arrow

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १७ औं संस्करणमा कसले के अवार्ड जिते ? 

logo
प्रकाशित २०७७ पुष २८ मंगलबार
nsjf-sports-award-2076.jpg

काठमाडौं । १७ औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा विभिन्न विधाका १२ जना विजेता, पुरस्कृत एवं सम्मानित भएका छन् । राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको पिपल्स च्वाइस अवार्ड जितेकी छिन् ।

जनताको मत तथा राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतबाट अरुणाले अवार्ड जितेकी हुन् । अरुणाले पौडीकी गौरिका सिंह, कराँतेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पारेकी हुन् ।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको अवार्ड कार्यक्रममा गौरिका महिला र मन्देकाजी पुरुषमा वर्ष खेलाडी घोषित भए । विजेता खेलाडीहरुको आधार नेपालमा गत वर्ष सम्पन्न १३ औं सागको नतिजालाई बनाइएको थियो । गौरिकाले ४ स्वर्णसहित ९ पदक जितेकी थिइन् । अवार्ड जित्ने क्रममा गौरिकाले कराँतेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पारिन् ।

पुरुषतर्फ अवार्ड जितेका मन्देकाजीले १३ औं सागमा दुई स्वर्ण जितेका थिए । मन्देकाजीले फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

गल्फर सुवास वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । यस अवार्ड जित्ने क्रममा सुवासले जुडोकी पुनम श्रेष्ठ, तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी र तेक्वान्दोकी सिना लिम्बु मादेनलाई पछि पारे । सुवासले १३ औं सागमा दुई स्वर्ण पदक जितेका थिए । 

तेक्वान्दोका प्रशिक्षक नविन कुमार श्रेष्ठले वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् । नवीनले १३ औं सागमा तेक्वान्दोबाट नेपाललाई सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक दिलाउन सफल भएका थिए । उनको प्रशिक्षणमा तेक्वान्दोबाट साग खेलेका २९ जना सबै खेलाडीले पदक जितेका थिए ।

तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले स्पेशल अवार्ड पाएका छन् । आयशा र सन्तोषीले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय जगतमा स्वर्ण पदक जितेका थिए ।

१३ औं सागमा तेक्वान्दोकी आयशाले दुई वटा स्वर्ण पदक जितेकी थिइन्। एथ्लेटिक्सकी सन्तोषीले १३ औं सागमा १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् । सन्तोषी १३ औं सागमा एथ्लेटिक्समा स्वर्ण जित्ने एक मात्र महिला खेलाडी हुन्। १३ औं सागमा एथ्लेटिक्समा नेपालले ३ स्वर्ण जितेको थियो ।

नेपाली राष्ट्रिय महिला भलिबल टिमले ुटिम अफ दि इयरु अवार्ड प्राप्त गरेको छ । महिला टिमले गत वर्षको कात्तिकमा बंगलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप स्वर्ण जितेको थियो । यस्तै महिला टिमले १३ औं सागमा ऐतिहासिक रजत पदक जितेको थियो ।

पूर्व टेबलटेनिस खेलाडी गीता क्षेत्री र सिजरिन शाहले  लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गरेकी छिन् । टेबलटेनिसमा लामो समयसम्म योगदान पुर्याएका गीता र सिजरिनलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो ।

पारा खेलाडी डिगम सिंह चेम्जोङले  पारा एथलिट सम्मान प्राप्त गरेका छन् । 

मलेसियाका खेल पत्रकार अहमद खवारी इशाले एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिएको छ ।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ