arrow

युरोकपको रोचक इतिहास : कुन् राष्ट्र कति सफल ?

१५औं संस्करण सम्म आइपुग्दा............

logo
हाम्रा कुरा
प्रकाशित २०७३ जेठ २८ शुक्रबार
Euro-2016-France.jpg.jpeg
काठमाडौं । युरोपियन च्याम्पियनसिप (युरोकप)  फुटबल २०१६ को महाकुम्भ सुरु हुँदैछ । १५औं संस्करणको उद्घाटन् खेलमा आयोजक फ्रान्स र रोमानिया भिड्दैछन् । उद्घाटन खेल स्टेड डे फ्रान्स रंगशालामा हुनेछ । ४ राष्ट्रको सहभागिताबाट सुरू भएको युरोकपमा यसपटक २४ राष्ट्र सहभागि भएका छन् । खेल सुरक्षालाई लिएर हाई अलर्ट गरिएको छ । फ्रेन्च राष्ट्रपति फ्रास्वाँ ओलाण्डले उच्च सुरक्षा सतर्कता राख्न निर्देश गरेका छन् । खेल फ्रान्सका विभिन्न १० शहरमा हुनेछन् । सहभागि राष्ट्रलाई ६ समूहमा बाँडिएको छ । युरोकपको फाइनल खेल भने स्टेड डे फ्रान्स रंगशालामा हुनेछ ।
 
युरोकप प्रारम्भ
युएफा युरोपियन च्याम्पियनसिपको रुपमा सन् १९६० देखि सुरु भएको प्रतियोगिताको पाँचौ संस्करणसम्म जम्मा चार राष्ट्र मात्रै सहभागि भए । १९६० को पहिलो प्रतियोगितामा फ्रान्स, सोभियत युनियन, युगोस्लाभिया र चेकोस्लाभाकियाले खेले । सोभियत युनियन पहिलो विजेता भयो । युगोस्लाभिया उपविजेता बन्दा आयोजक फ्रान्स चौथो भयो । पहिलो युरोकप फ्रान्सले आयोजना गर्दा अन्तिम बन्नु परेको पीडा फ्रान्सले अझै बिर्सन सकेको छैन । त्यति मात्र नभई सन् २००० पछिको उपाधि खडेरीले समेत फ्रान्सलाई गाँजेको छ । यसपटक घरेलु मैदानको फाइदा उठाउने दाउमा फ्रान्स छ । 
 
सन् १९७६ सम्म आइपुदा चार राष्ट्र मात्रै सहभागि भए । चार राष्ट्र सहभागि अन्तिम प्रतियोगिता युगोस्लाभियाले आयोजना गर्दा चेकोस्लाभाकिया विजेता बन्यो । १९६० र १९७६ को बीचमा आफै प्रतियोगिता आयोजना गरेर आफै च्याम्पियन बन्ने स्पेन र इटाली मात्रै रहे । 
 
सन् १९८० मा इटालीले खेल आयोजना गर्दा वेष्ट जर्मनी विजेता बन्यो । जुन प्रतियोगिताबाट सहभागि राष्ट्रको संख्या ८ पुगेको थियो । युरोपियन फुटबल प्रतियोगिताको प्रस्ताव सन् १९२७ मा फ्रेन्च फुटबल फेडरेशनका महासचिव हेन्री डेलेनाय गरेका थिए ।  डेलेनायको मृत्यु भएको तीन वर्ष पछि १९५८ मा सो प्रस्तावबारे छलफल भयो । पछि १९६० मा कार्यान्वयनका क्रममा प्रतियोगिता भयो । जसको सम्मानमा ट्रफीको नाम हेन्री डेलेनाय राखियो । 
 
जब–जब फ्रान्सले खेल आयोजना गर्‍याे, केही नयाँ परिवर्तन 
चार टोली सहभागि भएको प्रतियोगिता फ्रान्सबाटै आरम्भ भयो । पछि १९८४ मा फ्रान्सले आफै आयोजना गरेको प्रतियोगिता आफै जित्यो । प्रतियोगिता आरम्भ गर्दा तुहिएको च्याम्पियन बन्ने सपना सातौं संस्करणमा आएर पूरा भयो । फ्रान्सकै आयोजनाका क्रममा खेलको ढाँचा हेरफेर भयो । पहिले तेस्रो स्थानका लागि भनेर खेलाईने खेल पछि ८ राष्ट्र भएकाले थर्ड प्लेस हटाइयो । जहाँबाट विजेता, उपविजेता र दुई सेमिफाइनलिष्ट छुट्याउन थालियो । सन् २०१२ सम्म आइपुग्दा त्यो क्रम रहयो । यद्यपि, १९९६ मा इङ्गल्याण्डले आयोजना गर्दा १६ राष्ट्र सहभागि भए । उक्त परिवर्तन भने फ्रान्सको पारीमा परेन । यद्यपि, (सन् २०१६) अहिलेको युरोकप फ्रान्सले आयोजना गर्दा फेरि परिवर्तन भएको छ । अहिले २४ राष्ट्रले सहभागिता जनाएका छन् । यसअघि १६ राष्ट्र सहभागि हुँदा रहेको समूह चरणबाट सोझै क्वार्टरफाइनल जाने खेल ढाँचा परिवर्तन भएको छ । अब क्र्वाटरफाइनल पुग्न समूह चरणबाट राउण्ड अफ् सिक्टिन भिड्नु पर्नेछ ।     
 
को कति पटक च्याम्पियन बने ?
हाल सम्म जर्मनी तीन पटक च्याम्पियन बनेको छ । जो च्याम्पियनको सूचीको शीर्ष स्थानमा छ । यद्यपि, सन् १९७२ र १९८० को उपाधि भने वेष्ट जर्मनीको नामबाट रहयो । जर्मनीका नामबाट पछिल्लो एक मात्र उपाधि १९९६ रहेको छ । जर्मनी तीन पटक उपविजेता बन्दा ६ पटक फाइनल खेलेको छ । 
 
यस्तै, स्पेनले समेत तीन पटक उपाधि जितेको छ । उसले १९६४ मा पहिलो सहभागितामै उपाधि जित्यो । त्यो पनि आफै प्रतियोगिता आयोजना गरेर । त्यो उसको खास र ऐतिहासिक उपाधि बन्यो । पछि सन् २००८ को उपाधि जित्यो । पछिल्लो पटक सन् २०१२ को उपाधि जित्दै डिफेन्डिङ च्याम्पियन बन्यो । 
 
यस्तै, फ्रान्सले दुई पटक उपाधि जितेको छ । फ्रान्स सन् १९८४ मा आफै प्रतियोगिता आयोजना गरेर च्याम्पियन बन्यो । पछि सन् २००० मा दोस्रो उपाधि जित्यो । त्यसपछि फ्रान्स उपाधि विहिन छ । यसैगरी, सोभियत युनियन, इटाली, चेक रिपब्लिक, नेदरल्याण्ड्स, डेनमार्क र ग्रिसले १–१ पटक उपाधि जितेका छन् ।   
 
इङ्गल्याण्डका उदण्ड दर्शक  
विश्व फुटबलमा इंग्ल्याण्ड भन्ने बित्तिकै फुटबल समर्थकले मच्चाउने सनसनीलाई सबैले सम्झिन्छन् । मैदानमा खेलाडीले बल दौडाउन नभ्याउँदै उनीहरुले उदण्ड व्यवहार गरिहाल्छन् । आयोजक मुलुकमा प्रवेश गरेदेखि नै उनीहरु उदण्डता शुरु गर्ने गर्दछन् । 
जब–जब सर्वाधिक चाँसोका फुटबल प्रतियोगिता हुन्छन् इंग्लिश फुटबलका समर्थक आयोजकलाई सबैभन्दा टाउको दुखाईको विषय बन्दछन् । शनिबार विहानबाट फ्रान्समा सुरु हुने युरोकप फुटबलमा आफ्नो देशको टोलीलाई समर्थन गर्न फ्रान्स पुगेका इङ्गलिश समर्थकले यस पटक पनि त्यसै गरे ।
 
खेल सुरु हुन एक दिन अघि मार्सेली शहरको बारमा मादक पदार्थ सेवन गरी सयौं इङ्गलिश समर्थकले इस्लामिक अतिवादी संगठन ‘आइएस’ कहाँ छ भन्दै नाराबाजी गरे। उनीहरुकाे साे व्यवहारलाई नियन्त्रण गर्न फ्रेन्च प्रहरीलाई हैरानी भयो । इङ्गलिश समर्थकहरुले बारमा तोडफोड समेत गरे । उनीहरुले सडकमा हिंसात्मक गतिविधि गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस प्रहार समेत गर्नु परेको थियो । 
 
यसअघि, त्यस्तै घटना भएको थियो । सन् १९९८ मा पनि फ्रान्सले नै आयोजना गरेको विश्वकपमा सोही शहरमा इङ्गल्याण्ड र ट्युनिसियाका समर्थकबीच खेल सुरु हुनु अघि नै हिंसात्मक झडप भएको थियो । 
 
युरो २०१६ : समूह विभाजन  
समूह ‘ए’  फ्रान्स, रोमानिया, अल्वेनिया, स्वीट्जरल्याण्ड
समूह ‘बी’ इङ्गलण्ड, रूस, स्लोभाकिया, वेल्स
समूह ‘सी’ जर्मनी, यूक्रेन, पोल्याण्ड, उत्तरी आयरल्याण्ड
समूह ‘डी’ स्पेन, चेक रिपब्लिक, टर्की, क्रोएसिया
समूह ‘ई’ बेल्जियम, इटली, आयरल्याण्ड, स्वीडेन
समूह ‘एफ’ पोर्चुगल, आइसल्याण्ड, अस्ट्रिया, हंगेरी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ