arrow

बेलडागी शरणार्थी शिविरमा आगलागी, एकको मृत्यु 

logo
युबराज रेग्मी, 
प्रकाशित २०७७ पुष २८ मंगलबार
fire-beldagi.jpg

झापा । झापाको दमक नगरपालिका ३ बेलडागीस्थित भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ । आगलागीमा परी एक अशक्त पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार राति ८ बजेतिर अचानक आगलागीमा परेर मृत्यु हुनेमा शिविरको सेक्टर नं डि ४,छाप्रा नं ३२५ बस्ने बर्ष ६० का देशमान राई रहेको प्रहरीले जानकारी दिएको छ । 

पक्षघातका बिरामीसमेत रहेका राइको जलेरै मृत्यु भएको जनाइएको छ । बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा बस्दै आएका राईको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरी प्रवक्ता राकेश थापाले बताए ।                                     

उक्त आगलागीबाट छाप्रा नष्ट हुँदा छाप्राभित्र रहेको १ तोला सुन, १० तोला चाँदी र नगद तीन लाखसहित खाद्यान्ह तथा लत्ताकपडासमेत पूर्णरुपमा जलेर नष्ट हुदाँ करिव रु आठ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।  

करिब एक घण्टाको प्रयास पश्चात् आगलागी स्थानीय तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा आएको थियो ।  

घरमा कोही नभएको बेला एक्कासी आगो लागेकोले कसैले लगाएको भन्ने शंका गरे पनि चुलोबाट आगो लागेको हुन सक्ने प्रहरीले आशंका गरेको शसस्त्र प्रहरी निरीक्षक सियाराम चौधरीले बताए । 

आगलागीमा परेर जलेका वृद्धलाई मृत अवस्थामा निकालिएको प्रहरीले जानकारी दिएको छ । छिमेकीका अनुसार मृतककी श्रीमती र नातिनी नजिकै छिमेकीको घरमा टीभी हेर्दै गरेको अवस्थामा एक्कासी आगो लागेको परिवारले छिमेकीलाई बताएको भूटानी अपाङ्ग संघकी अध्यक्ष देवीमाया गुरूङले बताइन् ।  

आगलागीमा परी मृत्यु भएका राईका जेठा छोरा मनबहादुर राई छुट्टिएर बसेको र कान्छा छोरा घरमा नभएको बेला साँझ आगलागी भएको छिमेकीहरुले बताएका छन् ।                      

घटना पश्चात् शव पोष्टमार्टमका लागि दमक लगिएको र आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ