arrow

एआइजी पोखरेलको नेतृत्वमा नेपाल प्रहरीको निर्वाचन तयारी समिति

logo
प्रकाशित २०७७ पुष २९ बुधबार
AIG-Biswaraj.jpg

काठमाडौं । नेपाल प्रहरीले १७ र २७ बैशाखमा सम्पन्न गर्ने गरी तय मध्यावधि निर्वाचनको चुनावी नेतृत्वको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेललाई दिएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले एआइजी पोखरेलको नेतृत्वमा प्रहरी नायब महानीरिक्षक (डिआइजी)सहित ३७ जना सदस्य रहने गरी केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरेको हो । समितिमा डिआइजीहरु दिवेश लोहनी र सुनिलकुमार श्रेष्ठ समेत छन् ।

समितिको नेतृत्व पाएका एआइजी पोखरेलले निर्वाचनका लागि आवश्यक पर्ने शान्ति सुरक्षाको योजना, रणनीति देखि जनशक्ति परिचालन र आवश्यक पर्ने स्रोत साधन देखि आर्थिक व्यवस्थापनसम्मको खाका बनाउने काम भइरहेको जानकारी दिए ।

‘निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति, योजना देखि जनशक्ति परिचालन र आवश्यक पर्ने स्रोत साधनका विषयमा प्रारम्भिक अध्ययनको काम  सुरु भएको छ,’ एआइजी पोखरेलले हाम्राकुरासँग भने ।

यसैगरी समितिले निर्वाचनका लागि आवश्यक पर्ने जनशक्ति परिचालनका विषयमा समेत तयारी गर्ने छ । यस्तै म्यादी प्रहरी भर्नाका लागि आवश्यक पर्ने खाका समेत तयार गर्ने छ । त्यसका लागि निर्वाचन आयोगले मतदान केन्द्र तथा मतदानस्थलको पुनरावलोकनको काम सकेपछि निणर्य हुने छ । हाल निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण तथा पुनरावलोकनको काम गरिरहेको छ ।

समितिले बनाएको प्रारम्भिक खाकाका आधारमा नेपाल प्रहरीले सरकारसँग निर्वाचनका लागि आवश्यक पर्ने रकम देखि साधन स्रोत माग गर्नेछ । यस्तै प्रहरीका तर्फबाट निर्वाचनका लागि हुने हरेक गतिविधि पोखरेल नेतृत्वको समितिमार्फत नै हुने छ ।

यसअघि गृहमन्त्रालयले निर्वाचनको सुरक्षा रणनीति बनाएर आवश्यक तयारीमा जुट्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभानगको नेतृत्वलाई निर्देशन दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ