँ गाउँमा सिंहदरबार’ भन्ने नारा खुबै घन्काइएको थियो । प्रतिनिधि सभा, राष्ट्रिय सभा, स्थानीय तहका निर्वाचनहरुपछि बहुमत प्राप्त नेकपा सरकारले लिएको बाटो र सत्ताको बागडोर सम्हालिसकेपछि देखिएका उपलब्धीहरु अनि जनताले भोगेका दुःखहरुलाई मात्र मूल्याकंन गर्ने हो भने सत्तारुढ नेकपाको विकल्प खोजिनुपर्छ भन्ने बहस चर्किरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी कार्यशैलीको विरोध गरेपनि आफ्नै स्पष्ट भिजन दिन भने कांग्रेसले सकिरहेको छैन ।

कांग्रेस राजनीतिको अग्रभागमा देखिएका पुराना अनुहारहरुले कांग्रेसलाई चमक दिन नसकिरहेको आरोप लाग्दासमेत पार्टीले नयाँ रणनीति अवलम्बन गर्न नसक्नु ठूलो कमजोरी भएको लेखक तथा विश्लेषक नारायण पौडेलको बुझाइ छ । उनी भन्छन्, ‘नयाँ अनुहार मात्र होइन भिजन र व्यवहारिक रुपमा सक्षम अनुहार कांग्रेसका लागि आवश्यक्ता हो ।’ आगामी राष्ट्रिय निर्वाचनमा कांग्रेसले तयार गर्ने अर्थनीति र घोषणापत्र मुलुकलाई समृद्धितर्फ डोहोर्याउने माध्यम भएकाले अर्थनीतिका लागि ब्यवसायमा सफल भिजनरी पात्रहरु खोजिनुपर्ने उनको सुझाव छ ।

एक्काइसौं शताब्दीजस्तो आधुनिक र डिजिटल युगमा राज्य, सरकार र दलका आधारभूत चरित्र र भूमिका कस्तो हुनुपर्छ भन्ने बहस हुनुपर्ने आवाज उठिरहेको छ । विश्लेषक पौडेलको विचारमा बेलायतको परिवर्तित परिवेशमा आर्थिक नीति स्पष्ट नहुँदा कुनैबेला त्यहाँको लेबर पार्टी र भारतमा कांग्रेस आइको हवीगत जस्तो देखिन्छ नेपाली कांग्रेस त्यस्तै नहोस भन्ने हामी सबैको चाहना हुनुपर्छ । त्यसैले स्पष्ट अर्थनीति र त्यसलाई कार्यान्वयनमा ल्याउने विनोद र विनोद जस्ता पात्रहरुको खोजी हुनुपर्ने माग उठ्न थालेको हो । पार्टी नेतृत्व जसले पार्टी र सरकारलाई एक सिक्काको दुई पाटाको रुपमा लिई आम नागरिकमा आशाको संचार गराउने विनोद जस्ता ब्यक्ति समेटिएको नेतृत्व पङतीले पार्टीलाई पुनस्थापित गराएर मुलुकलाई समृद्धीको बाटोमा हिंडाउन सकिने आम बुझाइ छ । सेरेमोनिय भूमिकामा सिमित विनोदलाई कांग्रेसको आसन्न महाधिवेशन सक्रिय राजनीतिमा पुर्‍याउने उपयुक्त फोरम हुनसक्छ।  

जिम्मेवारी पुरा गराइछाड्ने पात्र

नीति र नेतृत्व स्पष्ट भएपछि मिसन सफल बनाउन कुनै चुनौति नहुने विनोद चौधरीको अनुभव छ । कुनै समय एमालेबाट सांसद बनेर सदन छिर्दा उनले सुझावा दिए अनुसारको अर्थनीति धेरैहदसम्म उपयोगी सावित भयो । पछि कांग्रेसभित्र बसेर उनले जिम्मेवारी पाए अनुसार सुझाएको रणनीतिलाई सबैले ताली बजाए । जहाँ जहाँ विनोदले हात हाले त्यहाँ नयाँ तरंग ल्याइदिए । उनले भन्ने गरेका छन्– ‘गतिशील संगठन र वैचारिक नेतृत्व पार्टी पुनर्जीवनका अनिवार्य पूर्वसर्त हुन, त्यसैले यसमा गम्भीर होमवर्क गर्नैपर्छ ।’ उनको बुझाइमा परम्परागत राजनीतिक संस्कारलाई आधुनिक युग सुहाँउदो बनाउनुपर्छ ।

पछिल्लो समय कांग्रेसले विनोदलाई दिएको जिम्मेवारीलाई पनि लोभलाग्दो रुपमा पुरा गरिदिएका छन् । कोभिड–१९ का कारण प्रभावित लगानी, पूर्वाधार र रोजगारबारे अध्ययन गर्न चौधरीको नेतृत्वमा गठन गरेको समितिले तयार पारेको प्रतिवेदन पनि कोभिडपछि मुलुकलाई समृद्धीतर्फ डोहोर्याउने स्पष्ट खाकासहितको सुझावले कांग्रेसप्रति आम सर्वसाधारणको झुकावलाई केहि भएपनि बढाउने बताइन्छ । संसदमा पनि विनोदले प्रस्तुत गरेका विचारले नेपाली अर्थतन्त्रको क्षेत्रमा नयाँ तरंग ल्याउने गरेको छ । ‘उदार अर्थतन्त्रलाई बढावा दिन सानोतिनो ओखतिमूलो नभइ ठूलै शल्यक्रिया आवश्यक’ रहेको बताउने गरेका विनोदले मुलुकको अवस्था अनुसार अर्थनीति तयार गर्नुपर्ने धारण राख्दै आइरहेका छन् ।

सिंगापुर र मलेसियाको कथा

नेपाल भित्र मात्र होइन विदेशमा रहेका नेपालीहरुको प्रश्न गर्छन–‘नेपाल किन बनेन् ?’ ‘अरु देश किन सजिलै बने ?’ यसको स्पष्ट जवाफ आधुनिक सिंगापुरका पिता लि क्वान यु को ‘फ्रम थर्ड वर्ल्ड टु फष्टः द सिंगापुर स्टोरी’ पढ्दा छर्लङ्ग हुन्छ । यो पुस्तक उनको आत्मकथा भएपनि सिंगापुर कसरी आर्थिक समृद्धि र विकासमा सफल भयो भन्ने रोमान्चक कथा छ । त्यसैले त विश्वमा मात्र होइन नेपालको सबै तप्कामा लि क्वानको चर्चा हुन्छ । सन् १९६० को दशकसम्म हाल नेपालकै अवस्था ब्यवहोरेको सिंगापुर कसरी आजको अवस्थामा आइपुग्यो ? ‘बेष्ट सेलर’ बनेको पुस्तकभित्र स्पष्ट छ । आधुनिक युग सुहाउँदो अर्थनीति र विकासको खाका देशलाई सफल बनाउने कडी हो भन्ने कुरा पुस्तकले नै बोलेको छ । यसरी हेर्दा नेपालको समृद्धीमा ‘विनोद चौधरी–आत्मकथा’ एउटा माध्यम बन्नसक्छ । विनोदले पुस्तकमा आफ्नो आत्मकथा मात्र सुनाएका छैनन । सीजी सफल बहुराष्ट्रिय कम्पनी कसरी बन्यो भन्ने कथालाई जोड्दै नेपालको अर्थनीति कस्तो बनाउने भन्ने बलियो मियो बनेर उभिएको पाउन सकिन्छ ।

नेपालकै जस्तो आन्तरिक कलह र द्वन्द्व बेहोरेको मलेसियामा स्पष्ट र प्रभावशाली अर्थनीतिका कारण महाथिर मोहमद जसरी स्थापित बने यो नेपालका लागि पाठ बन्न सक्ने तर्क पनि गरिन्छ । त्यहाँका पूर्वप्रधानमन्त्री नजिब रजाक लाखौं डलर भ्रष्टाचार गरेर सत्ताच्यूत बन्नुपरेको थियो । अधिनायकवादी भनिए पनि व्यवहारिक नीतिहरुले महाथिरको शासनकालमा मलेसियालाई एसियाको आर्थिक शक्तिका रुपमा स्थापित गर्न सफल भएको इतिहास छ । सिंगापुर र मलेसियाको उदाहरणलाई मात्र हेर्ने हो भने नेपालको आर्थिक समृद्धी र विकासका लागि अर्थनीति नै प्रभावकारी हुनु जरुरी रहेको बुझ्न सकिन्छ ।

यी सबै कुराहरुका लागि नेपालमा हाल अवलम्वन गरिएको नीति र देखिएको व्यवहारिकताबाट स्पष्ट हुनुपर्ने अवस्था छ । किनकी सरकारी स्वामित्वमा चलिरहेका नेपालका ठूला उद्योग तथा उद्योगग्रामहरुको अवस्था धरासायी भइरहँदा नवलपरासीमा रहेको सीजी उद्योगग्राम एसियाकै एक नमूना बन्नु एक गतिलो उदाहरण पनि हो । यतिबेला नेपालमा थप ५० अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरिरहेको सीजी ग्रुपका संस्थापक विनोदलाई राजनीतिमा पूर्णकालिन जीवन विताउन ब्यवहारिक चुनौति रहेपनि सैद्धान्तिक र बैचारिक रुपमा कठिनाइ नहुने विश्लेषण गर्न थालिएको छ । प्राध्यापक तथा अर्थविद अच्युत अर्यालको विचारमा सफल ब्यवसायिहरु सक्रिय राजनीतिमा आएर मुलुकको अवस्था र परिवेश अनुसार रणनीति बनाएर कार्यान्वयनमा सफल हुन निकै कठिन छ । ‘तर जिम्मेवारी पाएर हिम्मतका साथ फिल्डमा उत्रिएर काम गर्नसक्नु नै उपलब्धी मान्नुपर्छ । विकासोन्मुख नेपालको परिवेशमा सोही अनुरुपको नीति बनाएर अघि बढ्दा व्यवसायमा झैं मुलुकको नेतृत्वमा सफल हुन समय लाग्दैन’, उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ