arrow

मधेसीदलका कार्यकर्ताद्वारा औषधि बोकेको ट्रकमा आगजनी

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1216999213.jpeg
वीरगन्ज। आन्दोलनरत मधेस केन्द्रीत दलका कार्यकर्ताले यहाँ औषधि बोकेको एउटा ट्रकमा आगजनी गरेका छन् । वीरगन्जको ओम आश्रमस्थित नेशनल ट्रेडिङ्ग लिमिटेड कार्यालय आगाडि औषधि बोकेको ना २ ख ८२९२ नम्बरको एउटा ट्रकमा आन्दोलनकारीले गएराति करिब एक बजे आगजनी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 
 
जिल्ला प्रहरी कार्यालयका अनुसार आगजनीबाट करिब रु. २० लाख मूल्य बराबरको औषधि जलेर नष्ट भएको छ । वीरगन्जबाट ट्रकमा लोड गरिएको उक्त औषधि जनकपुर पठाउने तयारी गरिरहेको बेला आन्दोलनकारीले आगजनी गरेका हुन् । 
 
यसैगरी, आन्दोलनकारीले आज बिहानैदेखि वीरगन्जका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् । तिहार र छठ पर्वलाई दृष्टिगत गरेर बन्द कार्यक्रमलाई केही खुकुलो बनाए पनि उनीहरुले आज बिहानैदेखि वीरगन्जका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । 
 
प्रदर्शनकारीले बिहानदेखि नै वीरगन्जको नगवा, बिर्ता, घन्टाघर, बसपार्क, मुर्लीचोक, राधेमाई चोक, रानीघाटलगायत सहरका विभिन्न भागमा बाटोमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन् । 
 
विभिन्न नारा लगाउँदै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले मोटरसाइकल, रिक्सा र टाँगासमेत चल्न नदिएको बताइएको छ । 
 
स्थिति अराजक हुन नदिन वीरगन्जमा व्यापक मात्रामा सुरक्षाकर्मीलाई परिचालन गरिएको र आवश्यक परे सम्पूर्ण उपाय अवलम्बन गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताउनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ