arrow

अङ्गीकृतधारी भारतीयले वास्तविक तराईवासीलाई विस्थापित गर्न खोजे : पोखरेल

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1233755339.jpeg
भक्तपुर । एमाले महासचिव ईश्वर पोखरेलले मधेसमा अङ्गीकृत नागरिकता लिएर आएकाहरुले तराईका वास्तविक नेपाली नागरिकलाई विस्थापित गर्न खोजेको बताएका छन् । भक्तपुरमा एमाले जिल्ला कमिटीको कार्यकर्ता भेलामा पोखरेलले मधेसका वास्तविक जनतालाई अङ्गीकृत नागरिकता लिने भारतीयले विस्थापित गर्न खोजेकोमा चिन्ता लागेको सुनाए । 
 
अहिले मधेसमा भएको आन्दोलन पनि अङ्गीकृत नागरिकताधारीको मात्रै भएको ठोकुवा गर्दै नेता पोखरेलले मधेसका अधिकांश माग संविधानमा समेटिएपनि अङ्गीकृत नागरिकताधारीले मधेसमा भ्रम फैलाएकै कारण मधेसमा समस्या सिर्जना भएको बताए । 
 
सत्तापक्षको हठकै कारण मधेस आन्दोलन हिंसात्मक भइरहेकै बेला नेता पोखरेलले संविधान लिएर मधेसका जनतामाँझ गई संविधानमा गरेका व्यवस्थाका बारेमा बुझाउनसके मधेसका जनतामाझ फैलाइएको भ्रम हटाउन सकिने बताए । राजनीतिक दलका नेता, कार्यकर्ता तत्काल मधेसमा गएर संविधानका बारेमा त्यहाँका जनतालाई बुझाउन सक्नुपर्ने धारणा पोखरेलको छ ।  
 
मधेसमा आन्दोलनका नेतृत्वकर्ता सामन्तीको जमात रहेको बताउँदै पोखरेलले मधेस आन्दोलनमा वास्तविक मधेसका श्रमिक जनताको साथ नरहेको सुनाए । पोखरेलले भने–‘एक मधेस वा दुई मधेसको माग पूरा नहुने भएपछि मधेस आन्दोलनका सामन्तीले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र बनाउनुपर्ने र सीमाङ्कनका कुरा उठाएर जमिन नाप्न थालेका हुन्,–यो कदापी हुन सक्दैन ।’
 
हिमाल र पहाड नभए मधेस बाँच्न नसक्ने र मधेस नभए पहाड बाँच्न नसक्ने चर्चा गर्दै पोखरेलले झापा, मोरङ, सुनसरीका जनतालाई नचाहिएको क्षेत्र उनीहरुलाई चाहिएको टिप्पणी गरे । नेपालमा राजनीति गर्नेले प्रधानमन्त्री हुनदेखि सचिव हुनसमेत भारतमा गएर लम्पसार पर्ने गरेको बताउँदै पोखरेलले अहिले पनि प्रधानमन्त्री खान भारतसमक्ष बिन्ती बिसाउन गएकाले समस्या सिर्जनमा भएको तर्क गरे ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ