arrow

एनआरएनएप्रति पूर्वअध्यक्ष भवन भट्टका अनेकौं असन्तुष्टि

logo
प्रकाशित २०७७ पुष १८ शनिबार
bhaban_bhatta.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघको वर्तमान नेतृत्वको कार्यशैलीप्रति संघकै एक पूर्व अध्यक्षले असन्तुष्टि व्यक्त गरेका छन् ।

नयाँ वर्ष २०२१ को अवसरमा २४ न्युजप्रेसडटकमद्वारा शुभकामना आदानप्रदान गर्न आयोजित एक भर्चुअल कार्यक्रममा संघका पूर्वअध्यक्ष भवन भट्टले आफ्नो कार्यकालमा सफलताको उत्तरार्धमा पुर्याएको नागरिकताको विषय अहिले ओझेलमा पारिएको जनाए ।

‘एनआरएन नागरिकताको विषयमा हामीले ठूलै सफलता पाएका थियौं,’ उनले भने, ‘तर, पछिल्लो नेतृत्वले त्यसलाई पछ्याउन नसक्दा पाएको उपलब्धि  पनि गुम्ने खतरा बढेको छ ।’

संघको विधानमा रहेको परम्परावादी निर्वाचन प्रक्रिया र शैलीलाई विधानबाटै परिमार्जन गर्नुपर्ने अवस्थामा अहिले भने विधान संशोधनका नाममा अर्कैअर्कै विषय अगाडी सारिएको टिप्पणी गरे ।‘महामारी नियन्त्रणदेखि लगानी भित्र्याउने सम्मका विषयमा के के काम भए ?’ उनको प्रश्न थियो । हाम्रो काम गर्ने तौर तरिका पनि नमिलेको हो कि भन्दै भट्टले यसैगरी काम गर्दै गए संघको औचित्यमाथि नै प्रश्न उठ्ने बताए ।

‘गैरआवासीय नेपाली संघले यही जनवरीको चौथो साता विशेष अधिवेशन आह्वान गरेको छ । यो आह्वानप्रति नै संघमा मत बाझिएको छ । सहमतिमा गरिनुपर्छ, मत बाझिने गरी होइन,’ उनले टिप्पणी गरे । संघको वर्तमान नेतृत्वले गर्नैपर्ने काम छाडेर नगरेपनि हुने काममा चासो बढाएको बताए ।एनआरएनमाथि अहिले थुप्रै चुनौती छन्, उनले भने, तर, संघको प्राथमिकतामा भने अर्कै विषय छन् । 

'एनसीसीलाई कमजोर नबनाऔं’

पूर्व अध्यक्ष भट्टले एनआरएनएले यसका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुलाई थप बलियो बनाउनुपर्नेमा कमजोर बनाउन खोजिरहेको बताए । ‘एनसीसीहरुसँग धेरै जिम्मेवारी छ, त्यसैले कमजोर नबनाऔं,’ उनले भने ।

भट्टका अनुसार अघिल्लो नेतृत्वले थालेका थुप्रै सुधारका कामलाई बेवास्ता गरिएको छ । कतिपय कामलाई बीचमै छाडिएको उनले गुनासो गरे । 
सोही कार्यक्रममा संघका पूर्व सल्लाहकार हरिबोल भण्डारीले संघलाई पक्ष, विपक्ष र अल्पमत र बहुमतको खेलमा पुर्याउन खोजिएको भन्दै चिन्ता व्यक्त गरे । ुयो एकमतले अगाडि बढ्ने संस्था  हो,’ उनले भने, ‘सबैको सहमति नहुँदासम्म छलफल चलाइरहन सकिन्छ, जुन विषयमा सहमति जुट्छ, त्यसैलाई स्वीकार गर्नुपर्छ ।’

भण्डारीले एनसीसीहरुसँग परामर्श नै नगरी आइसीसीले बलजफ्ती विधान संशोधनको मुद्दा अगाडि बढाएको भन्दै आपत्ति जनाए । ‘एनसीसीहरुलाई बलियो बनाए मात्रै आइसिसी बलियो हुन्छ,’ उनले प्रष्ट पारे ।

त्यस्तै, एनआरएन मध्यपूर्वका उपसंयोजक मनोज गोर्खालीले विशेष अधिवेशन के का लागि भनेर प्रश्न गरे । ‘एकै पटक धेरै विषय ल्याउन खोज्दा दुर्घटना हुन सक्छ, उनले भने, यही हिसाबले अगाडि बढे एनआरएन पनि विभाजन हुन सक्छ ।’

एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले आइसीसीले हरेक विषयमा एनसीसीलाई नियन्त्रण गर्न नहुने सुझाव  दिए । अहिले विधान संशोधनको विषय नै बेमौसमी हो, उनले भने ।

'प्राविधिक रुपमा संभव छैन’

कँडेलले अहिले विशेष महाधिवेशन संभव नै छैन भन्दै भर्चुअल विधिबाट गरिने अधिवेशनमा २६ सय प्रतिनिधिलाई सहभागी गराउन संभव नरहेको दावी  गरे । 'यो प्राविधिक रुपमा पनि संभव छैन,’ उनले स्पष्ट पारे ।

नवौं महाधिवेशनमा पारित हुन नसकेका आर्थिक र सांगठनिक प्रतिवेदन पारित गर्ने नाममा संघले विशेष अधिवेशन आह्वान गर्नु र त्यसैमा विधान संशोधन गर्ने तयारी गरिएपछि संघ भित्र विवाद चुलिएको छ ।

कार्यक्रमको शुरुमा २४न्युजप्रेसडटकमका प्रधान सम्पादक विनय अधिकारीले सबै सहभागीहरुलाई स्वागत गर्दै नयाँ वर्षको शुभकामना दिएका थिए।जीएनएन
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ