arrow

बुद्धिबहादुरले गाडीमा सुनको पोको भेट्टाएपछि...

logo
हरि पन्त,
प्रकाशित २०७७ माघ ५ सोमबार
gold.jpeg

पोखरा । गाडी चालकहरु फटाहा हुन्छन्, इमान्दार हुँदैनन् भन्ने आरोप लागिरहँदा पोखराका एक चालकले भने त्यसलाई चिर्न सफल भएका छन् ।  एक चालकले आफूले चलाएको गाडीमा फेला पारेको सुन सम्बन्धित धनीलाई बुझाएर चालकहरु इमान्दार पनि हुन्छन् भन्ने सन्देश दिएका हुन् ।  लामो समयदेखि पोखरा–काठमाडौं गाडी चलाउँदै आएका चालक बुद्धिबहादुर मगरले यस्तो उदाहरण प्रस्तुत गरेका हुन् ।

घटनाक्रम
गत पुस २४ गते ग१ख ५०७७ नम्बरको माइक्रो गाडी पोखराबाट काठमाडौं जाँदै थियो । गाडीमा करिब आठ जना यात्रु थिए । ती यात्रुमध्ये गोरखाको शहीद लखन गाउँपालिकाका तोकबहादुर र उनकी धर्मपत्नी सन्तोषी परियार पनि थिए । उनीहरुको साथमा एक बच्चा पनि थियो ।  उनीहरु पोखराबाट गोरखा जाँदै थिए । भाडा दिनेक्रममा उनीहरुले सुन भएको पकेट व्याग (सुन राख्ने थैली) त्यही गाडीमा खसाले । तर खसेको पत्तो पाएनन् । उनीहरु आँबुखैरेनी पुगेर गाडीबाट ओर्लिए र घरतर्फ लागे ।
 
त्यसपछि के भयो ?
तोकबहादुर र सन्तोषीलाई आँबुखैरेनीमा झारेर गाडी काठमाडौंतर्फ अघि बढ्यो । आँबुखैरेनीबाट करिब दुई किमि अगाडि पुगेपछि गाडीका सहचालकले सुन भएको थैली देखे र टिपे । उनले गाडी चालक बुद्धिबहादुर मगरलाई खबर गरे । त्यसपछि चालकले सबै यात्रुलाई सोधीखोजी गरे । कोही पनि बोलेनन् । निकै बेरपछि एक यात्रुले ‘मेरो हो’ भनि दावी गरे । चालकले प्रमाण माग्दा ति यात्रुले दिन सकेनन् चालक बुद्धिबहादुरले प्रहरी र पत्रकारको रोहबरमा मात्र सुन दिने बताएपछि ति यात्रु बोल्ने छाडे ।

निकै डराए चालक मगर
गाडीमा फेला परेको सुन आफ्नो साथमा भएपछि चालक बुद्धिबहादुर मगरलाई निकै डर लाग्यो । बाटोमा कतैपनि गाडी नरोकी काठमाडौं पुगे । सुन निकै सुरक्षितका साथ राखे । रातभर निदाउन सकेनन् । ‘सुन जस्तो चिज बोकेर हिंड्दा कसलाई डर हुँदैन र ?’, उनी भन्छन्, ‘गाडीकै यात्रुले केही गर्लान् कि भन्ने निकै डर भयो ।’ यात्रु पिछा गर्दै आउँछन् कि भन्ने डर पनि थियो उनको मनमा ।  यस बीचमा उनले आँबुखैरेनीका एक पत्रकारलाई पनि खबर गरेका थिए । उल्टै ति पत्रकारले पटक पटक फोन गरेर सुन दिन आग्रह गरेका थिए ।

ति पत्रकारको नियत ठीक नलागेर चालक मगरले पत्रकारको फोन उठाउनै छाडे । उनी भोलिपल्ट पोखरा फर्किएर पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको सम्पर्कमा पुगे । त्यसपछि बल्ल मगर ढुक्क भएर लामो सास फेरे । कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसी र गाडी मालिक सबैको रोहबरमा सुनको फोटो राखेर सामाजिक सञ्जाल फेसबुकमा विवरण खुलाएर पोष्ट गरे ।

यता परियार दम्पत्ति....
तोकबहादुर र सन्तोषी घर पुगे । घरमा गएर समान थन्क्याउनेक्रममा झोला खोलिन् । झोलामा सुन भएको थैली नै गायव । धेरै खोजिन् पाइनन् । निकै तनावमा भइन् र रुन पनि थालिन् ।  श्रीमान तोकबहादुर परियारलाई पनि भनिन् । करिब एक लाख रुपैयाँको सुन हराएपछि तोकबहादुर पनि आत्तिए । अनि सन्तोषीले बिस्तारै सम्झिन थालिन् । सुनको थैली गाडीमै खसेको एकिन गरिन् । तर उनीहरुलाई गाडी नम्बर र चालकको हुलिया याद भएन ।

तोकबहादुर आफै सशस्त्र प्रहरीमा कार्यरत भएकाले आँबुखैरेनी लगायतका ठाउँमा गाडीको बारेमा सोधीखोजी गरे । केही पत्तो लागेन । उनले पोखरातिर पनि सम्पर्क गर्ने प्रयास गरेका थिए । तर केही जानकारी पाएनन् । त्यसपछि उनी पोखरा आएर विभिन्न कम्पनीमा बुझ्ने तयारीमा थिए ।

जब हराएको सुन फेसबुकमा देखिएपछि...
सन्तोषी र तोकबहादुर निकै तनावमा थिए । आफ्नी श्रीमतीलाई सम्झाउँदै थिए तोकबहादुर । माघ २ गते बिहानै साथीले तोकबहादुरलाई फोन गरेर फेसबुकमा सुन फेला परेको भन्ने जानकारी गराए । त्यसपछि शेयर गरेर तोकबहादुरलाई पठाइदिए ।  तोकबहादुरले सुनको फोटो र सूचना हेरे । आफ्नै श्रीमतीको गालाको पोतेसहितको तिलहरी, श्रीमतीको हातमा लगाउने औंठी र आफ्नै छोराको चाँदीको बाला । फोटो हेरेपछि तोकबहादुर रोए । भगवान पुकारे । त्यसपछि श्रीमतीलाई जानकारी गराए । सूचना पोष्ट गर्ने व्यक्तिसंग सम्पर्कमा लागे । सम्पर्क गर्दै गर्दा उनी माघ ५ गते पोखरा आएर सुन हात पारे । सुन हात परेपछि निकै प्रफुल्लित भए तोकबहादुर । त्यही बेलामा तोकबहादुरले चालक बुद्धिबहादुरलाई धन्यवादसहित पाँच हजार रुपैयाँ इनाम दिए ।

तोकबहादुर र चालकको प्रतिक्रिया
तोकबहादुरले चालकको इमान्दारिता निकै प्रशंसनीय भएको भन्दै यस्तै इमान्दारिता सबैले देखाउन आवश्यक रहेको बताए । सुन आफ्नो इमान्दारिताको कमाइ भएको उनले प्रतिक्रिया दिए । सुन बुझाएपछि इनामसमेत पाएका चालक बुद्धिबहादुर पनि निकै प्रफुल्लित भए । उनले यस्तो काम गर्न पाउँदा आफ्नो छाती निकै चौडा भएको बताए ।

चालकलाई कम्पनीले पुरस्कृत गर्ने
सुन भेट्टाएर जस्ताको तस्तै बुझाउने गाडी चालक मगरलाई पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले पुरस्कृत गर्ने भएको छ । कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बुद्धिबहादुरको इमान्दारिताले कम्पनीको इज्जत बढाएको, संस्थाको गरिमा माथि पुर्याएको र गाडी चालक पनि इमान्दार हुन्छन् भन्ने सन्देश दिएकाले चालक मगरलाई नगदसहित पुरस्कृत गर्ने प्रतिवद्धता जनाए । अध्यक्ष केसीले यस्तै इमान्दारिता सबैले देखाउन आवश्यक रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ