arrow

भारतमा कोरोनाको खोप लगाउन शुरु, यसरी लगाइँदैछ 

logo
प्रकाशित २०७७ माघ ३ शनिबार
covid-vaccine-india.jpg

काठमाडौं । भारतमा शनिबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ । तीन करोड मानिसका लागि खोप लगाउन लागिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोडियो कन्फरेन्समार्फत भारतीय समय अनुसार बिहान १०ः३० बजे कोरोना भाइरसको भ्याक्सिनेसनको सुरुआत गर्नेछन् । 

सबै २९ राज्य र केन्द्र शासित प्रदेशहरुमा ३ हजार ६ साइट्समा एकैसाथ यो कार्यक्रमको थालनी हुनेछ । 

पहिलो दिन हरेक साइटमा कम्तीमा १०० जनालाई खोप लगाइने छ । 

मोदीले खोपका लागि सम्पूर्ण तयारी भइसकेको बताएका छन् । भारतमा स्वास्थ्य सेवामा निकै सुधार भएको बताउँदै मोदीले गत बिहीबार नै खोप सबैलाई उपलब्ध गराउन देशभरि तयार भइसकेको बताएका थिए । 

मोदीले कोरोना महामारी विरुद्धको संक्रमण भारतीयहरु एकताबद्ध भएर लडेको बताउँदै खोपका लागि पनि भारतले कडा परिश्रम गरिरहेको बताए। 

‘एक अर्बभन्दा बढी जनसंख्या भएको भारतमा महामारीका समयमा मानिसहरुले स्वास्थ्य मापदण्ड अपनाउँदा क्षति कम भएको छ। एक करोडभन्दा बढी मानिसहरुले महामारी लडेका छन् र जितेका छन् । अन्य मुलुकभन्दा भारतमा महामारीको प्रभाव निकै न्युन छ, उनले भने ।

पहिले कसले लगाउँदैछन् खोप ? 
पहिलो चरणमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा रहेर काम गर्नेहरुले खोप लगाउने छन् । जसमा एक करोड स्वास्थ्यकर्मी र दुई करोड फ्रन्टलाइनमा रहेर काम गर्नेहरु पर्नेछन् । 

स्वास्थ्यकर्मीमा डाक्टर, नर्स, एएनएम रहने छन् भने फ्रन्टलाइन कर्मचारीमा स्वच्छता कर्मचारी, सुरक्षाकर्मी, होमगार्डका जवान तथा सेनाका जवान सामेल हुनेछन् । 

दोस्रो चरणमा अगष्टसम्म ५० वर्षभन्दा माथिका उमेरका तथा ५० वर्षभन्दा कम उमेरका गम्भीर बिरामीलाई खोप लगाइने छ । यसरी उच्च जोखिम भएका २७ करोड भारतीयले यो खोप लगाउने छन् । 

भारत सरकारले ३ जनवरीमा २ खोपलाई स्वीकृति दिएको थियो । पहिलो खोप स्वदेशी हो जुन हैदराबादको कम्पनी भारत बायोटेकले भारतीय चिकित्सा अनुसन्धान परिषद र राष्ट्रिय विषाणु संस्थानसँग मिलेर बनाएको हो । 

दोस्रो कोभिशिल्ड हो । यसलाई अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनी मिलेर तयार गरेका हुन् । पुणेको सिरम इन्स्टिच्युटले यसलाई बनाइरहेको छ ।  

कसरी लगाउँछन् खोप ? 
खोप भ्याक्सिनेसन स्टेशनमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । हरेक साइटमा १८ वर्षभन्दा माथिकालाई खोप लगाइने छ । 

लाभग्राहीसँग कर्मचारी प्रमाणपत्रका तीन वटा पत्र हुनेछन् । त्यसैगरी को–विन नामक एपमा समेत उनीहरुको नाम अपलोड गरिएको हुन्छ । 

शनिबार खोप लगाउनेको नामावली तीन दिन पहिलेदेखि नै तय भइसकेको छ । यो खोप सबैले निःशुल्क लगाउन पाउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ