arrow

ऐतिहासिक कमलपोखरी पुनःनिर्माणमा विवाद चर्कियो, महानगरले एकलौटी गर्न खोजेको आरोप

logo
प्रकाशित २०७७ माघ ६ मंगलबार
kamalpokhari1.jpg

काठमाडौं। काठमाडौं महानगरपालिका-१ स्थित ऐतिहासिक कमलपोखरी पुनःनिर्माणको डिजाइन फेरबदल गरी मौलिकता मास्न खोजेको भन्दै सम्पदा संरक्षकहरुले विरोध जनाएका छन् ।

स्थानीयबासी, सम्पदा संरक्षक, कमल पोखरी संरक्षण एवम जनहित समाज र काठमाडौं महानगरपालिका तथा वडा कार्यालयका प्रतिनिधिलगायतको सहमतिमा बनेको डिजाइनमा एकाएक फेरबदल गरी पोखरी निर्माण थालेपछि विवाद चर्किएको हो ।

पोखरीको मौलिकता, ऐतिहासिक सुन्दरता र पुरातत्व बस्तुहरुको संरक्षण गर्दै पानी निकासको उचित प्रवद्र्धन हुनेगरी तयार गरिएको नक्सा डिजाइनलाई महानगरले आफूखुशी फेरबदल गर्दै नयाँ डिजाइनअनुसार पोखरी निर्माण सुरु गरेपछि विवाद बढेको हो ।

कमलपोखरी संरक्षण एवम जनहित समाजका संयोजक प्रकाशसिंह कार्की भन्छन्, जे योजना अनुसार गर्नुपर्ने हो त्यसरी काम भएकै छैन । डिजाइन त फेरबदल भयो नै तर कंक्रिट बनाउने नाममा पोखरी सुकाउने काम भएको छ, यसले दुरगामी प्रभाव पार्छ ।’

‘पोखरी निर्माणका क्रममा ढुंगाको प्रयोग पनि गलत तरिकाले भएको छ, पानी निकासमा समस्या पर्ने देखिन्छ, पोखरी चिरा परिसकेको छ फेरि पानी जमाउन कठिन छ’संयोजक कार्की भन्छन्,‘योजना अनुसार काम त भएन नै तर पोखरी सुकाउने काम गलत भयो ।’

यता पुरातात्व विभागले पनि महानगरलाई पत्राचार गर्दै पोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणलाई जोगाउँदै पोखरी निर्माण गर्न आग्रह गरिसकेको छ । विभागले भनेको छ,‘पोखरी निर्माण गर्दा परम्परागत निर्माण सामग्री तथा प्रविधि प्रयोग गरी प्राचीन स्मारक संरक्षण ऐन २०१३ को परिधिभित्र रही कार्य गर्न र गराउनुहोला ।’

तर पुरातत्व विभागको पत्रचारलाई महानगरले बेवास्ता गर्दैै सोमबार राती पोखरी परिसरमा डोजर चलाएपछि समस्या थप बल्झिएको छ । काठमाडौं क्षेत्र नम्बर ४ का सांसद तथा कांग्रेस नेता गगन थापाले पनि मौलिकता जोगाउन माग गर्दै आएका छन् ।

थापाले पोखरीको निर्माण कार्य ढिला भएको साथै प्राकृतिक सिमसार स्वरुप नष्ट हुनेगरी वास्तविक पोखरी साँघुरो बनाउने कार्य भएकाले हाललाई निर्माण कार्य रोक्न महानगरसमक्ष माग गरेपनि त्यसको बेवास्ता भएको थापाको संसद सचिवालयका शंकर कुइँकेलले जानकारी दिए । उनले भने,‘महानगरले गरेको डिजाइन र हामीले दिएको सल्लाह अनुसार काम नै भएन, नक्सा डिजाइनमै फेरबदल गरेर मौलिकता संकटमा पार्ने काम भएको छ ।’

यता काठमाडौं महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले कमलपोखरीको निर्माणको काम महानगर आफैंले हेरिरहेकाले आफूलाई पर्याप्त जानकारी नभएको बताए । ‘पहिले पोखरी बनाउने कुरामा सबै सहमत भएका हुन, नक्सा डिजाइन पनि बनेको हो तर अहिले के भएको हो बुझ्न सकेको छैन, उनले भने ।

पोखरी सिमसार क्षेत्र भएको, चराचुरुङ्गीको वासस्थान वा पानी खाने स्थान रहेको साथै ऐतिहासिक र पुरातात्विक महत्वलाई ओझेल पार्न लागेकोमा स्थानीयले पनि आपत्ति जनाउँदै आएका छन् ।

करिब ९ करोड ४६ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको पोखरी पुनःनिर्माणको महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, र वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठले गत असार १९ गते शिलान्यास गरेका थिए।

निर्माणको ठेक्का पाएको जय धनञ्जय कँडेल जेभी, रानीबारी काठमाडौंले सम्झौता अनुसार गत असार १५ गते नै पुनःनिर्माण सम्पन्न गर्नुपर्ने भनिए पनि निर्माणमा ढिलाई भएको छ ।

महानगरले पारित गरेको डिजाइन अनुसार पोखरी परिसरमा खुला व्यायाम, ब्याडमिन्टन र बास्केटबल कोर्ट रहने ब्यवस्था छ । त्यस्तै पूर्वी भागमा मूल प्रवेशद्वार, पोखरीको चारै कुनामा ४/४ मिटरको पाटी निर्माण साथै चारै कुनामा कमलका फूल राख्ने लगायत योजना छ।

निर्माण रोक्न आदेश विपरीत कमलपोखरीमा रातारात डोजर चलाइयो

ऐतिहासिक कमलपोखरी अस्तित्व मेट्ने प्रयास, काम रोक्न थापाले राखे माग



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ