arrow

युरोपमा विस्तार हुँदै आतङ्कवादको जालो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
588425141.jpeg
मोहिनी मिश्र रिसाल ।काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा गतहप्ता आतङ्ककारीहरुले शृङ्खलाबद्ध हमला गर्दा त्यसमा परी १२९ जनाको ज्यान गयो । उक्त हमलामा परी घाइते हुनेको सङ्ख्या सयौँ थियो । अत्यन्तै शक्तिशाली, एकीकृत तथा समन्वयात्मक ढङ्गबाट सो हमला भएको देखियो । गत हप्ताको शुक्रबार राति हमलाकारीहरुले राजधानी पेरिसका विभिन्न सात स्थानमा बन्दुक र बमबाट हमला गरेका थिए । बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । यसरी उनीहरुले आफ्नो आतङ्कको शिकार सयौँ जना व्यक्ति गराउने लक्ष्य राखेका देखिन्छ । 
 
साथै कतिपय स्थानमा उनीहरुले बम विस्फोट पनि गराएका थिए । बम हमलाकारी आत्मघाती भएको पनि खुलेको छ । आत्मघाती बम हमलाकारी सबैजसो मारिएका छन् तर त्यसपछि पनि फ्रान्समा आक्रमणको त्रास त्यत्तिकै छ । फ्रान्सको पेरिसमा यसवर्ष नै दुई पटकसम्म यस्तो आतङ्ककारी हमला भएको छ । गएको जनवरी महिनामा पनि पेरिसमा भएको हमलामा पत्रकारहरुसहित दर्जनभन्दा बढी मानिस मारिएका थिए । 
 
 
यो आक्रमणको जिम्मेवारी मुस्लिम अतिवादी समूह, आइएसले लिएको छ र उसको सम्लग्नता प्रमाणित पनि भएको छ । यसको स्वतन्त्र अनुसन्धान गरेको अमेरिकाले पनि उक्त आइएसको हमलको प्रमाणित भएको जनाएको छ । यसअघि यसैवर्षको जनवरीमा भएको पेरिसकै हमलाको पनि उसैले जिम्मेवारी लिएको थियो । यो आक्रमणपछि युरोपमात्र नभएर अमेरिकामा पनि त्रास बढाएको देखिन्छ । आक्रमणको पछिल्लो धम्कीले न्युयोर्कमा पनि सतर्कता अपनाइएको समाचारमा जनाइएको छ । 
 
आइएसले सार्वजनिक गरेको एक भिडियोमा अमेरिकामा आक्रमणको योजना रहेको भनी देखिएपछि उक्त हमलाको त्रास छाएको बताइएको हो । गत बुधबार यस्तो त्रास न्युयोर्कमा छाएको समाचारमा जनाइएको थियो । सो धम्कीप्रति सहरमा सतर्कता अपनाइएको समाचारमा जनाइएको छ । तर त्यस्तो कुनै खतरा भने हाललाई नरहेको न्युयोर्क प्रहरीले जनाएको छ । न्युयोर्क सहरका मेयर बिल डे ब्लासियोले भनेका छन्– यस सहरका नागरिक यस्ता धम्कीले डराउने र आफ्ना दैनिक क्रियाकलापहरुमा परिवर्तन ल्याउनेवाला छैनन् । यस धम्कीपछि न्युयोर्क सहरमा अतिरिक्त प्रहरी र सुरक्षा व्यवस्था उपलब्ध गराइएको र सुरक्षाका भरपर्दाे र अत्याधुनिक मापदण्डहरु पनि अपनाइएको बताइएको छ । 
 
गएको बुधबार नै दुई अमेरिकी विमानमा बम राखिएको हल्लापछि आकस्मिक अवतरण गरिएको थियो । ती दुवै विमान पेरिसका लागि उडेका थिए । उडिसकेपछि ती विमानमा बम राखिएको हल्लापछि आपतकालीन अवतरण गरिएको हो । विमान उडेपछि ती विमानमा बम राखिएको हल्ला आएको थियो । सो हल्लापछि एउटा बिमान अमेरिकामै र अर्काे विमान क्यानाडाको विमानस्थलमा अवतरण गराइएको थियो । ती विमान अमेरिकी सहर लस एन्जेल्स र वासिङ्टनबाट उडेका थिए । 
 
गत बिहीबार मात्र पनि १६१ जना यात्रु बोकेर पोल्याण्डबाट इजिप्टतर्फ गइरहेको एक बिमानमा बम राखिएको हल्ला भएपछि आकस्मिक अवतरण गराइएको थियो । सो विमानमा बम राखिएको हल्ला आएपछि पूर्वी बुल्गेरियामा आकस्मिक अवतरण गराइएको बताइएको थियो । सो जहाजमा रहेका एक साठी वर्षकाजस्ता देखिने यात्रुले नै सो विमानमा बम राखिएको बताएका थिए । त्यसपछि उक्त विमान आकस्मिक अवतरण गराइएको थियो । 
 
उक्त सूचना दिने त्यस व्यक्तिलाई हिरासदमा लिइएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै लन्डनलाई पनि बमको हल्लाले सताउन छोडेको छैन । छ वर्षअघि आतङ्ककारी हमला भएको सो सहरमा अहिले पनि त्रास कायमै छ । गत बिहीबारमात्र पनि लन्डन सहरमा बम राखेको भन्ने हल्ला देशव्यापी बनेको थियो । बम राखिएको भनिएको नगरमा प्रहरीले विशेष खोजी अभियान सञ्चालन गरेको थियो । तर पछि सो हल्ला प्रमाणित भने हुन सकेन । सो हल्लापछि त्यहाँको जनजिवन नै अस्तव्यस्त बन्न पुगेको थियो । 
 
उता बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले गएको छ महिनायता बेलायतले कम्तीमा सात वटा सम्भावित आतङ्काकरी हमलाहरु रोकेको जानकारी हालै दिनुभएकोले पनि त्यहाँ सम्भावित हमलाका लागि आतङ्ककारीहरु प्रयासरत रहेको देखिन्छ । ती हमलाका प्रयासहरुलाई बेलायतको प्रहरीले निष्क्रिय बनाएको थियो । सो जानकारी बेलायतका प्रधानमन्त्री क्यामरुनले सोमबार दिनुभएको हो । हाम्रा सुरक्षा निकायहरुले गएको छ महिनायताका सातवटा जति सम्भावित आतङ्ककारी हमला रोकेका छन्– प्रधानमन्त्री क्यामरुनले बिबिसी रेडियोलाई भन्नुभएको थियो । 
 
यसैबीच शनिबार मात्र पनि बेल्जियमको ब्रसेल्समा मेट्रो रेल सेवा पूर्ण रुपमा बन्द गराइएको समाचारमा जनाइएको छ । बेल्जियममा पनि पछिल्लो समयमा आतङ्कवादी हमलाको निकै त्रास बढेको छ । उक्त त्रासका कारण शनिबार मेट्रो रेलसेवा बन्द गराइएको जनाइएको छ । युरोपमा पछिल्लो समयमा बढ्दो आतङ्कवादी हमलाले बेल्जियममा पनि छोएको हो । फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्कवादी हमलाको योजना बेल्जियममा बनेको रहस्य खुलेपछि बेल्जियममा पनि यो त्रास बढेको हो । 
 
पेरिस हमलाको अनुसन्धान गर्ने क्रममा बेल्जियममा फ्रान्सेली प्रहरीले सो तथ्य भेटेको हो । सञ्चारमाध्यमहरुले फ्रान्सका गृहमन्त्रीलाई उद्धृतगर्दै दिएको समाचारअनुसार सो हमलाको योजना बेल्जियममा बसेर गरिएको खुलेको हो । फ्रान्सका गृहमन्त्री बर्नाड क्याजेनोभले दिएको समाचारअनुसार प्रहरीले बेल्जियमबाट यसका थप प्रमाणहरु भेटेको छ र त्यसका आधारमा यी तथ्यहरु खुलेका छन् । बेल्जियमको मेलान्बिक जिल्लामा सो योजना बनाइएको र त्यस जिल्लामा प्राप्त पछिल्लो तथ्याङ्कबाट आक्रमणकारीमध्येका दुई जना त्यहाँ बस्ने गरेका खुलेको हो । सो आक्रमणमा संलग्न आठजना मध्ये दुई जना फ्रान्सकै नागरिक रहेका र ती दुई जना विगत लामो समयदेखि नै सो जिल्लामा बस्दै आएका पाइएको प्रहरी अनुसन्धानको पछिल्लो प्रतिवेदनमा देखिएको छ । 
 
फ्रान्ससँगको रिस पछिल्लो पटक आतङ्ककारीहरुले मालीमा पनि पोखेका छन् । उनीहरुले शुक्रबारै मालीको राजधानी बामाकोमा रहेको एक होटलमा प्रवेशगरी त्यहाँका पाहुना र कर्मचारीलाई बन्धक बनाएका थिए । तिनलाई छुटाउने क्रममा कम्तीमा पनि २७ जनाको ज्यान गएको छ । पछिल्ला केही वर्षयता आतङ्ककारीहरुले युरोपेली क्षेत्रमा हमलाहरु बढाएको देखिन्छ । गत शुक्रबार राति फ्रान्सको राजधानी पेरिसमा गरिएको आतङ्ककारी हमलामा परी १३२ जनाको ज्यान गएपछि यसले झन ठूलो रुप लिन थालेको महसुह भएको छ । यतिखेर युरोप एकातर्फ शरणार्थी एवम् आप्रवासीको समस्यामा छ । आन्तरिक राजनीतिक हिंसा र विविध कारणले गर्दा पछिल्ला केही वर्षयता विशेषत मध्पूर्वी र अन्य भूगोलबाट वर्षेनी युरोपमा मात्र लाखौँलाख आप्रवासी प्रवेश गरिरहेका छन् । त्यसैमाथि झन अहिले यो आतङ्कवादको तारो पनि युरोप बन्दैछ । 
 
त्यसैले पनि संयुक्त राष्ट्रसंघ एवम् युरोपली परिषदले सबै युरोपेली राष्ट्रहरुलाई आतङ्कवादका विरुद्धमा एक भएर लड्न आग्रह गरिरहेका छन् । शुक्रबारमात्र बसेको यी दुई संस्थाको बैठकले सो आग्रह गरेको छ । एकातर्फ विगतका वर्षहरुदेखि नै अमेरिकी नेतृत्वमा आतङ्कवादविरोधी अभियान जारी नै छ । अर्कातर्फ युरोपमा विस्तारित यो जालोले विश्वलाई एकताबद्ध हुन सहयोग गर्ने नै छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ