arrow

तिलतालीको बाढी : करोडौँको क्षति, धेरैको उठिबास

logo
खेम बम,
प्रकाशित २०७६ वैशाख २५ बुधबार
Doti-hamrakura.jpg.jpeg
डोटी। बुधबार राति आएको बाढीले डोटीमा करोडौँको क्षति भएको छ । डोटीको लाटामाण्डौ गाविसको तिलतालीमा गएराति वर्षासँगै आएको बाढीले ठूलो क्षति गरेको हो । स्थानीय जिजौडाखोला, किनमणेखोला, बन्नाखोला र खुनखोलामा एक्कासि आएको बाढीले गाउँलाई पुरेको छ भने खेतीलाई नोक्सान गरेको छ । 
 
गाउँमा रहेका स्थानीयवासीका घर, आँगन, चर्पी, करेसाबारी, गाई बाँध्ने गोठ, घरमा पसेको बाढीले ठूलो क्षति पु¥याएको घटनास्थलबाट प्रहरी चौकी तिलतालीका प्रहरी सहायक निरीक्षक कर्णबहादुर रोकायाले राससलाई बताए । दलित बस्तीमा भाँडाकुँडा बनाउने मेसिन राखेका घर टहरालाई समेत बाढीले पुरेको बताइएको छ । करिब १५० भन्दा बढी घरमा पसेको पानीले घरका तल्लो तलालाई पूर्णरुपमा क्षति पु¥याएको छ । 
 
तिलतालीमा रहेका खानेपानीका ४५ वटा घारा, पानीका मुहानसमेत नष्ट भएको प्रहरी सहायक निरीक्षक रोकायाले बताए । उनले भने  – “स्थानीयवासीले करिब एक सयभन्दा बढी रोपनीमा लगाएको बदाम समेत बाढीले नष्ट गरेको छ ।” करिब १५ मिनेटसम्म भएको वर्षाले करोडौँको सम्पत्ति बगाएको स्थानीय पीडित गौमती बलायरले बताए । 
 
“खाना पकाइरहेका बेला एक्कासि आकाश गर्जियो, बिजुली चम्कियो, वर्षा भयो, आँगनमा रहेका भिज्ने सामान भित्र राख्न नपाउँदै खहरेखोला गर्जिएर आए, हतार हतार माथिल्लो तलामा दौडिएर बाँचे,” उनले भने । 
 
गएरातिकै बाढीमा परेर तिलतालीकी ९६ वर्षीया तलुदेवी टमटा गम्भीर घाइते भएकी छन् । उनको सुजङ अस्पताल, राजपुरमा उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ । लाटामाण्डौ गाविसकै वडा नं ८ गोपघाट बजार नजिकै आठ वटा घरसमेत बाढीको जोखिममा रहेका छन् । थप पानी परे खोलाको किनारका ती घर बग्ने सम्भावना रहेको छ । 
 
सोही ठाउँका हर्क बलायरको पक्की घर पूर्णरुपमा भत्केको छ भने अर्जुन बलायरका दुई वटा दुहुना भैँसी पुरिएका छन् । घरको आँगनमा बाँधिएका भैँसीलाई एक्कासि आएको बाढीले पुरेको हो । 
 
बुधबारकै बाढीबाट बनलेक गाविसका ३, ४ र ५ वडाका ४५ वटा घर सार्नुपर्ने बाध्यता रहेको छ । एक्कासि आएको बाढीले बगाएर ल्याएका ४० टनभन्दा गह्रौँ ढुङ्गा र बालुवाले बस्तीका खेतबारीलाई बगरमा परिणत गरिदिएको छ । लगाइएको बाली र घर जोखिममा रहेपछि बस्ती सार्नुको विकल्प नभएको स्थलगत भ्रमणमा रहेका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद आचार्यले बताए । 
 
एक्कासि आएको बाढीका कारण डोटीका छुट्टाछुट्टै स्थानमा करोडौँको क्षति भएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ