arrow

संसद विघटनको विरोध गर्दै महतले भने कांग्रेसलाई जनतामा जाने अवसर पनि आएको छ

logo
प्रकाशित २०७७ पुष १८ शनिबार
prakashsaran-_mahat.jpg

चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले संसद विघटन कम्युनिष्ट पार्टीको सत्ता प्राप्तिका लागि भएको झगडाको परिणाम भएको बताएका छन् । नेपाली कांग्रेस चितवनले आयोजना गरेको प्लाज्मा डोनेसन कार्यक्रमको उद्घाटन गर्दै डा महतले भने– कम्युनिष्ट पार्टीले सत्ताको प्राप्तिका लागि गरेको व्यक्तिगत झगडाले देशको प्रजातान्त्रिक प्रणालीलाई नै धरापमा पार्नेगरी संसद विघटनसम्मको दुस्साहस गरेका छन् । 

सहमहामन्त्री डा महतले नेपालका कम्युनिष्टहरुले सत्ताका लागि मात्र झगडा गर्ने गरेको बताए । उनले भने– हामी सबैले देख्यौँ कि यहाँका कम्युनिष्टहरुले तीन वर्षमा देशको साधन र स्रोतमा कसरी लुट मच्चाए, देशमा भ्रष्टाचार कसरी मौलायो । डा महतको भनाई थियो जनताले ५ वर्षका लागि चुनेर पठाएको सरकारले सत्ताको स्वार्थमा देशलाई भड्खालोमा हालेको नेपाली जनताले स्पष्टै देखेका छन् ।

देशमा भ्रष्टाचार र अनियमितता कसरी मौलायो भन्ने कुरा त महामारीको समयमा भएको औषधि तथा मेडिकल सामग्रीको खरिदमा भएको भ्रष्टाचारबाट स्पष्ट हुने महतले बताए । उनले भने–देश त्यस्तो महामारीमा फसेको बेलामा औषधिजस्तो संवेदनशील विषयमा भ्रष्टाचार त सोच्दा पनि पाप लाग्छ, तर यिनीहरुले त गरेरै देखाए । देशका लागि योभन्दा ठूलो दुर्भाग्य के हुन्छ ? 

डा महतले संसद विघटनको विषयमा कांग्रेसको बिरोध रहिरहेपनि सर्वोच्च अदालतले दिने निर्णय भने नेपाली कांग्रेसलाई स्वीकार्य हुने बताए । यो ओलीको असंवैधानिक कदम हो, यो सत्ताका लागि पार्टीभित्रै रचिएको घोर गैरसंवैधानिक कदम हो, तर हामी विपक्षी दल जनतामा जाऔँ भन्दा हामीले मान्नुपर्छ, यो हाम्रो लागि अवसर पनि हो । 

डा महतले यस विषयमा सर्वोच्च अदालतको अन्तिम व्याख्या कुर्ने र निर्वाचनमा जाने निर्णय आए तयारी गर्ने अवस्थामा रहेको बताए। वर्तमान संविधान नेपाली कांग्रेसले जारी गरेको हो र यो संविधान र लोकतन्त्र बचाउनका लागि पनि कांग्रेस निर्वाचनमा जानुपर्छ महतको आसय थियो । 

नेपाली कांग्रेसको कोभिड १९ समितिका संयोजक रहेका डा महतले महामारीबाट बच्नका लागि आवश्यक सहयोग तथा नागरिकको जीवनरक्षाका लागि कांंग्रेसले सो समितिमार्फत् सरकारलाई धेरै झक्झकाएको र निकै चनाखो भएर निगरानी गरेको उनले बताए । 

डा महतकै उपस्थितिमा केही महिना अघि नेपाली कांग्रेस नवलपुरबाट प्लाज्मा डोनेसन कार्यक्रम शुरु भएको थियो । त्यसपछि नेपालगन्ज, सुनसरी हुँदै चितवनमा यो चौथो कार्यक्रम हो। कोरोनाका संक्रमितहरुका लागि आवश्यक पर्ने प्लाज्मा अहिलेसम्म सयौं व्यक्तिले दान गरिसकेका छन् । यो कार्यक्रमलाई निरन्तरता दिन उनले देशका अरु क्षेत्रका कांग्रेसका कार्यकर्ताहरुलाई पनि आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ