arrow

अमेरिकाको बजेट प्रमुखमा भारतीय मुलकी निराको सम्भावना प्रबल

logo
प्रकाशित २०७७ मंसिर १५ सोमबार
joe-biden2.jpg

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो बजेट प्रमुखमा भारतीय मुलकी अमेरिकी नागरिक निरा टन्डनलाई नियुक्त गर्ने संभावना देखिएको छ ।  अर्थसम्वन्धी आफ्नो खास समूहको मुख्य पात्रका रुपमा उनलाई नियुक्त गरेर बजेट तर्फको जिम्मेवारी दिने सम्भावना रहेको समाचारमा जनाइएको छ । 
 
न्युयोर्क टाईम्सले लेखेको समाचारका अनुसार उनलाई अमेरिकामा विकासका बारेमा अनुभवी व्यक्तिका रुपमा चिनिने गरिन्छ । बाइडेनले अर्थसम्वन्धी आफ्नो समूहका अन्य व्यक्तिहरुको पनि सूची बनाएको र त्यसलाई अन्तिम रूप दिएर घोषणा गर्न लागेको जनाइएको छ । 

उनले नियुक्त गर्ने मुख्य मुख्य पदहरुमा बाइडेनले महिलाहरुलाई प्राथमिकता दिएको देखिएको छ । अर्थबाहेक अन्य दर्जनौ सल्लाहकार तथा सहयोगी समुहहरुमा पनि उनले महिलाहरुलाई प्राथमिकता दिएका छन् । 

बाइडेनले ह्वाइट हाउसको सञ्चार टोलीका सदस्यहरुमा पनि सबै जना महिला हुने घोषणा गरेका छन् ।  पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहेकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस सचिव नियुक्त गरिएको छ । 

बाइडेनले आफूले ह्वाइट हाउसको सञ्चार टोलीका सबै सदस्यमा महिलाहरूलाई नियुक्त गर्न पाएकामा आफूलाई निकै खुशी र गर्व लागेको बताएका छन्।  बाइडेनको सञ्चार टोलीको नेतृत्व भने केट बेडिङफिल्डले गर्नेछिन् । उनले ह्वाइट हाउसको सञ्चार निर्देशकको रुपमा भूमिका निर्वाह गर्नेछिन् । बेडिङफिल्डले बाइडेन–ह्यारिस चुनाव प्रचार अभियानको उप–प्रचार व्यवस्थापकका रूपमा सेवा गरेकी छन् । 

उनीहरु सबै योग्य, अनुभवी सञ्चार विज्ञ रहेको बताउँदै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले डेमोक्रेटिक पार्टीको प्रतिबद्धतालाई कामबाटै प्रतिबिम्बित गर्न चाहेको बताइन् । उनी पनि अमेरिकाको इतिहासमै पहिलो महिला उपराष्ट्रपतिको रूपमा निर्वाचित भएकी हुन् । 

बाइडेन र ह्यारीको नयाँ टिमले आफ्नो कार्यकाल सुरु गर्नु अगाडि अहिले पुर्व तयारीका कार्यहरुलाई तिव्रता दिएको छ । यसअघि बाइडेनले अन्य पदहरूमा पनि धेरै व्यक्तिहरुलाई नियुक्त गरिसकेका छन् ।  

अमेरिकामा हरेक चार बर्षको नोभेम्बरमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन कार्यभार सम्हाल्ने व्यवस्था रहेको छ ।  राष्ट्रपति कार्यालय ह्वाईट हाउस प्रवेश गरेपछि पूर्ण क्षमताका साथ काम गर्नेगरी अहिले उनहरुले पुर्व तयारीलाई तिव्रता दिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ