arrow

पारवहन अधिकारको सम्मान गर्न महासचिव वानको आग्रह

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
460085555.jpeg
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनले नेपालको पारवहन अधिकारको सम्मान गर्न र सीमामा देखिएको अवरोध अन्त्य गर्न आग्रह गरेका छन् ।  महासचिव मुनले नेपाल र भारत सीमामा देखिएको अवरोधले मानवीय सङ्कट पैदा भएकाले स्वतन्त्र पारवहन नेपालको अधिकार भएकाले त्यसलाई सम्मान गर्नुपर्ने बताए । 

शुक्रबार औषधि बोकेको सवारी साधन र बिरामी बोकेको एम्बुलेन्समाथि तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाले आक्रमण गरेपछि महासचिव मुनका तर्फबाट पहिलो प्रतिक्रिया आएको हो । मोर्चाले औषधि बोकेका सवारी साधनलाई निर्वाध रुपमा चल्न दिने घोषणा गरेको २४ घण्टा नपुग्दै वीरगन्जमा आक्रमण भएको थियो । 

नेपाल–भारत सीमा क्षेत्रमा देखिएको अवरोध तत्काल हटाउन र औषधिलगायत सामग्रीको आवागमनमा कुनै अवरोध नगर्न र निर्वाध आयात गर्न दिन उनले आग्रह गरेका छन् ।  महासचिव मुनले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न र शान्तिपूर्ण रुपमा आफ्ना धारणा राख्नसमेत आग्रह गरेको उनको प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

अत्यावश्यकीय सामग्रीको आयातमा भएको अवरोध अमानवीय भएको उल्लेख गर्दै महासचिवका प्रवक्ताद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ, “औषधिजस्तो अत्यावश्यक वस्तुको आयातमा भएको अवरोधका कारण मानवीय सङ्कट उत्पन्न भएको र उपचारमा नै समस्या परेकाप्रति महासचिव वान चिन्तित हुनुहुन्छ ।” 

उनले वार्ता र आपसी परामर्शका आधारमा समस्याको समाधान खोज्न सबै पक्षलाई आग्रह गरेका छन् । प्रजातान्त्रिक, समावेशी, शान्तिपूर्ण एवम् सुनिश्चित र समृद्ध भविष्य निर्माणको प्रयासमा राष्ट्रसङ्घले नेपाललाई आवश्यक सहयोग एवम् समर्थन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ