arrow

एक नम्बरमा सिफारिस भएपनि पाँच पटक रोकिएका दवाडीको सचिवमा बढुवा गर्न छैटौ पटक सिफारिश

logo
आकाश शर्मा,
प्रकाशित २०७७ मंसिर ६ शनिबार
gokarnamani-dawadi.jpg

काठमाडौं । लगातार पाँच पटकसम्म अन्यायमा पारिर्दै आएका सहसचिव  गोकर्णमणि दवाडीलाई सचिवमा बढुवा गर्न बढुवा समितिले छैटौं पटक सिफारिश गरेको छ । बढुवा समितिले छैटौ पटक पनि उनको नाम पहिलो नम्बरमा सिफारिश गरेको छ । स्रोतका अनुसार यसपटक पनि दवाडीको नाम पहिलो स्थानमा छ । दोश्रो नम्बरमा भरतराज सुबेदी र तेश्रो नम्बरमा सुमन अर्यालको नाम सिफारिश गरिएको छ । यी तीन जनामध्ये एक जनाको नाम छान्ने अधिकार मन्त्रिपरिषदमा रहन्छ ।  

दवाडी नेपाल कम्युनिस्ट पार्टी निकट नभएकै कारणले राजनीतिक प्रतिशोध साँध्दै सरकारले उनीमाथि ५ पटकसम्म अन्याय गरेको हो । सहसचिवबाट सचिवमा बढुवा गर्न बढुवा समितिको अध्यक्षता लोकसेवा आयोगका अध्यक्षले गर्ने कानुनमा व्यवस्था छ । उक्त समितिमा मुख्य सचिव र सामान्य प्रशासन मन्त्रालयका सचिव समितिको सदस्य हुने व्यवस्था छ । बढुवा समितिले एक पदकोलागि ३ जनाको नाम सिफारिश गर्ने छ । ३ जना मध्ये एक जनाको नाम छनौट गर्ने अधिकार मन्त्रिपरिषद्लाई हुन्छ । 

कानुन अनुसार तीन जनाबाट एक जनाको नाम छनौट गर्दा मन्त्रिपरिषदले आफ्नो विवेक प्रयोग गर्छ । तर विवेक प्रयोग गर्ने नाममा पहिलो नम्बरमा सिफारिश गरिएकालाई समेत पटकपटक अन्यायमा पारिदै आएको छ् । यसरी बारम्बार अन्यायमा पर्दै आएका दुवाडी हाल सूचना तथा सञ्चार मन्त्रालयमा कार्यरत छन्। यसपटक दवाडी सचिवमा बढुवा हुने सम्भावना रहेको दवाडी निकट एक कर्मचारी बताउँछन् ।  उनी भन्छन, ‘तर पनि अझै भन्न सकिन्न । चिठी हातमा नपर्दासम्म ढुक्क हुने स्थिति छैन ।’ उनीमाथि राजनीतिक पूर्वाग्रही साँधिएको हुन सक्ने उनको अनुमान छ ।

वरिष्ठताको हिसाबबाट दवाडी सधैं पहिलो नम्बरमा पर्दै आएका हुन् । तर सरकारले एक नम्बरमा सिफारिश गरिएकालाई वेवास्ता गर्दै कहिले दुई नम्बर र कहिले तीन नम्बरमा  सिफारिश गरिएकाहरुलाई बढुवा गर्दै आएको छ । सहसचिवबाट सचिवमा बढुवा हुनकोलागि बढुवा समितिले २०७६ माघमा तीन जनाको नाम सिफारिश गर्‍यो । समितिबाट रामशरण पुडासैनी, अर्जुन पोखरेल र दवाडीको नाम सिफारिश गरियो, तर सरकारले पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गर्‍यो । २०७६ फागुनमा सरकारले अर्जुन पोखरेललाई सचिवमा बढुवा गर्‍यो । दोश्रो पटक बढुवा समितिले पहिलो नम्बरमा दवाडी, दोश्रो नम्बरमा मानबहादुर विक र तेश्रो नम्बरमा बिष्णु नेपालको  नाम सिफारिश गर्‍यो । सरकारले तेश्रो नम्बरका नेपाललई सचिवमा बढुवा गर्ने निर्णय गर्‍यो ।

तेश्रो पटक सरकारले २०७७ असारमा मानबहादुर विकलाई सचिवमा बढुवा गर्ने निर्णय गर्‍यो । बढुवा समितिले त्योबेला पनि दवाडी, विक र मधु मरासिनीको नाम सिफारिश गरेकोे थियो । दवाडीको नाम पहिलो स्थानमा थियो तर सरकारले दोश्रो नम्बरका विकलाई सचिवमा बढुवा गर्‍यो । चौथो पटक २०७७ साउनमा बढुवा समितिले चन्द्रमान श्रेष्ठ, दुवाडी र मधु मरासिनीको नाम सिफारिश गर्‍यो तर सरकारले तेश्रो नम्बरका मरासिनीलाई सचिवमा बढुवा गर्ने निर्णय गर्‍यो ।  बढुवा समितिले पाँचौ पटक सचिवमा बढुवा गर्न चन्द्रमान श्रेष्ठ, दवाडी र वीरबहादुर राइको नाम सरकारलाई सिफारिश गर्‍यो । तर सरकारले तेश्रो नम्बरका राईलाई सचिवलाई बढुवा गर्‍यो ।

बढुवा समितिले प्रशासन समुहमा सचिवमा बढुवा गर्न एक पदकोलागि तीन जनाको नाम सिफारिश गरे पनि इञ्जिनियर, वन र कृषि समुहबाट कसैको नाम सिफारिश गरेको छैन । हाल इञ्जिनियरमा एक र वन तथा कृषि समुहमा पनि एक सचिव पद रिक्त रहेको छ । समितिले क्रमश अन्य सेवामा पनि  सिफारिश गर्दै जाने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ