arrow

‘प्रतिगमनविरुद्ध पत्रकारहरुको मोर्चाबन्दी आवश्यक’

logo
प्रकाशित २०७७ पुष २७ सोमबार
journalist-leaders.jpg

काठमाडौं । विभिन्न संचार सम्बद्ध संघ–संगठनका नेताहरुले प्रतिगमन र निरंकुशताका विरुद्ध वृहत मोर्चाबन्दी जरुरी भएको बताएका छन् । उनीहरुले प्रधानमन्त्रीको कदमले मुलुक पश्चगमनतिर धकेलेकाले सम्पूर्ण पत्रकार/संचारकर्मीले पूर्ण लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि एकताबद्ध भएर आन्दोलनमा होमिनुपर्ने बताए । आसन्न पत्रकार महासंघको महाधिवेशनलाई आन्दोलनकै रुपमा लैजान आह्वान गर्दै नेताहरुले त्यसका लागि तयारी थाल्नु पर्नेमासमेत जोड दिएका थिए ।

सोमबार राजधानीको संवाद डबलीमा भाएको ‘अहिलेको राजनीतिक जटिलता र पत्रकारको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालले प्रधानमन्त्री केपी ओलीले मुलकलाई पछाडि धकेलेकाले उनको अलोकतान्त्रिक कदमविरुद्ध आन्दोलित हुनुपर्ने बताए । 

दाहालले भने, “प्रधानमन्त्रीको कदम एकात्मक सामन्ति प्रणालीतर्फ उन्मुख छ, त्यसलाई रोक्न मोर्चाबन्दी कसौं ।” दाहालले पत्रकार महासंघको भावी नेतृत्व साझा चरित्रको हुनुपर्ने र लोकतन्त्रको रक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मुल एजेण्डा बनाएर आन्दोलनमा होमिनुपर्ने सुझाब दिए।

नेपाल प्रेस युनियनका महासचिब अजयबाबु शिवाकोटीले लोकतन्त्रको रक्षार्थ पत्रकारहरु जहिलेपनि लडिरहेको इतिहास स्मरण गर्दै अहिलेको संकटबाट मुक्ति पाउन संयुक्त आवाज लिएर आन्दोलित हुनुपर्ने धारणा राखे । उनले अबको महासंघको नेतृत्व साझा चरित्रको बनाउन जस्तोसुकै त्याग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । “मुख्य कुरा गुम्न लागेको लोकतन्त्रको रक्षा गर्नु हो, यो साझा मुद्धामा युनियन सबै पत्रकारहरुसँग हातेमालो गर्न तयार छ” शिवाकोटीले भने ।

क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले अहिलेको सरकार प्रतिगामी र फासिवादी चरित्रको भएकाले त्यसको विकल्पमा अग्रगामी एजेण्डा लिएर पत्रकारहरु आन्दोलित हुनुपर्ने विचार व्यक्त गरे । प्रेस स्वतन्त्रको रक्षा, जनजिविकाको सुनिश्चितता र जनतामा आधारित गणतन्त्र प्राप्तिका लागि सबै तप्काले संयुक्त संघर्षको उठान गर्नुपर्ने बताए ।

क्रान्तिकारी पत्रकार संगठन, नेपालका उपाध्यक्ष जन्मदेव जैसीले नेपाल पत्रकार महासंघ श्रमजीवीहरुको आस्थाको केन्द्र र साझा चरित्रको बनाउन सबै पक्षले दृढता व्यक्त गर्नुपर्नेमा जोड दिए ।

प्रगतिशील पत्रकार संघका निवर्तमान अध्यक्ष नारायण शर्माले संकटको भूमरीमा फसेको मुलुकलाई जोगाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताए । पछिल्लो राजनीतिक संकट ठूलो डिजाइनबाट उत्पन्न भएको प्रष्ट्याउदै शर्माले संयुक्त दबाब सिर्जना गरेर लोकतन्त्रको रक्षा गर्नुपर्ने धारणा राखे । उनले पत्रकार महासंघलाई साझा संस्थाको रुपमा स्थापित गर्न ठूला संगठनहरुले त्याग गर्दै सबैलाई समेटेर लैजाने दृढता देखाउन सुझाए ।

प्रेस नेपालका अध्यक्ष केशव अर्यालले लोकतान्त्रिक विधिबाट चुनिएको वर्तमान ओली नेतृत्वले त्यही आधारलाई भत्काउदै जनताको स्वतन्त्रतामाथि धाबा बोल्नेतिर मुखरित भएकोले पत्रकार तथा संचार जगतले त्यसविरुद्ध लड्ने बेला आएको बताए ।

मधेशी पत्रकार मञ्चका अध्यक्ष मोहन सिंहले जनयुद्ध, जन–आन्दोलन तथा मधेश आन्दोलनबाट निर्माण भएको संघीयतालगायतका उपलब्धिहरुलाई उल्टाएर प्रतिगमन लाद्ने ओली सरकारलाई पत्रकार र आम जनसमुदाय मिलेर संयुक्त आन्दोलनको बलमा लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने बताए ।

मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालले वर्तमान राजनीतिक संकटलाई सम्पूर्ण लोकतान्त्रिक समुदायले अहिलेको अलोकतान्त्रिक सरकारको जनबिरोधी रबैयाको भण्डाफोर गर्नुपर्ने धारणा राखे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ