arrow

कम्युनिष्टलाई भोट दिनेहरु अहिले ढुंगामा हात ठोक्दैछन् – केसी

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
congress-birodh-kaski.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले कम्युनिष्टलाई भोट दिनेहरु अहिले पछुतो मान्दै हात ढुंगामा ठोकिरहेका होलान् भन्दै टिप्पणी गरेका छन् । उनले कम्युनिष्टले जनताको होइन बन्दुकको बलमा मात्रै विश्वास गर्ने भन्दै तीन वर्ष अघि कम्युनिष्टलाई भोट दिने जनताहरु अहिले पश्चाताप मानिरहेको उल्लेख गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्ध नेपाली कांग्रेस आन्दोलनमा होमिएको छ । यही बीचमा नेपाली कांग्रेस मादी गाउँपालिकाद्धारा आयोजित विरोध सभामा उनले भने, चुनावमा कम्युनिष्टका चिप्ला कुरामा विश्वास गरेर भोट दिनेहरु अहिले पछुत्तो मान्दै ढुंगामा हात बजारिरहेका छन् ।

कांग्रेसले जनतालाई कहिल्यै अपमान नगरेको र गाली पनि नगरेको भन्दै सभापति केसीले चुनाव जितेका कम्युनिष्टका नेतालाई पाँच वर्ष राम्रो काम गर भनेर बधाई दिइएको भए पनि दुर्भाग्य भएको बताए ।

वर्तमान प्रधानमन्त्री ओलीलाई विपि कोइराला भन्दा निकै माथि पुग्ने अवसर भए पनि ओलीले त्यो अवसर सदुपयोग गर्न नसकेको ठोकुवा गर्दै उनले भने, ओली आफू त सिद्धिए, देशलाई पनि वर्वाद बनाइदिए ।

प्रधानमन्त्री ओली राणा र पञ्चायत भन्दा पनि बढी कलंकित भएको भन्दै सभापति केसीले ओलीलाई सत्तामा टिकिरहने नैतिक हैसियत नरहेको स्पष्ट पारे ।

सभापति केसीले कार्यकर्तालाई भाषण मात्र नगर्न र नेताका पडाडि लागेर नहिंडिकन जनताको घरघरमा पुगेर दुःखमा साथ दिन र कम्युनिष्टको झुटको बारेमा सचेत गराउन निर्देशन दिए ।

कांग्रेस नेतृ सरस्वती गुरुङले प्रधानमन्त्री ओलीले जनताको मतमाथि लात हान्ने र जनताको संविधानमाथि आगो झोस्ने काम गरेको आरोप लगाइन् । 
नारायणहिटीबाट राजा ज्ञानेन्द्रलाई सडकमा ल्याएजस्तै ओली राजालाई पनि कांग्रेसले सडकमा झारेरै छाड्ने उनले उद्घोष गरिन् ।

कांग्रेस नेता किशोर बरालले युवाहरुको चाहना बमोजिम पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिए । राजनीति भाषण गर्ने र गाली गर्ने हिसाबले मात्र सोच्ने गरिएको भन्दै उनले अबको राजनीति उद्यमशिलतासंग जोड्नुपर्ने खाँचो औंल्याए ।

नेता तिलक रानाभाटले २०४७ सालको संविधानले तीन पटक संसद हत्या गरेकाले जनताले बनाएको नयाँ संविधानमा संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिइएको जिकिर गरे । 

पार्टीका क्षेत्रीय सभापति वृजमान गुरुङले नेपालका प्रधानमन्त्री ओलीमा तानाशाह बन्ने रहर जागेको भन्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसंग तुलना गरे ।

कांग्रेसका क्षेत्रीय सभापति एवं युवा नेता सरोज केसीले प्रधानमन्त्री ओली र प्रचण्ड एउटै ड्याङ्का मुला भएको भन्दै कांग्रेसले कसैमाथि पनि विश्वास र भरोषा गर्न नहुने बताए । उनले अबको राजनीतिलाई सही ढंगले अघि बढाउने हो भने कांग्रेस पनि सच्चिन आवश्यक रहेको बताए ।

कांग्रेसका जिल्ला सदस्य ओमप्रकाश गुरुङले कांग्रेसले जागरण ल्याउने र मुलुकमा आर्थिक क्रान्ति गर्ने हो भने राजनीतिलाई उत्पादन र उद्यमशीलतासंग जोड्न आवश्यक रहेको बताए ।

पार्टीका मादी गाउँपालिका सचिव एवं युवा नेता भानु ढकालले ओलीको सर्वसत्तावाद, अधिनायकवादलाई परास्त गरेरै छाड्ने उद्घोष गरे । उनले ओलीलाई बढार्ने अभियान मादी गाउँपालिकाबाट शुरु भएको भन्दै ओली नसच्चिए पूर्व राजा ज्ञानेन्द्रकै हालत हुने चेतावनी दिए ।

कांग्रेस नेता लेखबहादुर गुरुङले प्रधानमन्त्री ओलीले गफ र उखान टुक्काको भरमा देश चलाएको आरोप लगाए । नेपाल तरुण दल कास्कीका उपसभापति दीपक गुरुङले कम्युनिष्ट अतिवाद परास्त गर्न कांग्रेसका युवा सडकमा आइसकेको भन्दै जनतासंग होइन कांग्रेसका युवासंग मुकाविला गर्न आउन चुनौती दिए ।

कांग्रेस मादीका सभापति देवीजंग गुरुङले कम्युनिष्टको सरकारबाट जनताको इच्छा र आकांक्षा पूरा नहुने भन्दै अब कांग्रेस आग्रसर भएर टोलटोलदेखि कम्युनिष्टलाई बढार्ने अभियान चलाउने चेतावनी दिए ।

मादीका युवा नेता अर्जुन गुरुङले प्रधानमन्त्री ओलीका अरिंगालले देश र जनतालाई दुःखबाहेक केही नदिएको भन्दै अब उनीहरुको दिन सकिएको चेतावनी दिए । उनले जनताले कहीपनि सहकार भएको अनुभूति गर्न नपाएको भन्दै उनले जनजीविकाको पक्षमा सरकार चुकेको स्पष्ट पारे ।

सभामा जिल्ला सदस्य गौरी सापकोटा, मादी ३ का पार्टीका कार्यवाहक सभापति नारायण गुरुङ, महिला नेतृ धनमाया गुरुङ, मादी ३ का सभापति बलबहादुर गुरुङ, नेताहरु भेजबहादुर गुरुङ, देवीजंग गुरुङ, विकास गुरुङ, मनबहादुर गुरुङ, कृष्णचन्द्र बराल, यमबहादुर गुरुङ, चन्द्रबहादुर गुरुङ, वसन्त सापकोटा लगायतले बोलेका थिए । 

भेलामा करिब २६० जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ